काठमाडौँ, असार २० गते । सफल नाटकको पछाडि कलाकारको जीवन्त अभिनय, उत्कृष्ट कथा, गीत/सङ्गीतबाहेक प्रकाश व्यवस्थापनको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । पर्दापछाडि बसेर प्रकाश व्यवस्थापन गर्ने प्राविधिकको मेहनतले नाटकलाई सशक्त बनाउँछ । आधुनिकतासँगै रङ्गमञ्चमा परम्परागत सजावटभन्दा भिन्न प्रकाश र मिश्रित प्रकाशको सहायताले दृश्यात्मक पृथकता दिने प्रविधिको प्रयोग यतिबेला बढेर गएको छ । प्रकाश व्यवस्थापन रङ्गमञ्चको प्रविधिभित्र पर्ने महत्वपूर्ण माध्यम हो । पछिल्लो समय नेपाली रङ्गमञ्चले विकसित प्रविधिको प्रयोग गर्न थालेको छ । विविध ढाँचाका बत्तीको प्रयोग गरी रङ्गमञ्चलाई भिन्न भावको देखाउने प्रयासमा प्रकाश व्यवस्थापक लागिपरेको देखिन्छ ।
सन् २००२ मा आठ/नौ वटा लाइट लिएर गुरुकुलमा नाटक सुरु गर्नुभएका प्रकाश व्यवस्थापक (लाइटम्यान) रङ्गकर्मी राजकुमार पुडासैनीले त्यतिबेलाको लाइटिङ र अहिलेको लाइटिङमा आकाशजमिनको फरक भएको बताउनुहुन्छ । उहाँका अनुसार त्यतिबेलाको ‘कन्ट्रोल सिस्टम’ र अहिलेकोमा धेरै फरकपन आएको छ । त्यतिबेला प्रायः लाइट हातले चलाउनुपर्ने हुन्थ्यो । लाइट झिपझिप हुने र फ्युज जाँदा धेरै समस्या आउने स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “त्यतिबेला एउटा बक्समा आठ वटा च्यानल चलाउने चलन थियो । अहिले प्रविधिले सबै कुरा सजिलो बनाइदिएको छ । अहिले एउटै बक्समा ५१२ च्यानलसम्म चलाइन्छ । सबै डिमर डिएनएक्समा आइसक्यो ।” प्रविधिले धेरै कुरा सिकाएको बताउँदै उहाँले नेपालका लाइटम्यानले खासै चर्चा नपाएको बताउनुभयो । पर्दापछाडि बस्ने भएकाले दर्शकको आँखामा पर्ने कुरा भएन, उहाँ भन्नुहुन्छ, “त्यसमा पनि रङ्गमञ्चमा पाइने पारिश्रमिकको अवस्था कमजोर छ । लाइटम्यानको पारिश्रमिक भनेको चिया खर्चलाई मात्र पुग्ने हुन्छ ।”
१० वर्षदेखि रङ्गमञ्चमा प्रकाश व्यवस्थापकको काम गरिरहनुभएका रङ्गकर्मी इँगी होपो कोइच सुनुवार नाटकको प्रकाश चलचित्रको क्यामरा जस्तै रहेको बताउँदै भन्नुहुन्छ, “चलचित्रको पर्दामा जसरी क्यामराले कैद गरेका दृश्य मात्र देखिन्छ, त्यस्तै गरेर नाटकमा पनि प्रकाश बालेको ठाउँमा मात्र देखिन्छ ।” नाटकको प्रकाश परिकल्पनाबाट निर्माण गरेको दृश्यभाषा र चलचित्रको क्यामराले निर्माण गर्ने दृश्यभाषा एकअर्कासँग तुलना गर्न सकिने उहाँले बताउनुभयो । नाटकमा प्रयोग हुने लाइटको माध्यमले कथा, पात्र, समय, परिवेश, भावलाई देखाउन, बुझाउन सक्ने क्षमता राख्दछ । जसले एउटा नाटकलाई सशक्त बनाउँछ । उहाँले नेपाली रङ्गमञ्चमा आर्थिक अभावका कारण लाइट र आधारभूत प्रविधि पर्याप्त नरहेको स्वीकार्दै युरोप, अमेरिकामा जस्तो प्रविधि नेपालमा नरहेको बताउनुभयो । नेपाली रङ्गमञ्चका लागि ती प्राविधिक सामान ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।
नेपाली रङ्गमञ्च निजी क्षेत्रको इच्छाशक्तिमा बाँचेको बताउँदै उहाँले दर्शकका लागि सिट सीमितताका आधारमा आम्दानी हुने रङ्गमञ्चबाट आर्थिक रूपमा सबल हुन्छु भन्नु दिवास्वप्न मात्रै भएको बताउनुभयो । उहाँका अनुसार प्रकाश परिकल्पना युरोप, अमेरिकाका देशमा एउटा छुट्टै पेसा मानिन्छ । यही पेसामा लागेर मानिसले आफ्नो जीविका चलाउँछन् तर नेपालमा यसलाई हल्का रूपमा लिइन्छ, उहाँ भन्नुहुन्छ, “एउटा नाटकमा काम गरेबापत पाँचदेखि १० हजार रुपियाँ पारिश्रमिक पाइन्छ ।”
प्रकाश व्यवस्थापक सुमित्रा पिहिम रङ्गमञ्चमा नाटक गर्दा जति रमाइलो हुन्छ, प्रकाश व्यवस्थापन गर्दा उति नै रमाइलो हुने बताउनुहुन्छ । नाटक निर्माण गर्ने माध्यम लाइट भएको बताउँदै उहाँले नेपालमा प्रकाशसम्बन्धी अध्ययन/अध्यापनमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “यसो हुन सके स्तरमा वृद्धि हुन्छ ।” आफूहरूले शिक्षा र तालिमभन्दा पनि अनुभवी अग्रजसँग सिकेको बताउँदै उहाँले कार्यशालामा सिक्नु र कक्षाकोठामा सिक्नुमा धेरै अन्तर रहेको अनुभव सुनाउनुभयो । सूचना प्रविधिको विकास भएपछि पछिल्लो समय कम्प्युटरको सहायताले एकथरी प्रकाशमा अर्कोलाई मिसाएर विविध ढाँचामा प्रयोग गरिँदै आएको छ । हाल नेपालको रङ्गमञ्चमा प्रोफाइल स्पट, पिसी स्पट, पाक्र्यान, फ्रेसनल हेलोजिन र एलइडी जस्ता लाइटको प्रयोग गरिएको छ ।