• १९ असार २०८२, बिहिबार

विद्यार्थीलाई यातायात सुरक्षा प्रशिक्षण

blog

यातायात व्यवस्था कार्यालयले बर्दीबासमा आयोजना गरेको ट्राफिक ज्ञान तथा यातायात सुरक्षा कार्यक्रमका सहभागी विधार्थी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, असार १९ गते । एशियाली मापदण्डमा पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति भइरहेकोबेला बर्दीबासमा स्कुले विधार्थीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउन थालिएको छ । 

बर्दीबासस्थित यातायात ब्यवस्था कार्यालयले बर्दीबास नगरपालिका र जिल्ला ट्राफिकको समन्वयमा विहिबार नगर क्षेत्रका ३ वटा माध्यमिक विधालयका तीन सय बढी विद्यार्थीलाई एकै थलोमा समेटेर सैद्धान्तिक, प्रयोगात्मक तथा श्रव्यदृश्यको माध्यमले सडक सुरक्षाबारे जानकारी गराएको हो । 

कार्यक्रमको महत्त्वबारे प्रकाश पार्दै बर्दीबास नगर प्रमुख प्रहलाद क्षेत्रीले बर्दीबासलाई छोएको पूर्व–पश्चिम लोकमार्ग एशियाली मापदण्डअनुसार स्तरोन्नति भइरहेको अवस्थामा दुर्घटना न्यूनीकरणका लागि विद्यालय तहबाटै यातायात तथा ट्राफिक ज्ञान आवश्यक भएको धारणा राख्नुभयो । बजार क्षेत्रमा पूर्वपश्चिम लोकमार्ग ६ लेनमा स्तरोन्नति हुने भएपनि भौगोलिक अवस्थितिले बर्दीबासमा ओभर व्रिज बन्ने सम्भावना नरहेकोले ट्राफिक ज्ञान थप आवश्यक भएको क्षेत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, "पूर्व–पश्चिम लोकमार्ग एसियाली मापदण्ड अनुसार स्तरोन्नति भइरहेकोले सुरक्षित यात्राका लागि ट्राफिक नियमप्रतिको सचेतना झनै आवश्यक भएको छ ।"

यातायात विज्ञ पोषण थापाले विद्यार्थी केवल सिक्ने मात्र नभई सूचनाका संवाहकसमेत भएकाले उनीहरूले सीकेका ट्राफिक ज्ञानबाट परिवार, समुदाय र समाजमा सचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

थापाले भन्नुभयो, "समाजलाई जागरण गर्ने यस्ता अभियानले दुर्घटना न्यूनीकरणमा ठुलो योगदान पुग्न सक्छ ।" जिल्ला ट्राफिक कार्यालय महोत्तरी प्रमुख लक्ष्मीराज जोशीले विद्यार्थीलाई सडक पार गर्ने तरिका, सवारी साधनको सुरक्षित प्रयोग, ट्राफिक सङ्केतहरूको महत्त्वलगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

सो क्रममा सहभागी छात्रछात्राले यातायात सुरक्षा, ट्राफिक नियम र सडक अनुशासनबारे राखेका एकपछि अर्को जिज्ञासाले कार्यक्रमलाई जीवन्त पारेको थियो । आयोजक यातायात व्यवस्था कार्यालय बर्दीबासका प्रमुख राजकिशोर साहले चार वटा राजमार्ग तथा सडक सञ्जालको सुविधा रहेको बर्दीबासमा सचेतना कार्यक्रमले यात्रु, अभिभावक तथा विद्यार्थीमाझ सुरक्षित यात्रा र ट्राफिक नियम पालनाको महत्त्व बढाउने विश्वास व्यक्त गर्नुभयो ।