प्रकृतिबिना मानिसको जीवन सम्भव छैन । प्रकृति यो संसारमा मानिसहरू खुसीले बाँचेको हेर्न चाहन्छ, त्यसैले त प्रकृति सधैँ उदार छ । उसले कसैलाई भेदभाव गर्दैन, कुनै विशेष समूह वा वर्गलाई मात्र अनुग्रह गर्दैन । रुख बिरुवाले प्रदान गर्ने अक्सिजन र जङ्गलको हावा कसैका लागि अलग भएर बहदैन, नदीको पानी कुनै एक जाति वा समुदायका लागि मात्र बग्दैन, सूर्यको उज्यालो कुनै विशेष राष्ट्रका लागि मात्र चम्किन्न । पृथ्वीका सबै सन्तानप्रति प्रकृति समान रूपले उदार, दयालु र निःस्वार्थ छ । यति उदार स्रोत र सम्भावनाबाट भरिपूर्ण संसार पाउँदा पनि मानिसहरूकै बिचमा देखिने विग्रह, प्रतिस्पर्धा, ईष्र्या, स्वार्थ र विभाजन भने विडम्बना हो ।
मानव सभ्यताको प्रारम्भदेखि आजसम्मको इतिहासले देखाउँछ–प्रकृतिले दिएको उपहार पाउन वा जोगाउन मानिसहरू एकअर्कासँग जुधेका छन् । खेतबारीको बहाना, पानीको स्रोतको स्वामित्व, बोटबिरुवाको उपयोग, नदीनला उब्जनीको बाँडफाँट, खनिजको स्रोत, तेल, पानी, समुद्री मार्ग, वनको स्रोत, सबैका नाममा विवाद चलिरह्यो तर प्रकृतिको चाहना सरल छ, “मैले दिएको सबै उपहार सबैले मिलेर उपयोग गर, युद्ध गरेर होइन ।”
प्रकृतिको उदारता र मानिस
हामीले प्रकृतिको कार्यशैली बुझ्न सक्यौँ भने उसले कहिल्यै प्रतिस्पर्धा र सङ्घर्षलाई बढावा दिँदैन भन्ने कुरा स्पष्ट हुन्छ । प्रकृतिका हरेक चिज आफ्नै सृष्टिका लागि बिनाभेदभाव प्रकृतिले उपलब्ध गराएको छ । प्रकृति या अस्तित्वलाई कुनै पनि राष्ट्र वा जातिको पहिचानसँग जोडिएको हुँदैन ऊ स्वतन्त्र छ र मानिसलाई स्वतन्त्र रूपमा एकअर्कामा प्रेमपूर्ण भएर बाँच्न प्रेरणा दिएको छ । सानो, ठुलो, धनी गरिब, यो त्यो भेदभाव मानिसको मानसिकताको उपज हो । मानिसको मानसिक धारणासँगै विकसित भएको मेरो अधिकार, मेरो स्वामित्व, मेरो, तिम्रो, हाम्रो, उनको जस्ता सीमाहरूले ग्रस्त बन्यो मानिसको मानसिकता । प्रकृतिबाट असीमित सम्भावना पाउँदा पनि मानव मनमा मलाई कम पर्ला कि ? भन्ने अभाव मानसिकता विकसित हुँदै गयो । यति खुला विशाल प्रकृतिको अगाडि पनि मानिसको मानसिकता साँघुरिँदै गयो, प्रेम र करूणा खुम्चियो अनि स्वार्थ फैलिँदै गयो । त्यसैको परिणाम–वैमनस्यता, क्षेत्रीय विवाद, वर्गीय भेद, जातीय तनाव, राजनीतिक द्वन्द्व, युद्ध र विध्वंसको विकास भयो र नेपाल जस्तो सानो मुलुकले पनि आज यस्तै अवस्था सामना गर्दै छ ।
सङ्घर्षको जटिलता किन
