• २० असोज २०८१, आइतबार

‘जुम्बा’ मा झुम्दै बालबालिकादेखि पाकासम्म

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, साउन ३० गते । बालबालिकादेखि पाकासम्म अचेल जुम्बा नृत्यमा भेटिन थालेका छन् । मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि जुम्बा नृत्यप्रति आकर्षण बढ्दै गएको हो । जुम्बा नृत्यको ताल र चालमार्फत शारीरिक तन्दुरुस्तीका लागि  गरिने एक प्रकारको ‘थेरापी’ हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ । अहिले कतिपय महानगरपालिका वा नगरपालिकाले वडा वडामा जुम्बाको कक्षा सञ्चालन गरिरहेको पाइन्छ । यसबाहेक निजी क्षेत्रबाट पनि यस्ता कक्षा सञ्चालन भइरहेका छन् । 

मोटोपन घटाउन मात्र नभएर थाइराइड, युरिक एसिड आदि रोग नियन्त्रणका लागि पनि जुम्बा प्रभावकारी साबित भएको छ । रमाइला सङ्गीतको धुनमा कसरत गरिने भएकाले यसको आकर्षण बढ्दै गएको क्रियटर आर्ट्स फाउन्डेसनद्वारा सञ्चालित जुम्बा नृत्यकी प्रशिक्षक सरस्वती कार्की श्रेष्ठ बताउनुहुन्छ । उहाँहरूले उर्लाबारीमा जुम्बा सिकाउन प्रशिक्षण कक्षा सुरु गर्नुभएको छ । जुम्बाले शारीरिक एवं मानसिक रूपमा शरीरलाई स्वस्थ राख्न सघाउ पु-याउने भएकाले जुम्बाप्रति पुरुषको तुलनामा महिलाको आकर्षण बढी रहेको उहाँको भनाइ छ ।  

श्रेष्ठ शारीरिक तौललाई रमाइलो तरिकाले सन्तुलनमा ल्याउन, कतिपय स्वास्थ्य समस्याको निराकरण गर्न र आत्मविश्वास बढाउन पनि जुम्बा प्रभावकारी हुने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जुम्बा गर्दा नाच्दानाच्दै तौल घटेको थाहै हुँदैन ।” उर्लाबारीकी अञ्जु स्याङ्बो एक वर्षअघिदेखि  जुम्बा नृत्यमा रमाइरहनुभएको छ ।  उहाँको पहिलो उद्देश्य तौल घटाउनु र अर्को उद्देश्य स्वस्थ रहन व्यायाम गर्नु रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मोटोपन भएका स्कुले बालबालिकादेखि  सबै उमेर समूह यहाँ आउँछन् । रमाइलो गर्दै तौल घटाउन सकिने भएकैले जुम्बामा जानु फेसन बनिसकेको छ ।” तर जुम्बा नृत्यसहित खानपानमा पोषण तत्व मिलाए मात्र तौल घट्ने उहाँको अनुभव छ । 

जुम्बामा बेसिक, गोल्ड, आक्वा, गोल्ड टोयनिङ, इन द सर्किट, टोयनिङ, अटोमिक, जुम्बा सेन्टो, जुम्बा किड्स आदि स्टेप हुन्छन् । जुम्बा क्लास व्यक्ति अनुसार फरक फरक हुन सक्छ । सिकारु र वृद्धका लागि जुम्बा बोल्ड, स्विमिङ पुलमा गरिने अक्वा जुम्बा, बालबालिकाका लागि जुम्बा किड्स, जुम्बा बेसिक स्टेप, कुर्सीको सहारामा गरिने जुम्बा सेन्टर सञ्चालनमा छन् । जुम्बामा चार वटा रिदम हुन्छन् साल्सा, मेरिङ्गे, बेग्रेटोन तथा कुम्बिया । जुम्बाको कोरियोग्राफर अल्बेर्टो बेटो पेरेजले सुरुवात गरेका हुन् । हाल विश्वका १८५ देशमा यसको अभ्यास गरिन्छ ।