• १६ साउन २०८२, शुक्रबार

रानीजमराको जलसिञ्चन

blog

जलस्रोतमा ब्राजिलपछि विश्वमै धनी भनेर नेपाललाई चिनिन्छ । यो संसारले नै मान्दै आएको विषय भए पनि लामो समय यो पुस्तकी ज्ञानका रूपमा मात्र सीमित रह्यो । पानीको उपयोग चाहे जसरी समयमै प्रभावकारी रूपमा गर्न सकिएन । तराई मधेशका फाँटिला अन्न भण्डारमा बाह्रै महिना सिँचाइ सुविधा हुन सक्दा सुक्खा तथा खडेरीले केही गर्न सक्ने थिएन । दशकअघि नै १०/१५ हजार विद्युतीय ऊर्जा हुँदो हो त नेपालको आर्थिक समृद्धिको रेखाचित्र नै अलग हुने थियो । पिउने पानीमा पनि अनेकौँ सहर बजार काकाकुल हुनुपर्ने अवस्था विडम्बना हो । तथापि यताका वर्षमा केही आसलाग्दा काम पनि हुन थालेका छन् । रानीजमरा–कुलरिया सिँचाइ आयोजना यस्तै आसलाग्दो आयोजना हो । राष्ट्रिय गौरवको यो आयोजनाको दोस्रो चरण पूरा भएको छ  । आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु गरिएको यो आयोजनाको पहिलो चरण २०७४/७५ मै सम्पन्न भएको थियो । दोस्रो चरण २०८०/८१ मा सम्पन्न भई किसानको खेती सिञ्चन हुन थालेको छ । सिँचाइसँगै विद्युत् उत्पादनको यो बहुउपयोगी आयोजनासमेत हो । कैलाली जिल्लाको पूर्वी क्षेत्रको यो आयोजनाले सुदूरपश्चिमको अन्न भण्डारको उब्जाउमा अब ठुलो योगदान दिने छ । कैलाली र कञ्चनपुरमा मात्र राम्ररी सिँचाइ हुने हो भने कृषि क्षेत्रमा व्यापक परिवर्तन हुने छ । सदूरपश्चिम मात्र होइन, नेपालको पश्चिमी आवादीलाई नै खाद्य सुरक्षामा प्रभावकारी सहयोग हुने छ । त्यसका निम्ति थप रानीजमरा बन्नु पर्छ ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनामा ठुलो लगानी छ । यो आयोजनामा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँसँगै विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी छ । यो आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यसै गरी ४.७१ मेगावाटको विद्युत् उत्पादन पनि भएको छ । लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको यो आयोजनाले मलिलो फाँटलाई राम्रो उत्पादन दिने छ । थप शाखा र उपशाखा नहर बनेमा अरू छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ । आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर पुर्‍याउने लक्ष्य नै छ । आयोजना अझै निर्माणाधीन नै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको मङ्गलबार उद्घाटन गर्नुभयो । प्रधानमन्त्रीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको छ भन्नुभयो । उहाँले दुई ठुला दलको वर्तमान सरकारले स्थिरता, स्थायित्व कायम गर्ने गरी काम गरिरहेको स्पष्ट पार्नुभयो । अस्थिरताको खेती गरिरहने कतिपयको धुपध्वाँर नै राजनीतिक अस्थिरता छ । प्रधानमन्त्री ओलीले थप स्पष्ट पार्नुभयो, “देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ ।” सरकारको स्थिरतामै विकास र समृद्धि सम्भव भएकाले यसैतर्फ प्रधानमन्त्रीको अर्जुनदृष्टि स्पष्ट देखिन्छ । 

अन्नभण्डारको आशाको केन्द्र रानीजमरा आयोजनासँगै पूर्वाधारमा समेत व्यापक विस्तार भएको छ । यो आयोजनाका क्रममा कर्णाली नदीमा इन्टेक र बालुवा छान्ने सिडलिङ बेसिन बनेको छ । त्यसै गरी ७४.३७ किलोमिटर नहर, १०८ वटा पानी बाँडफाँट गर्ने रेगुलेटर, ७५ वटा पानी वितरण गर्ने संरचनासमेत बनेका छन् । त्यस क्षेत्रमा ३८१ वटा सानाठुला पुलले आवतजावत सहज भएको छ । त्यस्तै २४५ किलोमिटर ग्रामीण सडकको स्तरोन्नतिले विकासको पूर्वाधार थपेको छ । कर्णाली नदीमा ८० किलोमिटर तटबन्ध निर्माणले गाउँबस्ती सुरक्षित भएको छ । आयोजना निर्माणकै क्रममा कैलालीका टीकापुर, लम्कीचुहा, भजनी नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकाको छ हजार ४५१ हेक्टर जमिन नदी कटानबाट सुरक्षित हुँदै छ । आयोजनाले कृषि कार्यक्रमतर्फ कृषकको क्षमता विकास, कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र पशुपालनमा ठुलो परिवर्तन देखिन थालेको छ । सुनकोशी–मरिन डाइभर्सन, भेरी–बबई सिँचाइ आयोजना अगाडि बढेका छन् । यसो भनिरहँदा कर्णाली नदीमा अझै पनि छ । नदी नियन्त्रणका लागि कर्णाली किनारमा तारजालीमा ढुङ्गा भरेर बनाएको तटबन्ध भत्कने क्रम पनि देखिएको छ  । यसले पूर्वाधार निर्माणमा दिगोपनामा समेत ध्यान दिन सम्बद्ध निकायले ध्यान दिनु परेको छ । रानीजमराको जलरस कृषि अर्थतन्त्रका निम्ति ठुलो योगदान हो । यस्ता अनेकौँ रानीमजराका जलसिञ्चन सबै उब्जाउशील जमिनमा पुर्‍याउनु वाञ्छनीय छ ।