• १३ मंसिर २०८१, बिहिबार

सहकारीबाट लिएको ऋण तिर्न स्याङ्जाका पालिकाहरूको ताकेता

blog

राधाकृष्ण डुम्रे

वालिङ, साउन ५ गते । स्याङ्जाका पालिकाहरूले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकाहरूलाई तिर्न ताकेता गरेका छन् । जिल्लाको वालिङ, चापाकोट र भीर कोट नगरपालिकाले सूचना नै निकालेर ऋणी सदस्यहरूलाई समयमा नै ऋण चुक्ता गर्न अनुरोध गरेका हुन् । 

सहकारीबाट ऋण लिए पछि तिर्न नपर्ने वा नतिर्ने भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्तिहरू पनि आएकाले कोही कसैले आफूले लिएको ऋण तिर्न नपर्ने कल्पना गरेको भए त्यो आफैँमा प्रत्युत्पादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न हदै सम्मको कठोर कदम चालिने भन्दै पालिकाले नियमन क्षेत्राधिकार भित्र सहकारी संस्थाहरूको सम्पूर्ण ऋणी सदस्यहरूलाई समयमै आफूले लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न आग्रह गरेका हुन् । 

ऋणीहरूले साँवा ब्याज चुक्ता नगरेका कारण सहकारी संस्थाहरूमा सदस्यको बचत फिर्ता गर्न समस्या परेको भन्दै ऋण असुलीमा सहजीकरण गरिदिन सहकारीहरूले अनुरोध गरेकाले सूचना नै निकालेर यस्तो आग्रह गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो । पालिकाहरूले निकालेको सूचनामा सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र ऋणको साँवा, व्याज चुक्ता गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेको भन्दै आफूले लिएको ऋणको साँवा व्याज चुक्ता गर्न अनुरोध गरिएको छ । 

भीरकोट नगरपालिकाले सहकारीका ऋणी सदस्यहरूलाई आफुले लिएको ऋणको सावाँ व्याज भुक्तानी गर्न ताकेता गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाद्धारा जारी सूचनामा सहकारीबाट ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरूले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार भुक्तानी गर्न अनुरोध गरिएको छ । यस्तै चापाकोट नगरपालिकाले पनि सहकारीका ऋणी सदस्यहरूलाई आफूले लिएको ऋणको सावाँ ब्याज भुक्तानी गर्न ताकेता गरेको छ । 

सहकारीबाट ऋण लिई नियमित रूपमा किस्ता नबुझाउने, म्यादभित्र ऋणको साँवा ब्याज नबुझाउने ऋणीले आफ्नो संस्थाको सम्पर्कमा आई ऋण तिर्ने बुझाउन, सञ्चालक समितिसँग आवश्यक छलफल गर्न आग्रह गर्दै आफूले लिएको ऋणको किस्ता नियमित गर्ने र ऋणको साँवा ब्याज तोकिएको म्यादभित्र बुझाई आफू जस्तै अन्य सदस्यहरूको बचत रकम फिर्तामा सहयोग गरी आफ्ना सहकारी संस्थालाई समस्याग्रस्त हुनबाट बचाउन भन्दै पालिकाहरूले सक्रियता देखाएका हुन् ।