‘न वारमा छु, न पारमा छु’ रिलिज
यही महिनाको अन्तिममा रिलिज हुने नेपाली चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र अञ्जु पन्तको स्वर रहेको छ । भिडियोमा अभिनेतृ करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ ।
‘द योगिनी’ को प्रोमो सिड्नीमा
नेवाः कला संस्कृतिको ३३ सय वर्षभन्दा पुरानो इतिहास बोकेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे निर्माण गरिएको वृत्तचित्र ‘द योगिनी’ को प्रोमो र पोस्टर अस्ट्रेलियाको सिड्नीमा सार्वजनिक गरिएको छ । सिड्नीको क्याम्प्सी सहरको कम्युनिटी हलमा गुथि अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले पोस्टर अनावरण गर्नुभएको गुथि अस्ट्रेलियाले जनाएको छ । कार्यक्रममा गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैँजूले गौरवमय परम्परा रहेको वज्रयोगिनी क्षेत्र र वज्रयोगिनीबारे बनाइएको वृत्तचित्र नेपालको इतिहास अध्ययन गर्नेका निम्ति महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको गुथि अस्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मनोरञ्जन क्षेत्र करको दायरामा
अब ग्राहकले नाइट क्लब गएबापत सरकारलाई कर तिर्नुपर्ने भएको छ। गण्डकी प्रदेश सरकारले नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट कर लिने भएको हो। सरकारले आर्थिक ऐन, २०८० मार्फत नाइट क्लब तथा डान्सबार जाने ग्राहकबाट २५ रुपियाँ कर लिने व्यवस्था गरेको हो।
मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान बल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो ।
लोकदोहोरी व्यवसायीलाई अनुमति
काठमाडौँ उपत्यकाका २२ वटाभन्दा बढी लोकदोहोरी व्यवसायीलाई गीत सङ्गीतको सार्वजनिक प्रयोग गर्नका लागि अनुमति पत्र (लाइसेन्स) प्रदान गरिएको छ । नेपाल प्रतिलिपि अधिकार कार्यालय र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीसँग ‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोकदोहोरी साँझ रेस्टुरेन्टको सार्वजनिक प्रयोगबापतको सङ्गीत रोयल्टी’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूलाई अनुमतिपत्र प्रदान गरेको हो ।
सिनेमा हलमा ‘अन्तिम संस्कार’
चलचित्र ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रमा हराएको एक फिल्म मेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अपरेसनको कथा देखाइएको छ । चलचित्रलाई प्रदीप शाहीले निर्देशन गर्नुभएको छ भने विजय लामा, दिया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारीलगायतको अभिनय रहेको छ । विनोद सुवेदी ‘क्षितिज’ निर्माता रहनुभएको चलचित्रको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रवीन्द्र श्रेष्ठ हुनुहुन्छ । बाबु श्रेष्ठको छायाङ्कन र रुपेश गुरुङको सम्पादन रहेको चलचित्रको प्रोडक्सन डिजाइनर प्रेम खड्का हो ।
‘नीरफूल’ को प्रशंसा
सामाजिक विषयवस्तुको उठान गरेको भन्दै पूर्वमन्त्रीहरूले चलचित्र ‘नीरफूल’ को प्रशंसा गरेका छन् । पूर्वमन्त्रीहरू पार्वत गुरुङ, रघु पन्त, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही, पूर्वसांसद नवीना लामालगायतले चलचित्र ‘नीरफूल’ हेरेर प्रशंसा गर्नुभएको हो । पूर्वमन्त्री गुरुङले भन्नुभयो, “हलमै आएर चलचित्र हेरेको मेरो पहिलो अनुभव हो । भूकम्पको त्रासदीसँगै नीरफूलमा सामाजिक विषय उठाइएको रहेछ । निकै खुसी लाग्यो ।”
विदेशी चलचित्रमा नेपाली छटा
