• ११ मंसिर २०८१, मङ्गलबार

फुकुओकामा नेपथ्यको जमघट

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन ३१ गते । नेपथ्य टोलीले जापानको फुकुओकामा पनि राजधानीको टोकियोमा जस्तै दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ । “हालसम्म यहाँ आएका नेपालीहरूको ठुलो भेला भनेकै छ सय मानिसको उपस्थिति थियो,” कन्सर्ट आयोजक टोलीका प्रकाश थापा भन्नुहुन्छ, “त्यस हिसाबले शनिबार नेपथ्य कन्सर्टमा उपस्थित १२ सयभन्दा बढी दर्शकको सङ्ख्या यो सहरमा आजसम्मकै सबैभन्दा ठुलो नेपाली जमघट हो ।”

बेलुकी ठीक ७ बजे कन्सर्ट सुरु हुनेबित्तिकै सबैभन्दा पहिले ‘सा कर्णाली’ र ‘मै मरी जाउँला’ को म्युजिक भिडियो प्रस्तुत गरियो । त्यसपछि मञ्चमा उपस्थित नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट दर्शकसँग पहिलो साक्षात्कार गर्‍यो । त्यो क्रमलाई ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ ले निरन्तरता दिएको थियो । 

अन्त्यतिर सधैँ झैँ श्रोताले सर्वाधिक मनपराएको ‘रेशम’ र ‘तालको पानी’ गाइरहँदा नृत्यरत दर्शकहरूको उत्तेजना चरम विन्दुमा पुगेको थियो । त्यसलगत्तै ‘रातो र चन्द्रसूर्जे’ गाउने बेलामा त्यो पारो अझ माथि उक्लियो । हलभरि जताततै राष्ट्रिय झण्डा हल्लिरहेका थिए । 

"फुकुओकामा नेपथ्य कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ," आयोजक टोलीका थापाले भन्नुभयो, "यो कन्सर्ट हेर्नका लागि हिरोसिमा र नागोयादेखिका दर्शक फुकुओका आइपुग्नुभएको थियो ।"