• २५ वैशाख २०८१, मङ्गलबार

कलाकारको ब्रान्ड मोह

blog

काठमाडौँ, साउन २९ गते । कलाकार समाजका लागि नमुना हुन् । चलचित्र वा नाटकमा मात्र होइन अन्य अवसरमा पनि उनीहरूले गरेका व्यवहार, अपनाएको जीवनशैलीलाई समाजले नमुनाकै रूपमा ग्रहण गरिरहेको हुन्छ । उनीहरूले कुन कुन ब्रान्डका जुत्ता, कपडा, गगल्स लगाउँछन् वा कुन घडी लगाउँछन्, कुन गाडीमा हुइँकिन्छन् भन्ने विषयलाई निकै चासोका साथ हेरिएको हुन्छ । त्यसैले पनि कलाकारहरू आफ्नो क्षेत्रमा अलिक जमेपछि, आर्थिक अवस्था सुधारिएसँगै ब्रान्डप्रतिको मोह पनि देखाउने गरेका छन् । 

गायक शिव परियार गाँस, बास, कपास सबैको आवश्यकता भएको बताउनुहुन्छ । आर्थिक अवस्था अनुसार त्यसमा उच्चकोटीको होस् भन्ने चाहना राख्नु मानवको स्वभाव भएको उहाँको भनाइ छ । उहाँ ‘मोभाटो’ को घडी लगाउनुहुन्छ ।  गाडी ‘फोर्ड टाइटनियम’ चढ्नुहुन्छ । आँखाका लागि ‘गुसी वा रेमन्ड’ को चस्मा उहाँ रुचाउनुहुन्छ भने प्रायः ‘टिम्बरल्यान्ड’ को जुत्ता सहज मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो क्षमताले भ्याउनेसम्म  राम्रो र सुविधायुक्त सामग्री उपभोग गर्ने त हो नि ।’’ 

कलाकार दीपकराज गिरीको भनाइ भने अलि फरक छ । उहाँ आफूलाई सादगी जीवन मन पर्ने बताउनुहुन्छ । आफ्ना लागिसमेत आफैँ किनमेल नगर्ने गिरी श्रीमतीले छनोट गरेकोमा नै रमाउने गरेको दाबी गर्नुहुन्छ । उहाँलाई गाडी फेरि फेरि चढ्ने पनि सोख छैन । उहाँ अहिले ‘टाटा हेडग्गा’ को गाडी चढ्ने गर्नुहुन्छ । 

रङ्गकर्मी निशा शर्मा ब्रान्डमा निकै सचेत देखिनुहुन्छ । मानिसको पहिचान ब्रान्डले नै बनाउने उहाँको बुझाइ छ । किनमेलमा अधिक समय बिताउने शर्मा कपडामा बङ्गाली, मराठी, सुती, कटन र पस्मिना लगाउन रुचाउनुहुन्छ । उहाँ घडीको पनि निकै सोखिन हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिटिजन, वल्र्ड स्विस, कार्टिएर, सिकोका घडीहरू मेरा सङ्ग्रहमा छन् ।” छानी छानी गाडी चढ्न रुचाउने उहाँले हुन्डाई, एसेन्ट, आई–१० ग्रान्ड, स्कोडा, होन्डा गाडीको मजा लिइसक्नुभएको छ । 

नायिका केकी अधिकारी जीवनशैली  सहज बनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जीवनशैली जति सहज बनायो त्यति नै राम्रो हुन्छ ।” उहाँ किनमेलमा जाँदा अनुहारमा लगाउने सौन्दर्य प्रशाधनका सामग्रीको ब्रान्डमा बढी ध्यान दिने गर्नुहुन्छ । 

धेरै कलाकारको रुचि किनमेलमा रहने गर्छ । मोडल शनिसा भट्टराई किनमेल गर्न एकदमै रुचाउनुहुन्छ । सपिङ गर्दा ब्रान्डकै सामान चाहिँ खोजी नगर्ने उहाँको भनाइ छ । 

उहाँले स्पोटी घडी एकदमै मन पर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘बान्डेडभन्दा पनि राम्रो र भरपर्दो हुनु पर्छ ।” उहाँ किनमेलका लागि मासिक २० देखि २५ हजार रुपियाँ छुट्याउने गरेको पनि बताउनुहुन्छ । 

रङ्गकर्मी सिर्जना सुब्बा ब्रान्डमा त्यति धेरै विश्वास गर्नुहुन्न । स्पोटी चिज धेरै किन्न रुचाउने उहाँ भन्नुहुन्छ, “यो नै चाहिन्छ भन्ने छैन । म भृकुटीमण्डपदेखि दरबार मार्गसम्मका चिज किन्ने गर्छु । फुटपाथमा राखेका केही कुरा झट्ट देखेर मलाई मन प¥यो भने त्यो पनि किनिहाल्छु ।”