ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ९ गते । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डमा पर्यटक बोकेर आएका सवारी साधनको लामो लस्कर लागेको छ । दसैँ–तिहार र छठ पर्व विदाको अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बेनी–जोमसोम सडकमा सवारी साधनको लामो लस्कर लागेको हो ।
सडकमा अत्याधिक यातायातका साधनहरू गुडेपछि म्याग्दी खण्डमा जाम समेत भएको छ । दसैँ तिहार र छठ पर्व बिदाको अवसरमा बेनी हुँदै मुस्ताङ भ्रमणमा जाने पर्यटकको सङ्ख्यामा अत्याधिक वृद्धि भएपछि बेनी–जोमसोम सडक खण्ड अहिले अस्तव्यस्त बनेको छ । सडकमा सवारी साधनको लामो लस्कर देख्न सकिन्छ । साघुरो सडकका कारण ठुला तथा साना सवारी साधनहरू घण्टौं सम्म जाममा परेका छन् ।
कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित दाना खण्डको सडकको अवस्था राम्रो नभएपछि सवारी साधनको लामो लाइन लागेको हो । पर्यटकीय सिजनमा दैनिक रूपमा हजारौं पर्यटकहरू आवतजावत गर्ने सडक मर्मत सम्भार गरी स्तरोन्नति नहुँदा पर्यटकले सास्ती भोगेका छन् ।
दानाको सुकेबगर, जलथले, गुइठेभिर र रुप्से झरनामा सडक साघुरो, सडकमा परेका खाल्डाखुल्टी र बर्खायाममा सडकमाथिबाट खसेको पहिरो नपन्छ्याउदा यातायातका साधनहरू आवतजावतमा समस्या भएको छ ।
यी स्थानहरूमा दोहोरो रूपमा सवारी साधनहरू आवतजावतमा समस्या भएको छ । साघुरो सडकका कारण एकघण्टा देखि जाममा बस्नुपरेको चितवनबाट पर्यटक ल्याएर आउनुभएका गाडी चालक रमेश खत्रीले बताउनुभयो ।
घण्टौं सम्मको जामका कारण पर्यटकहरू गन्तव्य मा पुग्न कठिनाई भएको छ । सडकमा सवारी जामका कारण शनिबार बेलुका सम्म पनि यात्रुहरू गन्तव्यमा पुग्न सकेका थिएनन् । जाममा हटाउन र यातायात सञ्चालन गर्न शनिबार राति १२ बजेसम्म सहजीकरण गरेर पर्यटकलाई गन्तव्य पठाउने काम गरेको दानाका पर्यटन व्यावसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘दाना खण्डको अधिकांश स्थानमा सडक माथिबाट खसेको पहिरोका कारण एकतर्फी रूपमा आवतजावत गर्न मिल्ने सडक छ । कालीगण्डकी कोरिडोर सडक आयोजनालाई पर्यटकीय सिजन सुरु हुनुभन्दा पहिला नै सडक मर्मतसम्भार गर्न भनेका थियौं । कुन कुन स्थानमा मर्मत गर्नुपर्ने छ भनेर लेखेर पनि पठाएका थियौं तर सुनुवाई भएन । समयमै सडक मर्मत नगरिँदा अहिले सडकमा लामो जाम लागेको छ । जाम हटाउन राति सम्म बसेर सहजीकरण गरेका छौं ।’’
प्रहरीको सहयोग माग्दा नपाएको उहाँले गुनासो गर्नुभयो । बर्खायाम सकिँदा पनि सम्बन्धित निकायबाट सामान्य मर्मत सम्भार पनि नगरिँदा पर्यटकले सास्ती भोगेको भुरुङतातोपानी स्थित होटल नेचुरल स्प्रिङका सञ्चालक राजु हमालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोरिडोरको दाना खण्डमा सडक अवस्था नाजुक छ । सम्बन्धित निकायलाई पटक पटक भन्दा पनि सुनुवाई भएको छैन । सडकमा लागेको जामका कारण समयमै पर्यटकहरू गन्तव्यमा पुग्न सकेका छैनन् ।’’ सडकको जाम हटाउन प्रहरीबाट पनि सहजीकरण नभएको उहाँले गुनासो गर्नुभयो ।
कालीगण्डकी कोरिडोर हुँदै अहिले दैनिक रूपमा करिब ७ हजार आन्तरिक पर्यटक मुस्ताङ भ्रमणमा पुग्ने गरेका छन् ।
