• १९ असार २०८२, बिहिबार

इजरायलबाट आउन थाल्यो सम्झौतापत्र

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १९ गते । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा दोस्रो चरणमा सहायक श्रमिक (केयरगिभर) करार सम्झौतापत्र आएको छ ।  


वैदेशिक रोजगार विभागले इजरायलमा युद्धको त्रास कम भएसँगै यसअघि इजरायलमा केयर गिभरमा जान छनोट भएकामध्ये ६६ जनाको करार सम्झौतापत्र आएको जनाएको हो । विभागले दोस्रो चरणमा केयर गिभरमा जान छनोट भई करार सम्झौतापत्र आएका उम्मेदवारलाई असार २० गते भिसा प्रक्रियाका लागि विभागमा उपस्थिति हुन जानकारीसमेत गराएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले इजरायल र इनरानबिचको युद्ध चर्किएपछि रोकिएको इजरायल जाने प्रक्रिया केही दिनयता युद्धको त्रास कम भएसँगै पुनः करार सम्झौतापत्र आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अब रोकिएका सबैको करार सम्झौतापत्र क्रमशः आउँछ । दोस्रो चरणमा केयरगिभरमा जान छनोट भएका गत फागुनको दोस्रो सातादेखि जान थालेका हुन् ।  वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा केयर गिभरमा जान छनोटका सबै प्रक्रियासहित स्वास्थ्य परीक्षणमा सफल भएका ९२३ श्रमिकमध्ये ५५० जना करार सम्झौतापछि इजरायल उडेका छन् । 

पहिलो लटमा छ सय महिला र चार सय पुरुष गरी एक हजार जनाको स्वास्थ्य परीक्षण गरेकोमा ९२३ जना स्वास्थ्य परीक्षण सफल भएका र पूर्वप्रस्थान अभिमुखीकरण तालिमसमेत लिई इजरायल जाने रोस्टरमा छन् । तिनैको करार सम्झौता आउने क्रम जारी रहेको छ ।