• १९ मङ्सिर २०८२, शुक्रबार

ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति

blog

मृतक ढुंगानालाई श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

सन्तोष दहित

दाङ, मङ्सिर १९ गते  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । 

सन्धिखर्क नगरपालिका –२ कुरमा जन्मिनुभएका हाल गढवा गाउँपालिका –६ हाँसिपुर निवासी ८१ वर्षीय ढुंगानाको काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले उहाँले आफ्नो जीवनकालमा १४ वर्ष कठोर जेल जीवन बिताएको स्मरण गर्नुभयो । 

सामाजिक तथा राजनीतिक रूपान्तरणमा ढुंगानाले खेलेको भूमिका सधैं स्मरणीय रहने उल्लेख गर्दै उहाँले श्रद्धाञ्जली वक्तव्यमा भन्नुभएको छ,  ‘सामाजिक तथा राजनीतिक रूपान्तरणमा गर्नुभएको योगदान सधैं सम्झना रहनेछ । यहाँको निधनले सामाजिक तथा लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको छ ।’

तत्कालीन समयमा वर्रे संघर्ष, निरंकुशतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएकै कारण ढुंगानाले १४ वर्ष राजनीतिक बन्दीको रूपमा कठोर जेल जीवन बिताउनुपरेको थियो । उहाँसँगै वेदुराम भुसाल, हेमनाथ भुसाल, नेत्र ढुंगाना, लिला ढुंगाना र बुद्धि रायमाझीले पनि जेल जीवन बिताएको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभयो ।