काठमाडौँ, कात्तिक २६ गते । त्रिविक्रम पाण्डेको परिचय गीतकारमा मात्रै सीमित छैन । उहाँ कुशल कवि, मुक्तककार र लघुकथाकार पनि हुनुहुन्छ । साहित्यको सबै जसो विधामा प्रायः उहाँको कलम चल्छ । उहाँका ‘सिरेटो’ गीतिएल्बम, ‘अंशियार’ गीतसङ्ग्रह ‘कागजको कुमारीत्व’ कवितासङ्ग्रह र ‘मन मदानी’ मुक्तकसङ्ग्रह सार्वजनिक भइसकेका छन् । पाण्डेका अधिकांश गीत प्रेमका मिठा भाखामा आधारित छन् । मिलन, बिछोड, विश्वास र धोकासम्बन्धी गीत पनि गीतिपुस्तकभित्र प्रशस्तै छन् । राष्ट्रियता, गाउँघर प्रकृति, धर्म, संस्कृति, चाडपर्व पनि उहाँका गीतभित्र गुञ्जिने गर्छन् ।
पाण्डेका गीतमा परिवर्तनशील समयको कथा छ । मानवीय जीवनका हरेक पाटालाई गीतले छोएको हुन्छ भने गीतमार्फत उहाँले समाज र विश्वका समुदायलाई सकारात्मक, नैतिकवान्, बनेर आदर्श जीवनयापन गर्नका लागि सशक्त गहन सन्देश दिन खोज्नुभएको देखिन्छ । नेपाली गीतिसाहित्यको क्षेत्रमा पहिलो गीतिसङ्ग्रहको पुस्तक उहाँका १५५ गीत समेटिएको ‘फैलियो माया दुबो सरी’ हो । २०४६ सालमा नेपाल कमर्स क्याम्पस मीनभवनमा आइकम पढ्दै गर्दा लेखेको गीतले धेरै सफलता पाउला भनेर उहाँले सोच्नुभएको थिएन । गीतले उहाँलाई मात्र होइन नेपाली साङ्गीतिक क्षेत्रमा गायक राजेशपायल राईलाई समेत स्थापित गरायो । यसपछि उहाँले ‘धेरै माया गर्छु म एक पत्थरलाई’ बोलको गीत रेकर्ड गराउनुभयो जसमा सुशील विश्वकर्मा र रविन शर्माको आवाज रहेको थियो ।
पाण्डेका अनुसार एउटा जमानामा रेडियो नेपालबाट अरूको नाम लिइएको सुन्दा आफ्नो नाम पनि एकदिन अवश्य बज्छ होला जस्तो लाग्थ्यो । पहिलो पटक रेडियोबाट आफ्नो नाम बजेको सुन्दा आकाशबाट तारा नै झारे झैँ लागेको थियो, उहाँलाई । साँच्चै नै रणभूमिमा युद्ध नै जितेर आएको जस्तो महसुस भएको थियो । उहाँको ‘फैलियो माया दुबो सरी’ पछि चर्चामा आएको गीत भनेको ‘तिमी जस्तो छैन सुन्दरताको धनी’ बोलको गीत हो । जसमा भानुभक्त ढकालले सङ्गीत दिनुभएको छ । राष्ट्रियता, राष्ट्रप्रेम, गाउँघर, धर्म, संस्कृति, चाडपर्व पनि उहाँका गीतका विषयवस्तु बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आफ्नो स्थापना दिवस–२०७० को उपलक्ष्यमा आयोजित नेपालभर भ्रष्टाचारविरोधी खुला गीत प्रतियोगितामा उहाँको गीत पुरस्कृतसमेत भएको थियो । दोलखा सुनखानीमा जन्मिनुभएका पाण्डे गीतकारसँगै एउटा कर्तव्य निष्ठावान् कर्मचारी पनि हुनुहुन्छ । पाण्डे कर्मचारी सञ्चयकोषमा कार्यरत हुनुहुन्छ । कोषको ५० औँ वार्षिकोत्सव (कर्मचारी सञ्चयकोष, स्वर्ण उत्सव समारोह–२०६८) को उपलक्ष्यमा पाण्डेद्वारा सृजित गीत रेकर्डिङको सारा चाँजोपाँजो पनि उहाँले नै गर्नुभएको थियो ।