गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २० गते । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिक परिवारले लिने क्षतिपूर्ति दाबीका लागि स्थानीय तहमा आएका कागजातमा सनाखत गराएर मात्रै बोर्डमा पठाउन सचेत गराएको छ ।
काभ्रेमा एक दशकअघि आत्महत्या गरेको घटनालाई हाल वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको नक्कली कागजात बनाएर आर्थिक सहायताको दाबी गर्दै बोर्डमा निवेदन परेपछि सूचनामार्फत सचेत गराएको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले काभ्रेको घटनामा एउटै क्षतिपूर्तिमा चार/पाँच जनाले लगातार ताकिता गरेपछि उक्त घटनामा आशङ्का भएर बोर्डले स्थानीय पालिका र वडा प्रतिनिधिसँग फोन गरेर बुझ्दा सबै नक्कली भएको प्रमाणित भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त निवेदनका मुख्य योजनाकार मृतकका श्रीमान् र अन्य चार जना बिचौलियालाई हाल नेपाल प्रहरीको सिआइबीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । कार्यकारी निर्देशक उप्रेतीले अबका दिनमा यस्ता घटना नदोहोरिऊन् भनेर वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवार र विदेशमा अङ्गभङ्ग भएर आएका श्रमिकको अवस्था सनाखत गरेर मात्रै कागजात बोर्डमा पठाउन ७५३ पालिकामा पत्राचार गरेको जानकारी गराउनुभयो ।
वास्तविक पीडित आर्थिक सहायताबाट वञ्चित हुनु नपरोस् र नक्कली कागजात पेस गर्नेको पालिकाबाट सनाखत भएर कारबाही होस् भनेर कागजात सनाखतलाई प्राथमिकतामा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।
बोर्डले पालिकामा पत्राचार गरेको पत्रमा भनिएको छ, “वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) कागजात अपलोड गर्दा सम्बन्धित हकवालाको निवेदन लिई सबै कागजातमा सनाखत गराएर मात्रै अपलोड गर्नु पर्छ ।”
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायताबापत १० लाख रुपियाँ उपलब्ध गराउने गरिन्छ भने अङ्गभङ्ग भएका श्रमिकको अवस्थाका आधारमा अधिकतम १० लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।