• १३ असोज २०८१, आइतबार

तीन वर्षदेखि नेपालगन्ज अध्यागमन कार्यालयको काम ठप्प

blog

नेपालगन्ज नाकास्थित अध्यागमन कार्यालय । तस्बिर: गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, साउन ६ गते । सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।

करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्नेहरूलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने गरेका छन् । अध्यागमन कार्यालय नेपालगन्जका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भए लगत्तै बन्द भएको भारतीय अध्यागमन कार्यालयले अहिलेसम्म सेवा दिन नसकेको बताउनुभयो । 

रानाले भन्नुभयो, ‘विदेशी पर्यटक धेरै जना आउनुहुन्छ, तर भारततर्फ काम नहुने भएकाले सुनवल लगायतका अन्य नाका जान सुझाव दिने गरेका छौँ । ’ हिउँदको समयमा धेरै विदेशी पर्यटकहरू नेपालगन्ज नाका भएर आउने गरेको कार्यालयले जनाएको छ । 

हाल अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ । 

आगमन र प्रस्थान स्वीकृतिका लागि भारतीय पक्षसँग बारम्बार आग्रह गर्दा पनि माथिको आदेश भन्दै कुनै पनि प्रकारको सेवा प्रवाह रोकेको अध्यागमन कार्यालयले जनाएको छ । भारतीय अध्यागमनले सेवा रोकेपछि नेपालगन्ज कार्यालयको सेवा करिब ठप्प भएको हो । 

आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका  १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । उनीहरू मध्ये अधिकांश विदेशबाट घर फर्किनुअघि पशुपतिनाथको दर्शन गरी घर फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । यसै गरी ३ जना नेपालीलाई नेपालगन्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।