• २२ असार २०८१, शनिबार

सुक्न थाल्यो रोपेको धान

blog

सिराज खान 

नेपालगन्ज, साउन ७ गते । वर्षाको भरमा खेती हुने बाँकेमा पर्याप्त पानी नहुँदा रोपेको धान पनि सुक्न थालेपछि किसान चिन्तत भएका छन् । 

केही किसानका खेतबारी पानीको अभावमा अझै बाँझै रहेका छन् भने जसोतसो रोपाइँ गरेका अधिकांशको धान पनि वर्षा नहुँदा सुक्न थालेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले हालसम्म पनि जिल्लामा पर्याप्त वर्षा नभएकाले धेरै किसानका धान सुक्न थालेको बताउनुभयो । उहाँले सिक्टा सिँचाइ नहर वरिपरिको धानलाई कुनै प्रभाव नपरे पनि मोटरले पानी तानेर वा अन्य प्रविधिबाट रोपाइँ गरेका किसान खडेरीका कारण समस्यामा पर्न थालेको बताउनुभयो ।  प्रमुख अहमदले भन्नुभयो, “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएकाले किसान चिन्तामा छन्, केही दिन पानी परेन भने गम्भीर अवस्था हुने छ ।” 

बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन । खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । केन्द्रका अनुसार यस पटक पर्याप्त वर्षा नभएकाले बाँकेमा अहिलेसम्म सबैतिर रोपाइँ हुन सकेको छैन । बाँकेमा हालसम्म ७२ प्रतिशत मात्र रोपाइँ भएको छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ । आधा जतिमा अझै पनि धान खेतीका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले सो खेती समयमा हुन सकेका छैनन् ।