चन्द्र पन्दाक
ताप्लेजुङ, असार २१ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा दलित लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। दलित समुदायको हक तथा अधिकारबारे प्रशिक्षित गराउन सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।
मिक्वाखोला गाउँपालिकाको सञ्चालन गरेको चार दिने दलित लक्षित सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। पालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत दलित लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो।
गाउँपालिकाभरिका दलित समुदायका प्रतिनिधिलाई सहभागी गराई सचेतना कार्यक्रममार्फत दलितको हक र अधिकारबारे प्रशिक्षण दिलाएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा गाउँपालिकाका पाँच वटै वडामा बसोबास गर्दै आएका दलित समुदायका प्रतिनिधिको सहभागिता रहेको थियो।
दलित समुदायलाई उनीहरुको हक अधिकारबारे जानकारी गराउने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले बताउनुभयो। गौतमका अनुसार दलित समुदायको हक अधिकारबारे गाउँपालिकाका बस्ती तथा कुनाकन्दरामा बसोबास गर्दै आएका लक्षित समुदायले जानकारी राख्नु आवश्यक हुने हुँदा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा सञ्चालन गरिएको दलित लक्षित सचेतना कार्यक्रमको सहजीकरण अधिवक्ता सहमान शङ्खर विश्वकर्माले गर्नुभएको थियो। सचेतना कार्यक्रममा प्रतिपरिवार एक जनाका दरले करिव ३५ जना सहभागी हुनुभएको गाउँपालिकाकी कर्मचारी होमकुमारी दियालीले जानकारी दिनुभयो।