• ११ मंसिर २०८१, मङ्गलबार

सुनको कारोबार ठप्प

blog

काठमाडौँ, साउन ७ गते ।  बजारमा सुनको कारोबार ठप्प अवस्थामा छ । सधैँ भिडभाड हुने नयाँ सडकका सुनचाँदी पसल साउन लागेसँगै सुनसान हुन थालेका छन् । मलमास लागेसँगै बजारमा सुनचाँदीको कारोबार ठप्प अवस्थामा रहेको सुन व्यापारी बताउँछन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हाल दैनिक पाँच किलो मात्र सुन वितरण हुने गरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मलमासका कारण र तीज असोज महिनामा परेकाले पनि सुनको कारोबार नभएको बताउनुभयो । साउन महिना अफ सिजन भएकाले पनि कारोबार न्यून हुने गर्छ, यो वर्ष चाडपर्व ढिला भएकाले पनि कारोबार ठप्प अवस्थामा रहेको उहाँको भनाइ छ । 

मुलुकमा देखापरेको आर्थिक सङ्कटका उपभोक्तासँग क्रयशक्ति नबढ्दा र मूल्य बढेकाले पनि कारोबारमा न्यून भएको व्यवसायीको भनाइ छ ।   

सुनचाँदीको कारोबार नभए पनि मूल्य भने फेरि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । गत जेठ महिनामा अन्तर्राष्ट्रिय बजारमा प्रतिदस ग्राम दुई हजार २२ डलर पुगेको सुनको मूल्य घटेर एक हजार नौ सय डलरमा झरेको थियो । 

हाल आएर क्रमिक रूपमा बढ्दै प्रतिदस ग्राम सुनको मूल्य एक हजार ९६० डलरमा पुगेको छ । चीन–अमेरिका बिचमा व्यापार युद्धको मूल्य बढेको व्यवसायी शाक्यको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा सेयर बजार घट्दै जानु, सुरक्षित लगानी क्षेत्र सुन भई लगानीकर्ता यस क्षेत्रमा आकर्षित हुन थालेपछि मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ । स्थानीय बजारमा बजारमा हाल प्रतितोला सुनको मूल्य एक लाख १२ हजार आठ सय रुपियाँ र चाँदी एक हजार ४८० रुपियाँ रहेको छ । सामान्य अवस्थामा आन्तरिक बजारमा एक अर्ब रुपियाँ बराबरको सुनचाँदीको कारोबार हुने गरेको छ ।