• २ जेठ २०८१, बुधबार

झ्याप् झ्याप् विद्युत जाने समस्याले हैरान उपत्यकावासी

blog

विद्युत् प्राधिकरणले केही प्राविधिक समस्या बाहेक विद्युत् अवरुद्ध नहुने बताएकाले मानिसले विद्युतीय उपकरणको वैकल्पिक उपाय रोजेका थिएनन् ।

काठमाडौं, साउन ७ गते । काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत् जाने समस्या दाेहोरिएको छ । कीर्तिपुरका विनोद थापा खाना पकाउने समयमा विद्युत् जाँदा अप्ठ्यारो परेको बताउनुहुन्छ । उहाँ जस्तै उपत्यकावासीले यो हैरानी खेप्नुपरेको छ । 

उहाँले भन्नुभयो, “बेलुका खाना पकाउने समयमा विद्युत् जाँदा समस्या भइरहेको छ । खाना पकाउन विद्युतीय चुलाे प्रयोग गर्ने गरेको छु । विद्युतको अनियमितताका कारण समयमा खाना पकाउन नै पाएको छैन। पछिल्ला केही दिनमा यो क्रम बढेको छ ।” 

विद्युत् नियमित आउने भएर ग्याँस सिलिण्डर बेचेर विद्युतीय चुलो किन्नुभएका उहाँलाई विद्युत् अनियमित भइरहँदा समस्या भएको छ । उहाँ त एक प्रतिनिधि पात्र मात्र हो । यो समस्या अहिले काठमाडौं उपत्यकाका सबै भूभागका कुनै न कुनै नागरिकले भोग्ने समस्या बनेको छ । 

विद्युत् प्राधिकरणले केही प्राविधिक समस्या बाहेक विद्युत् अवरुद्ध नहुने बताएकाले मानिसले विद्युतीय उपकरणको वैकल्पिक उपाए रोजेका थिएनन् । तर, समय समयमा विद्युत् अवरुद्ध हुँदो मानिस हैरानी खेप्न बाध्य छन् ।  

विद्युतको आपूर्ति अनियमित  हुँदा कतिपय कार्यालयका नियमित काम प्रभावित भएका छन् । अहिले धेरै कार्यालयमा विद्युतका अन्य वैकल्पिक उपकरणको प्रयोग नभएकाले काम प्रभावित भएको छ । 

नेपाल विद्युत प्राधिकरणले यस सम्बन्धमा आफूहरु जानकार रहेको जनाएको छ । भोल्टेज पर्याप्त मात्रामा नपुग्दा यो समस्या आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सुपरभाइजर कृष्णबहादुर मोतेका अनुसार विद्युतको खपत बढी हुने गरेको र सोही मात्रामा भोल्टेज नपुगेकाले बेला–बेला विद्युत अवरुद्ध हुने गरेको छ । उहाँले भन्नुभयो, “अहिले बेला बेला उपत्यकामा विद्युत् जाने समस्या साँचो हो । माग बमोजिमको भोल्टेज नपुग्दा यस्तो हुने गरेको छ ।”

प्रयाप्त सबस्टेसन नहुँदा समस्या 

अहिले पर्याप्त मात्रामा सबस्टेसन नहुँदा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सुपरभाइजर मोतेका अनुसार भोल्टेज नपुग्नुको मुख्य कारण सबस्टेनको समस्या नै हो । 

अहिले उपत्यकाका तीन जिल्लामा १० वटा मात्र  सबस्टेसन छन् । उपत्यकामा १० वटा  सबस्टेसनले धान्न नसक्ने भएकाले अझै २० वटा सबस्टेसनहरु थप्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । अहिले नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन भए पनि प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले आपूर्तिमा समस्या भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले नेपालमा विद्युतको उत्पादन बढेको छ । तर, पर्याप्त मात्रामा सबस्टेसन र प्रसारण लाइनको अभाव भएकाले माग भएजति विद्युत् आपूर्ति गर्न भोल्टेजको समस्या भएको छ ।” भोल्टेज मिलाउनका लागि कुनै स्थानमा विद्युत् केही बेर बन्द गरेर यसको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

प्राधिकरणले शनिवार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गरेकाले अब भने  उपत्यकामा यो समस्या केही रुपमा समाधान हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शनिवार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गरेकाले अब भने पटक पटक विद्युत् अवरुद्ध हुने समस्या केही समाधान हुनेछ । ”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।