धनगढी समाचारदाता
धनगढी, साउन १५ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं प्रमुख व्यापारिक केन्द्र धनगढी सहर चिटिक्क बनेको छ । प्लास्टिकको प्रयोग निषेधित धनगढी नियमित सरसफाइ र उपयुक्त रूपमा फोहोरमैला व्यवस्थापनका कारण चिटिक्क बनेको हो ।
धनगढीको छ लेन सडक, मुख्य बजार सडकदेखि अन्य सहायक सडक सफासुग्घर भएका छन् । सडकको मिडियनमा गरिएको वृक्षारोपणले सडक क्षेत्र हराभरा भइरहेका छन् । त्यहाँ फुलेका फूलले जोकोहीलाई मन्त्रमुग्ध बनाइरहेका छन् । सहरी क्षेत्रबाट निस्केको फोहोरमैला बिक्री गरेर धनगढी उपमहानगरपालिकाले आर्थिक आयआर्जनसमेत गरिरहेको छ ।
पहिले जताततै फोहोर भएको धनगढीले सरसफाइमा निकै फड्को मारेको धनगढी उपमहानगरपालिका–२ का हरिकृष्ण भट्टले बताउनुभयो । “विगतमा धनगढीको सडक किनारमै फोहोरको थुप्रो हुन्थ्यो । दुर्गन्ध आउँथ्यो,” उहाँले भन्नुभयो, “अहिले धनगढी सफा, सुग्घर भएको छ । सडकमा प्लास्टिक, कागजको टुक्रा पनि देखिँदैन ।”
छ लेन सडकमा ब्रुमर र रोड वासरले नियमित सरसफाइ गर्ने गरेको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । मेसिनले सरसफाइ गर्न नमिलेको सडकमा मान्छेबाट सरसफाइको काम भइरहेको जनाइएको छ । यसै गरी नगर प्रहरीले नियमित रूपमा अनुगमनका साथै सरसफाइसम्बन्धी नागरिकलाई सचेत पार्ने कार्य गरिरहेको वातावरण तथा खानेपानी सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिनुभयो । उहाँले धनगढी प्रवेश गर्ने यात्रुलाई जथाभाबी फोहोर नफाल्नका लागि समेत नगर प्रहरीले विभिन्न नाकामा दैनिक सचेत पार्ने कार्य गर्दै आएको बताउनुभयो ।
धनगढी उपमहानगरपालिका–१ देखि १३ सम्मका वडामा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ । यी वडाबाट मात्रै दैनिक ४३ टन फोहोर उत्पादन हुने गरेको जनाइएको छ । जसमध्ये हरेक दिन २१ टन फोहोर सङ्कलन गरेर त्यसलाई व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ । सङ्कलन गरिएको ७० प्रतिशत फोहोरमैला बिक्रीवितरण गरिरहेको अवस्थीले जानकारी दिनुभयो । “३० प्रतिशत फोहोरमैला मात्रै काम नलाग्ने देखिएको छ,” उहाँले भन्नुभयो, “यसलाई पनि बढीमा १० प्रतिशतमा झार्ने हाम्रो लक्ष्य छ ।”
धनगढी उपमहानगरपालिकामा सार्वजनिक स्थलमा फोहोर गर्न बन्देज गरिएको छ । त्यसरी फोहोर गर्नेलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७४ अनुसार जरिबाना गर्ने कार्य भइरहेको छ । सार्वजनिक स्थलमा फोहोर गर्नेलाई पहिलो पटकलाई पाँच हजार, दोस्रो पटक गरेमा १० हजार र तेस्रो पटक फोहोर गरेमा १५ हजार रुपियाँसम्म जरिबाना गर्ने गरेको जनाइएको छ ।
रोडमा हिड्ने बटुवाले आफूसँग भएका फोहोर फाल्नका लागि मेन बजार रोड, छ लेन सडकमा कुहिने र नकुहिने फोहोर राख्न मिल्ने निलो र हरियो रङका डस्टबिन राखिएको छ । यी डस्टबिन बटुवालाई प्रयोग गर्नका लागि राखिए पनि नगरवासीले घरको मिश्रित फोहोर ल्याएर डस्टबिनमा राखिदिने गर्नाले समस्या भइरहेको अवस्थीले बताउनुभयो ।
“त्यो डस्टबिन बटुवा वा बाहिरबाट आएका व्यक्तिलाई फोहोर फाल्नका लागि राखिएको हो,” उहाँले भन्नुभयो, “त्यसमा घरको फोहोर नमिसाउन म नगरवासीलाई आग्रह गर्दछु ।”