• २२ असार २०८२, आइतबार

रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह

blog

फाइल तस्बिर

बिन्दु थापा 

पाल्पा, असार २१ गते । जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सडक राजमार्गमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुङ्गा खस्न सक्ने र सुख्खा पहिरो समेत गई यात्रु र सवारी साधनमा क्षति हुनसक्ने सम्भावना भएकाले प्रशासनले रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको हो ।

प्रशासनले सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पामा पर्ने सिद्धबाबा राम्दी सडकखण्ड, तानसेन–रिडी–तम्घास सडकको तानसेन–रिडी खण्ड, रामपुर हुमिन ताँहु– आर्यभञ्ज्याङ् सडकखण्ड, हार्थोक छहरा–तिनगिरे सडक खण्ड र अन्य मुख्य सहायक मार्ग तथा ग्रामीण सडकहरुमा रातिको समयमा सवारी नचलाउन भनेको छ ।

जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

जिल्ला सुरक्षा समिति, यातायात व्यवसायी, सरोकारवालासहितको सर्वपक्षीय बैठकको निर्णय समेतका आधारमा स्थानीय सुरक्षा निकाय (नेपाल प्रहरीको स्थानीय युनिट) बाट मौसमको पूर्वानुमानको आँकलन प्रक्षेपण तथा वर्षा र पानी परिरहेको परिस्थितिमा जुनसुकै समयमा सवारी साधन चलाउन पूर्ण रुपले निषेधगरी रोक लगाइन सकिने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ । प्रशासनले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ।