• ११ मंसिर २०८१, मङ्गलबार

‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

blog

काठमाडौँ, साउन २९ गते  । चलचित्र ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल–२०२३’ मा छनोट भएको छ । नवीन सुब्बा निर्देशित चलचित्र ‘सेन्टर पिस’ सेक्सन अन्तर्गत छानिएको हो । ७ देखि १७ सेप्टेम्बरसम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा आफैँ सहभागी हुनुहुँदै छ ।

विश्वको प्रतिष्ठित महोत्सवमा  छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि सकारात्मक भएको निर्माण युनिटले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । चलचित्रले विश्वमा दृश्यता बढाउने आशा निर्माण पक्षको छ । राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावमा आधारित छ । 

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको चलचित्र अमेरिकी छायाकार जोस हेरमले खिच्नुभएको हो । चलचित्र भोजपुरको आमचोक, भोजपुर बजार, सङ्खुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायाङ्कन गरिएको छ । चलचित्रममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन, हेडी लीको सङ्गीत र किशोर आचार्यको ध्वनि रहेको छ ।