काठमाडौँ, असार १८ गते । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति तथा व्यवस्थापनका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारी यस्तो बताउनुभएको हो ।
अगामी आर्थिक वर्षको मल आपूर्तिको कार्य योजना तयार भइसकेको सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेन्डर आह्वान समेत भइसकेको उहाँले बताउनु भयो । उहाँले उन्नत बिउ तथा बिउ विजनको आपूर्तिका लागि नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरूमार्फत उत्पादन गरिएका बिउहरू कृषक समूह, सहकारी संस्था र निजी कम्पनीमार्फत उपलब्ध गराइँदै आएको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘अगामी आर्थिक वर्षमा मल आयात गर्नको लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । अगामी आर्थिक वर्षको मल आपूर्ति तथा व्यवस्थापनको कार्य योजना तयार भइसकेको छ र सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेन्डर समेत आह्वान भइसकेको छ ।
उन्नत बिउ विजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरूबाट विकास गरिएका मूल बिउ र उन्नत बिउहरू बिउ उत्पादक समूह, सहकारी, कृषकहरू, निजी कम्पनीहरूलाई उपलब्ध गराइएको छ । बिउ उत्पादन तथा व्यवस्थापनमा हाल निजी क्षेत्रलाई बढी जिम्मेवार बनाइएको छ ।
स्वदेशी र स्थानीय बिउको प्रवर्द्धनका लागि विभिन्न एक सय ८० वटा स्थानीय तहका कृषकहरूलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको छ ।’ उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादकत्व वृद्धिको लक्ष्य र कृषकको आत्मनिर्भरताका लागि बजेटका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।