• ९ कात्तिक २०८२, आइतबार

सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण

blog

मनाङ ङिस्याङ गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्रको पत्र दिनुहुँदै प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल ।

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय मनाङले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । जम्मा दुई सय ७१ राष्ट्रिय परिचयपत्र इनरोलमेन्ट भएकामा विवरण बिग्रिएर सच्याउन पठाइएका समेत गरी जम्मा सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सोही अवधिमा प्रतिलिपिबाहेक ४४ थान नागरिकता तथा ६० थान नागरिकताको प्रतिलिपि वितरण गरेको जनाएको छ । यसका साथै कार्यालयले ५२ थान विद्युतीय राहदानी इनरोलमेन्ट भएकामा ५० थान वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । 

सूचना अधिकारी पौडेलले जेनजी आन्दोलनमाको आगजनीमा परी जलेका कारण पनि राहदानी लिने, नवीकरण गर्ने तथा प्रतिलिपि लिनेको सङ्ख्या बढेको हुनसक्ने बताउनुभयो ।

सो अवधिमा नाबालक परिचयपत्र दुई थान, चारवटा संस्थाको नवीकरण, चार वटा हतियार इजाजतपत्र नवीकरण गरेको साथै दुई थान मुद्दा फर्छ्याैट भइसकेको कार्यालयद्वारा प्रकाशित तथ्याङ्कमा उल्लेख छ । 

सोही अवधिमा मनाङबाट गैरआवासीय नागरिकता लिने, घुम्ती शिविरबाट नागरिकता वितरण, गुनासो वा ठाडो उजुरी, संस्था दर्ता तथा संस्थाको विधान संशोधन गर्नेको सङ्ख्या शून्य रहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

यसअघि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय, मनाङले ‘घुम्ती सेवा’ सञ्चालन गरेको थियो । जिल्लाका दुर्गम बस्तीका नागरिकलाई सदरमुकामसम्म आउन कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको पहल अघि सारेको हो ।

यसै क्रममा मनाङ ङिस्याङ गाउँपालिकामा सञ्चालित एकदिने शिविरबाट ६५ जना स्थानीय नागरिकले सेवा प्राप्त गरेका थिए । शिविरका लागि प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, शाखागत कर्मचारी तथा प्राविधिक कर्मचारीसहितको टोली खटिएको थियो । 

हाल जिल्ला प्रशासन कार्यालय, मनाङमा राष्ट्रिय परिचयपत्र बनाउने उपकरण एक सेट मात्र र प्राविधिक कर्मचारी पनि एक जनामात्र भएकाले नियमित सेवा प्रवाहमा कठिनाइ हुने गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयो ।