दाङमा एक अर्बभन्दा बढी बजेट फ्रिज
दाङमा सङ्घीय सरकारबाट आएको पुँजीगत बजेटमध्ये एक अर्ब बढी रूपियाँ फिर्ता भएको छ । आर्थिक वर्ष ०७९÷०८० मा सङ्घबाट पुँजीगत बजेट चार अर्ब ७५ करोड ८४ लाख ३३ हजार १९ रूपियाँमध्ये एक अर्ब ५ करोड ४२ लाख ३९ हजार ६४९ बजेट खर्च हुन नसक्दा फिर्ता भएको हो ।
जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ कर्पोरेशन
जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।
लोकल आलुलाई ब्राण्डिङ् गर्न सुरु
गुल्मीमा स्थानीय जातको आलुलाई ब्राण्डिङ् गर्न सुरु गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र मालिका गाउँपालिकामा परम्परागत रूपमा उत्पादन हुँदै आएको स्थानीय जातको रैथाने आलुलाई बजारीकरण गर्न आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।
विलासिता र वैदेशिक पर्यटन शुल्क कार्यविधि तयार, शुल्क उठाउने बाटो खुल्यो
चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत लागु गरिएको विलासिता शुल्क र वैदेशिक पर्यटन शुल्क उठाउने बाटो खुलेको छ । आन्तरिक राजस्व विभागले यी दुवै किसिमका शुल्क उठाउने छुट्टाछुट्टै कार्यविधि जारी गरेपछि शुल्क उठाउने बाटो खुलेको हो । चालु आवको आर्थिक ऐनमार्फत सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेका बखत सेवाबापत असुल हुने मूल्य अभिवृद्धि करअघिको मूल्यमा दुई प्रतिशतका दरले विलासिता शुल्क लिने व्यवस्था गरेको छ ।
अदुवा र बेसारखेतीतर्फ कृषकको आकर्षण
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ ।
सुक्न थाल्यो रोपेको धान
वर्षाको भरमा खेती हुने बाँकेमा पर्याप्त पानी नहुँदा रोपेको धान पनि सुक्न थालेपछि किसान चिन्तत भएका छन् । केही किसानका खेतबारी पानीको अभावमा अझै बाँझै रहेका छन् भने जसोतसो रोपाइँ गरेका अधिकांशको धान पनि वर्षा नहुँदा सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले हालसम्म पनि जिल्लामा पर्याप्त वर्षा नभएकाले धेरै किसानका धान सुक्न थालेको बताउनुभयो । उहाँले सिक्टा सिँचाइ नहर वरिपरिको धानलाई कुनै प्रभाव नपरे पनि मोटरले पानी तानेर वा अन्य प्रविधिबाट रोपाइँ गरेका किसान खडेरीका कारण समस्यामा पर्न थालेको बताउनुभयो । प्रमुख अहमदले भन्नुभयो, “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएकाले किसान चिन्तामा छन्, केही दिन पानी परेन भने गम्भीर अवस्था हुने छ ।”
सुनको कारोबार ठप्प
बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुन थालेका छन् । मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मलमासका कारण र तीज असोज महिनामा परेकाले पनि सुनको कारोबार नभएको बताउनुभयो । साउन महिना अफ सिजन भएकाले पनि कारोबार न्यून हुने गर्छ, यो वर्ष चाडपर्व ढिला भएकाले पनि कारोबार ठप्प अवस्थामा रहेको उहाँको भनाइ छ ।
बचतकर्ताले रकम फिर्ता पाउने
समस्याग्रस्त सहकारी ओरेन्टल कोअपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत भएकालाई प्रमाणसहित साउन १५ गतेसम्म निवेदन पेस गर्न एक सूचना जारी गर्दै म्याद दिएको छ ।
जहाजभित्रै करयुक्त पसल राख्न पाइने
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यका सामग्री, उपहारजन्य सामग्री, घडीलगायतका सामग्री किन्न पाइने भएको छ ।
सेती खोला हाइड्रोले आइपिओ ल्याउने
सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प्रभावित भएका स्थानीयका लागि जारी गर्ने भएको छ । सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
अर्थतन्त्रमा देखिएका बेथिति अन्त्य गर्न लागेको छु : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ ।
तीन वर्षदेखि नेपालगन्ज अध्यागमन कार्यालयको काम ठप्प
सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।
कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनः भाषा परीक्षाको आवेदन खुलाएको छ ।