अनुमान गर्न सकिन्छ मानिसको सङ्घर्ष केवल स्रोतसाधनको मात्र होइन, मनोवैज्ञानिक र सामाजिक संरचनाको पनि परिणाम हो । यसलाई प्रभाव पार्ने आयाममा स्वामित्वको अति मोह एउटा प्रमुख कारण लाग्छ । मानिसले प्राकृतिक स्रोतलाई अधिकारको रूपमा हेरेपछि समस्या सुरु हुन्छ । जमिन, पानी, वन, चरन क्षेत्र जस्ता उपहार जब कानुनी स्वामित्व र राजनीतिक नियन्त्रणको विषय बन्छन्, त्यहीँबाट विवाद जन्मिन्छ । यो लम्बिँदै गएर एक असमानता र पहुँचको समस्या सिर्जना हुन्छ । प्राकृतिक स्रोत पर्याप्त भए पनि त्यसको पहुँच सबैले समान रूपमा पाउँदैनन् । केही समूह वा व्यक्तिले मात्र स्रोत कब्जा गर्छन्, बाँकि अरू वञ्चित हुन्छन् । यसले असन्तुलन र द्वन्द्व निम्त्याउँछ । यसको प्रभाव भनेको लोभ र आकाङ्क्षाको सीमाहीन विस्तार नै हो । मानिसले चाहने चिजहरू सीमाहीन छन् । घर, जग्गा, धन, शक्ति, प्रभाव, प्रतिष्ठा सबै बढ्दै जान्छन् । यसो हुँदा प्रकृतिले उपलब्ध गराउने स्रोत सीमित हुँदै जाने तर मानिसको इच्छा सीमाहीन बन्दै जाने अनुमान गर्न सकिन्छ । यही विरोधाभासले सङ्घर्ष पैदा गर्छ । अनि विकास हुन्छ– संवादको अभाव । अर्को ठुलो कारण–संवाद विहीनताको स्थिति । मुद्दा थुप्रिन्छन् तर वार्ता हुँदैन । उग्र भावना बढ्छ, तर तर्क र सहमतिको तालमेल मिल्दैन । सामाजिक परिदृश्य होस् या राजनीतिक परिवेश, व्यक्तिगत विकास होस् या समूहगत एकअर्कामा समझदारिता होइन तर्क र असहमतिको अवस्था विकास हुन्छ ।
संवाद, कूटनीति र सहअस्तित्व
कुनै पनि समाजले दिगो शान्ति, समृद्धि र सामुदायिक विकास चाहन्छ भने संवाद अनिवार्य छ । संवाद भनेको केवल कुरा–कुरामा सहमति खोज्नु, ठुलाले जित्नु र निमुखा सानाले हार्नु होइन, अस्वीकृति हुँदा पनि बाध्यतावश स्विकार्नु मात्र पनि होइन; यो मनोवैज्ञानिक, सामाजिक, राजनीतिक र सांस्कृतिकस्तरमा विश्वास निर्माण गर्ने प्रव्रिmया हो । किनभने अस्थिरता र द्वन्द्वको स्थितिमा संवादले सम्भावनाको ढोका खोल्छ । संवादले मानिसलाई अरूका दृष्टिकोण सुन्ने कला सिकाउँछ । आफ्नो दृष्टिकोण शान्त ढङ्गले प्रकट गर्न, मतभेदका मूल कारण बुझ्न, समाधान खोज्न र सामूहिक रूपमा सोच्न सिकाउँछ । जहाँ संवाद हुन्छ, त्यहाँ हिंसा घट्छ । जहाँ वार्ता हुन्छ, त्यहाँ समाधान निस्कन्छ । यो कलाले कूटनीतिक बुद्धिमत्ता पनि वृद्धि हुँदै जान्छ । कूटनीति भनेको केवल देश देशबिचको सम्बन्ध मात्र होइन; सामाजिक जीवनमा प्रत्येक व्यक्ति र संस्थाले अपनाउनुपर्ने शिष्ट, संयमित, विवेकपूर्ण व्यवहार हो । कूटनीतिक संवादका तीन आधारस्तम्भ हुन सक्छन्– सहानुभूति, विवेक र सहयोग । सहानुभूति भनेको अरूको पीडा, आवश्यकता र दृष्टिकोण बुझ्ने क्षमता हो भने, विवेकद्वारा समस्या समाधानका लागि सही समय, शब्द र व्यवहार छनोट गर्ने सिपको विकास हुन्छ र सहयोग त्यो हो, जुन कार्यले, भावले र सोचले सबैका हितलाई ध्यानमा राख्दै सामूहिक फाइदाको बाटो खोज्ने प्रतिबद्धताको अभ्यास बढ्छ ।
प्रकृतिबाट सिक्ने पाठ
