• ११ मंसिर २०८१, मङ्गलबार

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

blog

गण्डकी,  साउन २७ गते । कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।

समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुई गीति एल्बम सार्वजनिक गर्नुभएको छ ।

“कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।

कति दुःख गरियो याद ताजै छन् ।।” 

गीतबाट सुरु उहाँको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई बर्सेनि परनिर्भरतातर्फ डोर्‍याएको उल्लेख गरिएको छ ।

परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा 

“हलो जुवा स्याखु खत्री नामै नौला भैसके ।

म्युयिममा राख्नुपर्ने बेला आइसके ।।” भनिएको छ ।

रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,

“बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा ।

अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा ।।

मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन ।

गमलामा धान रोपी किसान जनाउन ।।” उल्लेख गरिएको छ ।

किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले 

“किसानले खेती गर्दा मल बीउ नपाउने ।

सरकारको बजेट आउँछ बाँदर धपाउने ।।” भन्नुुभएको छ ।

वाग्लेले कोही कसैलाई दोष मात्रै दिएर नभै समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिनुभएको छ । हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उहाँका गीतमार्फत सन्देश दिन खोजिएको छ । खुर्सानी गोलभेँडामा परनिर्भर रहनुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ ।

गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरी पनि तीज आयो मन दुखाउन’ र्शीषकको गीति एल्बम बजारमा ल्याउनुभएको छ । 

“गारो हुने मनका पीडा परेलीमा लुकाउन ।

फेरि पनि आयो तीज मन दुःखाउन ।।”

उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र वेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने  पीडालाई गीतमा देखाइएको वाग्लेले बताउनुभयो । उहाँका अनुसार दुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् । 

गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । गीतको निर्देशन छवि सुवेदीले गर्नुभएको छ भने छायाङ्कन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भूर्तेलले गर्नुभएको हो । छायाङ्कनमा नेवा खल: कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन् । 

पहिलोपटक वि.सं. २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गर्नुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुभएको छ । रासस