जलेश्वर भन्सारबाट लक्ष्यभन्दा २२ प्रतिशत कम राजश्व सङ्कलन
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ । जसकाकारण आ.व. २०७९-०८० को राजस्व लक्ष्यभन्दा २२ प्रतिशत अर्थात् ८२ करोड कम सङ्कलन भएको छ ।
निर्माण व्यवसायीको मागमा दबाब दिन भेला
नेपाल निर्माण व्यवसायी महासङ्घले बाँकी रहेको रकम भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न तथा मूल्यवृद्धि फ्रिज नगर्न माग गर्दै राष्ट्रिय भेला आयोजना गरेको छ । माग पूरा गराउन दबाब दिने उद्देश्यले शुक्रबार राजधानीमा आयोजित सो भेलामा ७७ जिल्लाका निर्माण व्यवसायी सहभागी छन् । महासङ्घका अध्यक्ष रवि सिंहले म्याद थप निर्माण व्यवसायीको भन्दा सरकारको आवश्यकता रहेको उल्लेख गर्दै सरकारको निर्देशन भए पनि कर्मचारीहरूले म्याद थप गर्न नमानेको तथा म्याद थपका लागि उनीहरूको चाकरी गर्नुका साथै अतिरिक्त सम्बन्ध बनाउनुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी कर्मचारीले सरकारले दिएको निर्देशन कार्यान्वयन नगर्दा निर्माण व्यवसायीले अतिरिक्त सम्बन्ध बढाउनुपर्ने भएको छ ।”
भाषा परीक्षाको आवेदन माग
रोजगार अनुमति प्रणाली (इपिएस) दक्षिण कोरियामा गई काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन माग गरेको छ । सो शाखाले शुक्रबार सूचनामार्फत कोरियामा वैधानिक तरिकाले चार वर्ष १० महिना काम गरेर फर्किएका श्रमिकका लागि पुनः पठाउने गरी आवेदन माग गरेको हो । सो शाखाका अनुसार पुनः दक्षिण कोरिया जान चाहनेले आउँदो साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने छ । कोरिया भाषाको परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ भने यसको नतिजा आउँदो असोज ३ गते सार्वजनिक गरिने सो शाखाले जनाएको छ ।
अठसट्ठी प्रतिशत मात्र रोपाइँ
असार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको छ । जब कि गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको थियो । अर्थात् गत वर्षको तुलनामा अझै २० प्रतिशत रोपाइँ कम भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले साउनको अन्तिमसम्ममा ९५ प्रतिशत रोपाइँ हुने दाबी गर्नुभयो ।
भारतले चामल निर्यातमा लगायो रोक
भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।
थप ११ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स
ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २९ पुगेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबारको निर्णयानुसार थप ११ कम्पनीलाई लाइसेन्स दिइएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ । बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौँ), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौँ), आकाश भैरव सेक्युरिटिज (ललितपुर), पाही इन्भेस्टमेन्ट प्रालि (गोकर्णेश्वर–काठमाडौँ), एसपिएसए सेक्युरिटिज (बानेश्वर, काठमाडौँ) लाई ब्रोकर लाइसेन्स दिएको छ ।
दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।
आधुनिक कृषि खेतीले फेरियो जीवन
आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहिरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नु भएको छ। तर खेती गर्ने तरिका भने फरक छ।
विमानस्थल क्षेत्रको काठ बिक्रीबाट तीन करोड आम्दानी
उदयपुरमा सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि करिब १४ हजार सखुवाका रुखहरू कटान सम्पन्न गरी काठ दाउरा बिक्री गर्न सुरु गरिएको छ ।
सहकारीबाट लिएको ऋण तिर्न स्याङ्जाका पालिकाहरूको ताकेता
स्याङ्जाका पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकाहरूलाई तिर्न ताकेता गरेका छन् । जिल्लाको वालिङ, चापाकोट र भीर कोट नगरपालिकाले सूचना नै निकालेर ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्न अनुरोध गरेका हुन् ।