जोमसोममा सन् १९९० को दशकमा खुलेको एउटा मौलिक होटल छ । होटलको नाम हो– ओम्स होम । स्थानीय विष्णुराज हिराचन संस्थापक रहनुभएको होटलको लबीकै वरिपरि बलिउड अभिनेतासँगको उहाँका तस्बिर लस्करै छन् । कालो चस्मामा विष्णुराज र बलिउड स्टार अमिताभ बच्चनसँगै उभिएको एउटा फ्रेम भित्तामा झुन्डिएको छ । बेग्लै फ्रेममा छिन् – नायिका श्रीदेवी । अनि डेनी डेङजोङ्पालगायत अन्य । सन् १९९१ मा मुस्ताङमा चर्चित चलचित्र ‘खुदा गवाह’ छायाङ्कन हुँदा कैद भएका तस्बिर हुन् यी ।
‘जय हो’ को टिजर रिलिज
निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘जय हो’ को एक मिनेट १४ सेकेन्डको टिजर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ। आगामी भदौ ८ अर्थात् अगस्ट २५ मा चलचित्र विदेश र नेपालमा एकसाथ प्रदर्शनमा आउँदै छ। टेक पौरखी राईको निर्देशनमा निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारको अभिनय छ।
नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ। बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सव उद्घाटन गरिएको हो। नायक राजेश हमालले महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताउनुभयो।
विगत र वर्तमानको कथा ‘द फ्ल्यास’
कतिपय कुराको समाधान हुँदैन। हामीमाझ यस्ता धेरै घटना भेटिन्छन्, जसको कुनै समाधान फेला पर्दैन। त्यसलाई हामी त्यही अवस्थामा छोड्छौँ। यस्तै एउटा घटना चलचित्र ‘द फ्ल्यास’ मा डिसी एक्सटेन्डेड युनिभर्सको चर्चित चरित्रको मुख्य नायकका रूपमा आएको छ; जहाँ उनी विगतमा गएर आफूसँग सम्बन्धित केही कुरा समाधान गर्ने प्रयास गर्छन्।
गीतकार हिराकाजीको हेर्दा हेर्दै..सार्वजनिक
गीतकार हिराकाजी थापाको शब्दमा तयार हेर्दा हेर्दै अन्माएर बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ।
आदिपुरुष बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय
नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
‘कार्साङ’ मा बुद्धि तामाङ
यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’ मा अभिनेता बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । चलचित्र यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि चलचित्रमा मुख्य अभिनेताका रूपमा दयाहाङ राई फाइनल भइसक्नुभएको छ । यही चलचित्रका लागि अर्का मुख्य अभिनेताका रूपमा बुद्धि तामाङ भित्रिनुभएको छ ।
डिसहोममा नयाँ नेपाली चलचित्र
इन्टरनेट तथा टेलिभिजन सेवाप्रदायक डिसहोममा वर्षभर सार्वजनिक भएका सफल नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । सिनेमा हलमा गएर त्यस्ता सफल चलचित्र हेर्न छुटाएका दर्शकलाई लक्ष्य गरी यस्तो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रेमगीत ३, छक्कापन्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगेदाउ जस्ता नयाँ र दर्शकले मन पराएका चलचित्र डिसहोम सिनेमाघर च्यानलमा हरेक दिन विभिन्न समयमा आठ वटा चलचित्र प्रदर्शन भइरहेका छन् ।
हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सङ्गीत नबिगार्न नयाँ पुस्तालाई आग्रह
गायन, वादन र नृत्यको त्रिसंयोग सङ्गीतलार्ई मानिन्छ । वर्षको सबैभन्दा लामो दिन जुन २१ तारिखका दिन विश्वभर एकसाथ ‘विश्व सङ्गीत दिवस’ मनाउने गरिन्छ । यसै सन्दर्भमा नेपालका सङ्गीतप्रेमीहरूले बुधबार विभिन्न कार्यक्रम गरी विश्व सङ्गीत दिवस मनाएका छन् । गायक तथा सङ्गीतकार रामकृष्ण दुवालले भन्नुभयो, “विश्व सङ्गीत दिवसमा सङ्गीतसँगै मेरो बिहानी सुरु भयो । योग दिवस पनि परेको हुनाले बिहानी मधुर धुनसँगै योग गरेँ ।” उहाँले भन्नुभयो, “म र गीत/सङ्गीतको पर्यायवाची जस्तै भएका छौँ । मेरो जीवन नै सङ्गीतका लागि भएकाले हरेक दिन सङ्गीत दिवस हो ।” सङ्गीतको शक्ति अतुलनीय छ । त्यसैले त सङ्गीतले मानिसलाई धरधरी रुवाउन सक्छ । पेट मिचुन्जेल हँसाउन सक्छ । एक तमासले आफ्नो काममा सक्रिय पाँच इन्द्रियलाई समेत चलाएमान बनाउन सक्छ ।
