• २५ वैशाख २०८१, मङ्गलबार

राष्ट्रवादको कथा ‘गदर–२’

blog

काठमाडौँ, साउन ३१ गते  । चलचित्र ‘गदर २’ को कथा सन् १९७१ को भारत–पाकिस्तान युद्ध सुरु हुनुअघिको हो । अघिल्लो चलचित्रमा तारा सिंहले आफ्नी श्रीमती सकिनालाई धेरै कठिनाइसँग जुधेर पाकिस्तानबाट फिर्ता ल्याएका थिए । यस पटक पनि चलचित्रको कथा त्यससँगै मिल्दोजुल्दो छ । दुई दशकअघिकै ‘गदर एक प्रेम कहानी’ को समाप्तिको कथालाई ‘गदर २’ मा फेरि दोहोर्‍याउने प्रयास गरिएको छ ।

तारा सिंह (सनी देओल) र सकिना (अमिषा पटेल) भारत फर्किएपछि खुसीको जीवन बिताइरहेका हुन्छन् । उनीहरूका छोरा चरणजित जिते (उत्कर्ष शर्मा) हुर्किसकेका छन् । त्यस्तै मेजर जनरल हमिद इकबाल (मनिष बाधवा) पाकिस्तानमा बदलाको आगोमा जलिरहेका छन्, उनको यो अवस्था हुनुका कारण ताराले आफ्नो रेजिमेन्टका ४० सैनिकलाई मारेर सकिनालाई भारत लग्नु हो । यही रिसमा हमिदले सकिनाका बुवा अशरफ अली (अमरिश पुरी) लाई फाँसी दिन लगाउँछन् । यति हुँदा पनि हमिदलाई चित्त बुझ्दैन र उनी तारासँग अझै बदला लिन चाहन्छन् । एक दिन हमिदले अचानक आफ्नो इच्छा पूरा गर्ने मौका पाउँछन् जब ताराको छोरा जिते आफ्नो बुवालाई खोज्न पाकिस्तान पुग्छन् र उनी पाकिस्तानी सैनिकबाट समातिन्छन् । आफ्नो छोरालाई घर फिर्ता ल्याउन तारा फेरि पाकिस्तान जाने निर्णय गर्छन् । ताराले छोरालाई पकिस्तानबाट फर्काउन गरेको अनेकन सङ्घर्ष नै चलचित्रको मुख्य कथा हो । के उनी यसमा सफल हुन्छन् ? यही प्रश्न जवाफ चलचित्रभित्र अनेकन तरिकाबाट देखाउन खोजिएको छ ।  

चलचित्रमा नाना पाटेकरको अभिनय नभए पनि उनले अघिल्लो र अहिलेको गदरको बारे भनेका संवादहरूबाट सुरु भएको छ । अघिल्लो चलचित्रका छनोट गरिएका केही दृश्यले दर्शकलाई ‘गदर’ को सम्झना गराउँछ । यद्यपि चलचित्रको पहिलो भाग केही सुस्त गतिमा अघि बढेको हो कि भन्ने भान हुन्छ । निर्देशक अनिल शर्माले यसको लम्बाइ केही घटाउन सक्थे तर उनले यसमा खासै ध्यान दिइएको देखिँदैन । चलचित्रको दोस्रो हाफ कथा दु्रत गतिमा अगाडि बढ्छ । मध्यान्तरपछि सनीका उत्कृष्ट एक्सन दृश्यहरूले दर्शकलाई केही राहत गराउँछ । त्यस्तै चलचित्रको क्लाइमेक्स पनि बलियो छ । निर्देशक शर्माले ‘गदर २’ मा ‘गदर’ को सम्झनालाई सुन्दर ढङ्गले बुनेका छन्, जसमा दर्शक भावनात्मक रूपमा जोडिन सक्छन् । उनले चलचित्रभित्र एक्सन, मायाप्रेम र देशभक्तिको कथा बुनेका छन् । 

चलचित्रमा सनी देओल तारा सिंहको भूमिकामा जमेका छन् । उनको अभिनय र संवादले चलचित्र राम्रो बनेको छ । सकिनाको भूमिकामा अमिषा पटेलले पनि राम्रो अभिनय गरेकी छिन् तर पहिलाको जस्तो प्रस्तुति यसमा उनले दिन नसकेको हो कि जस्तो लाग्छ । मनिष बाधवाले गरेको मेजर जनरल हमिद इकबालको भूमिका जीवन्त छ । उत्कर्ष शर्मा र सिमरन कौर दुवैको अभिनय फितलो छ । अभिनयको हिसाबले दुवैले अझ बढी मेहनत गर्नुुपर्ने देखिन्छ । अघिल्लो चलचित्रको ‘उड जा काले कावा’ र ‘मै निकला गड्डी लेके’ दुवै गीत चलचित्रभित्र दोहोरिएका छन् । चलचित्रमा गीतले पनि धेरै स्थान ओगटेको छ । चलचित्रमा देखाइएको राष्ट्रवादको कथा, यसका संवाद, गीतसङ्गीत सबै पुरानै (गदर) शैलीको छ । पाकिस्तानका शासक र सेनालाई खलपात्र बनाएर भारत दर्शकसामु राष्ट्रवादी बन्न खोजेको हो कि जस्तो चलचित्र हेरिसकेपछि दर्शकले महसुस गर्छन् ।