• २५ वैशाख २०८१, मङ्गलबार

नारीवादको कथा ‘बार्बी’

blog

काठमाडौँ, साउन २५ गते । ‘बार्बी’ डलमा यसअघि पनि चलचित्र नबनेको होइन तर तीमध्ये अधिकांश एनिमेसन थिए । ‘बार्बी’ को संसारमा आधारित पहिलो पटक चलचित्र बनेको छ । चलचित्रलाई ग्रेटा गेर्बिगले निर्देशन गर्नुभएको छ । चलचित्रमा मार्गो रोबी र रायन गोस्लिङ मुख्य भूमिकामा छन् । केनको भूमिकामा रायन हुनुहुन्छ भने मार्गो चलचित्रको सहनिर्माता पनि रहनुभएको छ ।

चलचित्रको कथा ‘बार्बी’ (मार्गोट रोबी) सपनाको संसार अर्थात् ‘बार्बी’ को दुनियाँबाट सुरु हुन्छ । ‘बार्बी’ भूमिमा सबै कुरा रमाइलो र सुन्दर छ । त्यहाँ धेरै ‘बार्बी’ र केन (रायन गोस्लिङ) छन् तर एक दिन अचानक ‘बार्बी’ लाई मृत्युको विचारले सताउँछ । उनलाई आफूमा हुने अपूर्णता पत्ता लगाउन ‘बार्बी’ ल्यान्डबाट मानिसको वास्तविक संसारमा पठाइन्छ । केन पनि यस यात्रामा उनीसँगै हुन्छन् र त्यसपछि एक रोमाञ्चक यात्रा सुरु हुन्छ जहाँ ‘बार्बी’ मानव संसारको तितो सत्य र दुःखसँग परिचित हुन्छिन् । उनको उद्देश्य मानिसमा खुसी र सपनाहरू फैलाउनु हुन सक्छ तर वास्तविक संसारको एक भागले उनको पूर्ण छविलाई घृणा गर्दछ । उनले कहिल्यै कसैलाई चोट पु-याउने उद्देश्य राखेकी छैनन् तर पितृसत्ताले स्थापित गरेको छविले मानिसलाई हानि पु-याएको छ । 

‘बार्बी’ सँगै केन पनि आफ्नो अस्तित्व खोज्न थाल्छन्, उनको अस्तित्वको अर्थ के हो ? दिमाग नभएको पुतली । उसले ‘बार्बी’ का लागि मात्र लड्छ । उसले वास्तविक संसारमा मानिस हुनुको महत्व बुझ्छ र गहकिलो सोच ‘बार्बी’ को सुन्दर र गुलाबी संसारमा लागु गर्न चाहन्छ तर के उसले त्यसो गर्न सक्छ ? ‘बार्बी’ ल्यान्ड र वास्तविक संसारको बिचमा समातिएको ‘बार्बी’ लाई के हुन्छ ? यही प्रश्नको जवाफ चलचित्रको कथामा छ ।  

एउटा प्लास्टिकको पुतली कसरी आफ्नो संसारबाट बाहिर निस्कन्छ र मानव भावनाहरू बुझ्छ भन्ने मार्गो रोबी आफ्नो अभिनयमार्फत दर्शकलाई बुझाउन खोज्नुभएको छ । उहाँको अभिनयले अवश्य नै दर्शकको मन जित्छ । त्यस्तै केनले पुतलीको संसारमा बलियो स्थान नपाए पनि उहाँको दृष्टिकोणलाई चलचित्रमा प्रयोग गरेका छन् । रायन गोस्लिङलाई केनको भूमिका सुहाएको छ । विल फैरेल एउटा खेलौना कम्पनीको मालिकका रूपमा प्रस्तुत भएका छन् जसले दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाउँछन् । वियर्ड ‘बार्बी’ को भूमिकामा केट म्याककिननले ती ‘बार्बी’ डलहरूको प्रतिनिधित्व गर्नुहुन्छ ।  जसको अनुहार ङ्ंगिएको हुन्छ, बच्चाहरू हातखुट्टाले खेल्छन् । चलचित्रमा ‘बार्बी’ को पुतली पनि देखिने छ, जुन अहिले बजारमा पाउन छाडिसके ।  

निर्देशक ग्रेटाको कथा भन्ने शैली अद्भुत छ । डाक्टर, वकिल, नोबेल पुरस्कार विजेता, अन्तरिक्ष यात्री जस्तोसुकै सुन्दर र जे पनि हासिल गर्न सक्ने ‘बार्बी’ लाई उहाँले सही ढङ्गले चलचित्रमा प्रस्तुत गर्नुभएको छ । ‘बार्बी’ को अप्ठ्यारो परिस्थिति उहाँभित्रका आँसु र भावनाहरू पनि निर्देशकले सुन्दर ढङ्गले चलचित्रमा प्रस्तुत गरेको देखिन्छ । चलचित्र रङ्गिन सेट डिजाइन आकर्षक छ । जसलाई ‘बार्बी’ को मनपर्ने गुलाबी रङका साथ परिष्कृत गरिएको छ । ग्रेटाले चलचित्रमा नारीवादको वकालत गरिरहेको देखिए पनि उहाँले मनोरञ्जनका क्षण कम हुन दिएको पाइँदैन । उहाँका अन्य विचित्रका पात्रको अभिनय पनि मनमोहक छन् । लेडी बर्ड र लिटिल वुमन जस्ता ओस्कार जितेको चलचित्रकी निर्देशक ग्रेटाले यस पटक पनि चलचित्रबाट धेरैको मन जित्न सफल हुनुभएको छ ।