• १९ असार २०८२, बिहिबार

विपन्नका घरमा रङ्गीन जस्तापाता

blog

तीनपाटन गाउँपालिकामा खरको छानो हटाएर जस्तापाताले छाएको बस्ती । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार १९ गते  । दुधौली नगरपालिका–१३, अरुणठाकुर निवासी विपन्न समुदायकी नन्दमाया कटुवालले यो वर्ष घरको छानोबाट खर हटाएर रातो जस्तापाता लगाउनुभएको छ । 

गाउँका अन्य हुनेखाने व्यक्तिको जसरी आफ्नो घरको छानो पनि रातो जस्तापाताले टल्किँदा उहाँ खुसीले फुरुङ्ङ हुनुभएको छ । “गाउँको बिचमा आफ्नो मात्रै घरमा फुसको छानो देख्दा निकै कमजोरी महसुस हुन्थ्यो, अहिले त्यो पनि हटेको छ,” उहाँले भन्नुभयो, “छिमेकमा कसैको घरमा खरको छानो देख्दिनँ । अब भने यो वर्षबाट अरू सरह आफ्नो घरको छानो पनि देख्दा निकै खुसी लागेको छ ।” घरमा जस्तापाता लगाएसँगै छानोबाट पानी चुहिने, आगालागी र हुरीबतासको जोखिम घटेको कटुवालले बताउनुभयो ।

छानो फेर्ने रहर भएर पनि आर्थिक अवस्था कमजोर भएकाले जस्तापाता लगाउन नसकेको अवस्थामा सहरी विकास तथा भवन कार्यालयले छानो फेरिदिएपछि उहाँ ढुक्क हुनुभएको छ । बागमती प्रदेशको जनता आवास कार्यव्रmम अन्तर्गत उक्त कार्यालयले जस्तापाता खरिद गर्न नन्दमायालाई दुई किस्तामा ६० हजार रुपियाँ सहयोग गरेपछि उहाँको घरमा रङ्गीन जस्तापाता टल्किएको हो । 

जनता आवास कार्यव्रmम अन्तर्गत सिन्धुली जिल्लामा दुधौली नगरपालिकासहित तीनपाटन, फिक्कल, गोलन्जोर, सुनकोशी, हरिहरपुरगढी र घ्याङलेख गाउँपालिकामा घरको छानोबाट खर हटाउने अभियान सञ्चालन भइरहेको छ । यी पालिकामा गत वर्ष र यो वर्ष गरी एक हजार २८६ घरबाट खरको छानो हटाई रङ्गीन जस्तापाता लगाएको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सबै घरबाट खरको छानो हटाएर जस्तापाता लगाएपछि दुधौली नगरपालिका–१३, अरुणठाकुरलाई केही दिनअघि एक समारोहबिच खरको छानोमुक्त वडासमेत घोषणा गरिएको छ । तीनपाटन गाउँपालिका–३, ७, ८, १० र ११ का घर पनि खरको छानोमुक्त भइसकेका तर घोषणा गर्न बाँकी रहेको छ । 

स्वीकृत वार्षिक कार्यव्रmम अन्तर्गत ती पालिकामा गत आर्थिक वर्ष २०८०/८१ मा ५३८ घरमा र चालु आव २०८१/८२ मा ७४८ घरमा खरको छानो हटाई रङ्गीन जस्तापाता लगाएको कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जस्तापाता लगाई घरबाट खरको छानो हटाउन एक हजार २८६ जनाले सम्झौता गरेका छन् ।

“छानोमा जस्तापाता लगाउन एक जना लाभग्राहीले दुई किस्तामा गरी ६० हजार रुपियाँ पाउँछन्,” कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, “सम्झौता गर्नेबित्तिकै पहिलो किस्ता ३० हजार रुपियाँ र बाँकी काम सकिएपछि पाउँछन् । उक्त रकम जस्तापाता लगाउन पर्याप्त देखिएको छ ।”

दुधौली नगरपालिकामा १७६, तीनपाटन गाँउपालिकामा ५१९, फिक्कल गाउँपालिकामा ११५, गोलन्जोरमा २६१, सुनकोशीमा ६१, हरिहरपुरगढीमा १५० र घ्याङलेख गाउँपालिकामा सात जनाले छानोबाट खर हटाई जस्तापाता लगाउन सम्झौता गरेका सबैले घरको छानोमा जस्तापाता लगाइसकेको कार्यालयले जनाएको छ ।