प्रकृतिको व्यवहार प्रतिस्पर्धात्मक हुँदैन । प्रकृति सधैँ सहयोगी बन्छ । आफ्नो स्रोत र ऊर्जा बाँड्छ, यसलाई त्यसलाई भनेर रोक्दैन । बाँडेर दिन्छ, सबैलाई पु¥याउँछ तर सङ्ग्रह गर्दैन । प्रकृति सहअस्तित्वमा विश्वास गर्छ र मानव जातिलाई त्यसै गर्न प्रेरित गर्छ । मानिसले पनि यही गुण सिक्न सके संसारमा धेरै द्वन्द्व स्वतः समाप्त हुने छन् । मानिसले प्रकृतिबाट सिक्ने सरल पाठ हुन्, सहयोग प्रतिस्पर्धाभन्दा ठुलो हो । बाँडेर दिँदा कम हुँदैन, बरु बढ्छ । सहअस्तित्व सङ्घर्षभन्दा शक्तिशाली हुन्छ । सङ्ग्रहले चिन्ता ल्याउँछ, बाँड्ने संस्कारले शान्ति ल्याउँछ । संसारका धेरै सङ्घर्ष–राजनीतिक, जातीय, क्षेत्रीय, धार्मिक आदि यिनको जडमा अधिकार, स्वामित्व र सङ्ग्रह मानसिकता छ । यी मानसिकता न्यूनीकरण हुन सके मात्र सहयोग, साझेदारी, सहमति र संवादको विकास हुन्छ । जसको परिणाम विश्वास एकअर्कामा बढ्छ, तनाव कम हुन्छ, विकासको बाटो खुल्छ, समूहबिच साझेदारी बलियो हुन्छ, समाज दिगो शान्तितर्फ जान थाल्छन् ।
संवाद किन अत्यावश्यक छ ?
नेपाल जस्ता विविध संस्कृति, भाषा, जातजाति, भूगोल र राजनीतिक पृष्ठभूमि भएको देशमा संवाद शान्ति, समृद्धि र विकासको आत्मा हो । परिस्थिति जस्तो आइपरे पनि विकासका लागि साझा दृष्टिकोण आवश्यक रहन्छ । राजनीतिक दलहरू हुन् या समुदायहरू, नीतिनिर्माता र नागरिकले साझा राष्ट्रिय एजेन्डामा एउटै टेबलमा आएर सोच्नु पर्छ । किनभने जब संवाद अवरुद्ध हुन्छ तब आरोप–प्रत्यारोप बढ्छ, अविश्वास बढ्छ र सामाजिक दुरी विस्तार हुन्छ, त्यसकै परिणामस्वरूप द्वन्द्व जन्मिन्छ । जब संवादको धोका खुल्छ, तब पारदर्शिता बढ्छ, सहकार्य बढ्छ, समाधान नजिक आउँछ अनि स्थायित्व सुदृढ हुन्छ । संवाद नै शान्ति र विकासको साँचो मार्ग हो । प्रकृति सहज, सरल र उदार छ । मानिस–अहङ्कार, प्रतिस्पर्धा र अविश्वासले ग्रस्त हुँदाहुँदै पनि यस संसारको सबैभन्दा बुद्धिमान प्राणी हो । बुद्धिमत्ता भनेको केवल जटिल प्रविधि र संरचना बनाउनु मात्र होइन, बुद्धिमत्ता भनेको संवाद, सहकार्य र सहअस्तित्वको विज्ञान बुझ्नु हो । आजको समयले मानवलाई सिकाइरहेको छ– विद्रोह र युद्धले समाधान दिँदैन । एक अर्काप्रतिको आरोपले समस्या झनै बढाउँछ । प्रकृतिको स्रोत कब्जा गरेर शान्ति कायम हुँदैन । समाधान संवादद्वारा नै सम्भव हुन्छ । समृद्धि सहयोगद्वारा हुन्छ । शान्ति सहअस्तित्वद्वारा हुन्छ । मानिसले प्रकृतिबाट एउटा मात्र पाठ सिक्न सके पुग्छ त्यो हो–बाँडेर देऊ, मिलेर बाँच, सङ्घर्ष होइन–सहयोगमा विश्वास गर । यति भए संसार वास्तवमै शान्त, सुन्दर र समतामूलक बन्न सक्छ । न्यायपूर्ण पहुँचको मर्म भनेकै स्रोतसाधन र प्राकृतिक उपहारमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु हो र यो नै दिगो शान्तिको आधार हो । यो नै सहअस्तित्वको दर्शन हो, मानिसले प्रकृतिलाई जित्ने होइन, बुझ्ने र सम्मान गर्ने हो । प्रकृतिसँग युद्ध गरेर होइन, प्रेम र सहयोग गरेर मात्र समृद्धि सम्भव छ ।