• ९ कात्तिक २०८२, आइतबार

छठसँगै खुसी आउँछ डोम समुदायमा

blog

बाँसको सामग्री बनाउन व्यस्त मलिक (डोम) समुदाय । तस्बिरः अजय शाह

अजय शाह 
गौशाला (महोत्तरी), कात्तिक ९ गते । मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायलाई प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । डोम समुदाय मात्र होइन, मधेशका मुसहर, चमार, हल्खोरलगायतका समुदायलाई पनि समस्या भोग्न बाध्य छन् ।

तर यति खेर उनिहरुको मुखमा खुशीयाली छाएको छ । छठपर्व सुरु भएसँगै डोम समुदायमा खुशियाली छाएको छ । बाँस र बेतका चोया बनाउने व्यस्ततासँगै उनीहरुमा खुशियाली देखिएको हो । यद्यपि, संस्कृतिले नै डोम समुदायको सम्मान गरेको छ । उनीहरुले बनाएका बाँसका सामग्री सबैजसो सांस्कृतिक र धार्मिक काममा प्रयोग हुन्छ ।


यो समुदायले बेत बाँसबाट बनाउने विभिन्न सामग्री बेचेर राम्रो आम्दानी गर्न सफल भएका छन् । अहिले बजारमा आपूर्ति गर्न भ्याइनभ्याई भएको गौशाला नगरपालिकाका मंजय मलिकले बताउनुभयो । गाँसबाँस र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेकोमा यो पर्व आउनासाथ कात्तिक महिनाभर आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य मिल्ने गरेको सञ्जयले बताउनुभयो ।

औरही नगरपालिका–१ औरहीका ५० वर्षीय ईन्दल मलिक भन्नुहुन्छ, “समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरु काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गज्रिनु परिरहेको छ ।’’ उहाँ चाडपर्वका बेला भने आफूहरूको सीपले महत्त्व पाउने गरेको सुनाउनुहुन्छ । छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अहिले भ्याइनभ्याई रहेको मलिकको भनाइ छ । “सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर छठ पर्व हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास’’, उहाँले भन्नुभयो ।


दीपावली लगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी महोत्तरीसहित मधेशका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्ख्यौली पेसाले काम पाउँछ, सामानले बजार ।

तराई मधेशवासी हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ पर्वले गर्दा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन् । महोत्तरी, धुनषामा करिब पन्ध्रलाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका सामग्री बेचेर घरखर्च टार्दै आएका छन् ।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ सामग्रीले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता सामग्री बनाएर राम्रो आम्दानी गर्ने गरेको गौशाला नगरपालिका वडा ५ गौशालाकी ६० वर्षीया सबिता मलिकले बताउनुभयो ।

औरही नगरपालिका ६ बैरियाका राजेन्द्र मलिकले गाँस, बास र कपास कै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बीच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसर समेत ल्याउने गरेको बताउनुभयो । “अरु बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो’’, उहाँले भन्नुभयो ।

छठ पर्व मनाउने प्रत्येकले छठ माता तथा सूर्यदेवतालाई बाँस र बेतबाट नै निर्माण गरिएको डालो, नाङ्लो र टालु टपरीमा अर्घ्य दिने चलन छ । प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले सो समुदायको आम्दानी राम्रो हुने गरेको छ । अहिले यस समुदाय महोत्तरी लगायत विभिन्न ठाउँमा डालो, नाङ्लो र टालु टपरीलगायत सामान बिक्रीमा व्यस्त देखिएका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ का ४५ वर्षीय बिन्दी मलिक डोमले छठ पर्व आजदेखि नै विधिवत् सुरुआत हुने भएको हुँदा बाँसको चोयाबाट बनाएका सामग्री गाउँगाउँसम्म पुर्‍याउन भ्याइनभ्याई भएको बताउनुभयो ।


छठ मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्री सबैलाई पुर्‍याउन पहिलेभन्दा बढी खटिनु परेको मलिकले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापार राम्रो भइरहेकोले यसपाली राम्रो आम्दानी हुने आशा छु ।”

अरु बेला सो समुदायले सुङ्गुर, बङ्गुरपालन गरेर जीविकोपार्जन गर्ने र बेला बेलामा बाँसको सामग्री बनाएर बेच्ने गर्छन् । यो समुदायले पुस्तौदेखि यहीँ पेशाबाट परिवारको गुजरा गर्दै आएको छ । एउटा बाँसको अहिले बजारमा २२५ देखि ३०० सम्म पर्छ । यसबाट तयार पारेका बासको सामग्रीको मूल्य रु ३०० देखि एक हजार ५०० सम्म पर्ने गरेकोे छ । बनाएका बाँसका सामग्री बेच्न सो समुदायले विभिन्न बजार र छुट्टाछुट्टै गाउँ छुट्टयाइएको छ ।

मुख्य चाडको रुपमा रहेको छठ पर्व नै यस्तो पर्व हो जसमा समुदायमाका विभिन्न वर्गले उत्पादन, निर्माण र तयार पारेका सामग्रीको प्रयोग गरिन्छ । अरु बेला दलित, पानी नचल्ने जात भनेर हेलामा पारिने सो समुदायको घरमै गएर पनि छठ पर्व मनाउनेले बाँसको भाँडाकुडा बनाउन अग्रिम भुक्तानी दिन्छन् । तराई क्षेत्रमा यो पर्व हिन्दुले मात्र होइन, गैरहिन्दुले समेत मनाउने गरेका छन् । त्यसैले यो सबै भाषाभाषी, जातजातिको साझा पर्वको रुपमा विकसित भइरहेको छ ।