• ११ मंसिर २०८१, मङ्गलबार

भाषा परीक्षाको आवेदन माग

blog

काठमाडौँ, साउन ६ गते । रोजगार अनुमति प्रणाली (इपिएस) दक्षिण कोरियामा गई काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन माग गरेको छ । सो शाखाले शुक्रबार सूचनामार्फत कोरियामा वैधानिक तरिकाले चार वर्ष १० महिना काम गरेर फर्किएका श्रमिकका लागि पुनः पठाउने गरी आवेदन माग गरेको हो ।  सो शाखाका अनुसार  पुनः दक्षिण कोरिया जान चाहनेले आउँदो साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने छ । कोरिया भाषाको परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ भने यसको नतिजा आउँदो असोज ३ गते सार्वजनिक गरिने सो शाखाले जनाएको छ । 

इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले दुई देशबिच भएको समझदारी अनुसार दक्षिण कोरियामा वैधानिक रूपमा काम गरेर फर्केका श्रमिकलाई पुनः काम गर्न पठाउने प्रक्रिया अनुरूप आवेदन खुला गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्र स्वैच्छिक रूपमा नेपाल फर्केका इच्छुक नेपाली युवाले आवेदन दिन सक्नुहुने छ । आवेदन दिन चाहनेको उमेर भने १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने सो शाखाले जनाएको छ । शाखाका अनुसार परीक्षा कम्प्युटरमा आधारित टेस्ट (सिबिटी) माध्यमबाट गरिने छ ।