जनार्जन खत्री
सर्लाही, चैत २२ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारका सदस्यले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् ।
गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बिआर ३० एपी ३०३७ नम्वरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते हुनुभएको थियो ।
ठाकुरलाई बयलवासमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन बेलुकापख मृत्यु भएको थियो ।
दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानून बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्छो छोरा सञ्जित शर्माले गुनासो गर्नुभयो । मृतकको परिवारले शनिबार पत्रकार सम्मेलन गरी क्षतिपूर्ति रकम नपाएको गुनासो व्यक्त गर्नुभयो ।
दुर्घटनापछि पक्राउ परेका मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका –३, बर्कुरवाका २० वर्षीय बिशाल महतो सर्लाही जिल्ला अदालतको आदेशअनुसार एक लाख रुपियाँ धरौटी बुझाएर हिरासतमुक्त भइसकेका छन् । मृतकको परिवारले मोटरसाइकल चालकको सवारी चालक अनुमतिपत्र नहुँदासमेत प्रहरीले सामान्य ढङ्गले मुद्दाअघि बढाएर उनलाई चाँडै हिरासतमुक्त गराउन सहयोग गरेको आरोप लगाएका छन् ।
प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का र पछि अदालतमा मुद्दा पेस गर्दा विवरण नै बढेको दावी गर्दै यस्तो कार्यमा संलग्न प्रहरीलाई कारवाही हुनुपर्ने मृतक शान्तिदेवीका छोरा सन्जितले पत्रकार सम्मेलनमार्फत माग गर्नुभयो । “हाम्रै आमाले ज्यान गुमाउनुभयो, उल्टै हामीलाई नै प्रहरी कार्यालयमा जाँदा चिन्दैनौँ भनिरहेका छन्” सन्जितले भन्नुभयो, “यो घटनामा अदालतसम्म फाइल लैजाँदा प्रहरीले पनि गडबड गरेकाले कारवाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।”
प्रहरीले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकम बापतको पाँच लाख रुपियाँ र किरिया खर्चबापत प्राप्त गर्ने ५० हजार रुपियाँ जिल्ला प्रशासन कार्यालयमा गएर लिन सक्ने बताएको छ । इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नितेशकुमार सिंहले ३५ दिन हिरासतमा बसेपछि अदालतको आदेश अनुसार अदालतमा एक लाख धरौटी बुझाएर छुटेका चालकले जिल्ला प्रशासन कार्यालयमा पाँच लाख ५० हजार रुपियाँ धरौटी राखेकाले सो रकम मृतकको परिवारले नै प्राप्त गर्ने बताउनुभयो ।
उहाँले मृतकको परिवारलाई क्षतिपूर्ति रकम लिन कसैको प्रभावमा परेर यताउता जानुभन्दा आवश्यक कागजात लिएर सोझै जिल्ला प्रशासन कार्यालयमा जान आग्रह गर्नुभएको छ । इन्स्पेक्टर सिंहले भन्नुभयो, “उहाँहरु यताउता दौडने र कसैको प्रभावमा पर्नेभन्दा सिडिओ कार्यालय जानुभयो भने क्षतिपूर्ति रकम पाउनुहुन्छ ।”