• २१ असार २०८२, शनिबार

मुजफरपुरबाट सात किशोरको उद्धार

blog

भारतबाट उद्धार गरिएका किशोरहरूलाई परिवारको जिम्मा लगाइँदै । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, असार २१ गते ।  प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशले भारत विहारको मजफरपुरकाट किङ इन्डियाको सहयोगमा मधेश प्रदेशका सात जना किशोरको उद्धार गरेको छ । 

गत चैत महिनामा अभिभावककै सहमतिमा पैसा कमाउन भारतको लुधियाना जान लागेका पाँच जना र बितेको वैशाख महिनामा भारतको तमिलनाडुको चेनै जान लागेका दुई जनागरी सात जना किशोरलाई भारत विहारको मजफरपुरबाट उद्धार गरी प्रहरीको रोहवरमा शनिबार परिवारको जिम्मा लगाइएको प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जिव महतोले जानकारी दिनुभयो । 

पैसा कमाउन भारत जान लागेका उनीहरूलाई विहार राज्यको मजफरपुर रेल्वे स्टेसनमा त्यहाँका स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले सोधपुछ गरी जन्मदर्ता हेर्दा सातै जनाको काम गर्ने उमेर नदेखेपछि उनीहरूलाई प्रहरीले स्थानीय बाल कल्याण समितिलाई जिम्मा लगाएको थियो । 

मजफरपुरका बाल कल्याण समितिले  प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशलाई पत्र पठाएर घटनाबारे जानकारी गराएको थियो । 

उद्धार गरी परिवारजनलाई जिम्मा लगाउनेहरूमा सर्लाही जिल्ला विष्णु गाउँपालिकाका १४ वर्षीय दीपक मुखिया, सोही ठाउँका १४ वर्षिय विकि मुखिया, सर्लाही जिल्ला हरिपुर नगरपालिकाका १७ वर्षीय करणकुमार सदा, महोतरी भङ्गहा नगरपालिकाका १४ वर्षीय फेकु सदा, १६ वर्षीय रुपेशकुमार सदा, १७ वर्षीय गोबिन्द सदा र महोतरी जिल्लाको मटिहानी नगरपालिकाका १७ वर्षीय गोबिन्द सदा रहेको प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेशका प्रहरी सहायक निरीक्षक सुनिलकुमार ओझाले जानकारी दिनुभयो  । 

सो अवसरमा मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्रालयका सचिव रञ्जित यादव, प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रतिनिधि एवम प्रहरी निरीक्षक दिपेन्द्रकुमार यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि एवम प्रहरी निरीक्षक निकिता मिश्र सहितको उपस्थिति थियो ।