चलचित्रमा अभिनय गर्दै ‘सकम्बरी’
गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ मा अभिनय गर्नुभएकी कलाकार कुसुम शर्मा अब चलचित्रमा देखिनु हुने भएको छ । उहाँले अभिनेता आर्यन सिग्देलसँग चलचित्र ‘सञ्जीवनी’ मा अभिनय गर्न लाग्नुभएको हो । प्रेममा उमेरको छेकबार हुन्छ कि हुँदैन भन्ने विषयमा केन्द्रित रहेको चलचित्रको पोस्टर निर्देशक दिनेश श्रेष्ठले सार्वजनिक गर्नुभएको छ । श्रेष्ठले पाको उमेरको पुरुष र कलिलो उमेरकी युवतीको प्रेमको कथालाई चलचित्रमा उतार्न लागेको बताउनुभयो । आशिर सुवेदीको प्रस्तुतिमा बन्ने चलचित्रमा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ र अनुसुया श्रेष्ठको पनि अभिनय रहने बताइएको छ ।
पन्चैबाजा संरक्षणमा जुटे महिला
बाँकेका महिलाहरू मौलिक संस्कृति र परम्परा जोगाउन सक्रिय भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ का महिलाहरू पन्चैबाजा संरक्षण समूह नै गठन गरेर मौलिक संस्कृति र परम्परा जोगाउन दिनरात क्रियाशील रहँदै आएका छन् । पन्चैबाजा संरक्षण समूहमा आबद्ध मैसरी खत्रीले समाजबाट मौलिक संस्कृति र परम्परा लोप हुन थालेपछि समूह नै बनाएर संरक्षणमा जुटेको बताउनुभयो ।
‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक
गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।
‘बगान’ को टिजर सार्वजनिक
अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’ को टिजर सार्वजनिक भएको छ । आगामी २९ गते रिलिज हुने चलचित्रको टिजरमा अभिनेतृ करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहार इत्यादिलाई ‘बगान’ को टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि देखाइएको छ । स्वप्न नीरवको कथामा आधारित रही बनेको चलचित्रबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गर्नुभएको हो ।
‘अनुभव’ सार्वजनिक
सङ्गीतकार सुनील मास्केको एल्बम ‘अनुभव’ सार्वजनिक भएको छ । एल्बममा समावेश पाँच वटा गीतमा उदय र मनिला सोताङले आवाज दिनुभएको छ । गीतमा अर्जुनरत्न भिखारी, नूतन भुसाल, योगेन्द्रमणि दाहाल, तुलसी बस्नेत, सुनिता बस्नेत थापाको शब्द तथा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली, रिदम कँडेल, सचिन सिंहको सङ्गीत संयोजन रहेको छ । एल्बममा ‘हात समाई मिठा बात गरेको’, ‘तिम्रो माया जीवनको खेल हो कि’, ‘कता गयो त्यो बैँस’, ‘तिमीसँगै जिन्दगानी बिताउन पाऊँ’ जस्ता बोलका गीत समावेश छन् ।
कला क्षेत्रको भूमिका विशेष : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले देशको समृद्धि र पहिचानका लागि सांस्कृतिक र कला क्षेत्रको विशेष भूमिका रहेको बताउनुभएको छ । सांस्कृतिक संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यहाँको सांस्कृतिक वैभवको विविधताको प्रवर्धन र प्रचारको माध्यमबाट देशको पहिचानसँगै आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनुभयो । उहाँले ‘नाचघर’ को स्थापना लोकगीत, नृत्य, नाटक, सङ्गीत क्षेत्रको विकासका लागि भएकाले ती विधाका कार्यक्रम गर्ने मञ्च प्रदान गर्दै आएको बताउनुभयो ।
अनितालाई ‘दी मिसेस नेसनल’ को ताज
विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामा अनिता यादवले ‘दी मिसेस नेसनल २०२३’ को ताज पहिरनुभएको छ । क्रिजोना मिडिया गु्रप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै अनिताले उपाधि प्राप्त गर्नुभएको हो । उहाँले दर्शकको छनोट अवार्ड पनि प्राप्त गर्नुभएको छ ।