कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।
राणाकालीन समयमा बनेको करिब दुई सय वर्ष पुरानो संसद् (ग्यालरी बैठक) भवन पुनर्निर्माणका लागि कात्तिक भित्र टेण्डर खोल्ने तयारी भएको छ ।
जनै पूर्णिमामा खपत हुने जनैको अधिकांश उत्पादन नेपालमै हुनेगरेको छ । जनैपूर्णिमामा शास्त्रीय मान्यताअनुसार बैदिक बिधिबाट बनाएको जनैको प्रयोग बढी हुनेगरेको छ ।
आर्थिक बर्ष २०७८-७९ बाट सुरु भएको ‘पढ्दै, कमाउँदै’ कार्यक्रम अहिलेसम्म २४० विद्यालयमा लागू भएको छ । सुरुमा परीक्षणका रुपमा १४४ विद्यालयमा प्रारम्भ भएको कार्यक्रम गतबर्ष १०० विद्यालय थप गरी २४४ विद्यालय पुगेका थिए । तर,चार विद्यालयले कार्यक्रम स्गगन गरेकाले अहिले २४० विद्यालयमा मात्र सञ्चालन भएको छ ।
हिजो बुधबारबाट देशैभर पानी परिरहेको छ । मनसुनी न्यूनचापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ सरेकाले अहिले देशभर बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको हुलाकी राजमार्गको ६० प्रतिशत काम सम्पन्न भएको छ । आर्थिक वर्ष २०६६-०६७ मा निर्माण सुरु भएको यस आयोजनाको निर्माण कार्य २०७९-०८० मा सकिने भनिएपनि निर्धारित मितिमै नसकिने भएपछि सरकारले संशोधन गर्दौ आर्थिक वर्ष २०८३-०८४ मा सक्ने जनाएको छ ।
देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने रोपिएका धानबालीका लागि मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ ।
सरकारले जग्गा कित्ताकाट खुला गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित भू–उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको हो।
यो वर्ष साउन सकिँदासमेत धान रोपाइँ सकिएको छैन। साउन ३० गतेसम्म ८७ प्रतिशत मात्र धान रोपाइँ भएको छ।
२०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
काठमाडौं, साउन २६ गते। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको असर नेपाली बजारमा देखिएको छ। निर्यातको प्रतिबन्ध लगाएको तीन हप्ता बित्न नपाउँदै २५ केजी चामलमा एक सयदेखि दुई सय रुपियाँसम्म व्यापारीले मूल्य बढाएका छन्। भारतले गत साउन ४ गतेदेखि बासमतीबाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिएको हो। अनुगमनमा पुगेका सरकारी अधिकारीले व्यापारीले मूल्य बढाएर चामल बिक्री गरेको पाइएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार उपभोक्ताको गुनासो आएपछि बजार अनुगमन गर्दा २५ किलो चामलमा डेढ सयदेखि दुई सय रुपियाँ मूल्य बढाएको पाइएको हो। प्रवक्ता भट्टराईले भन्नुभयो, “उपभोक्ताले बजारबाट चामल खरिद गर्दा धेरै ठगियौँ भनेर गुनासो गरेपछि अनुगमन गर्दा थोक बिक्रेताबाट नै बढेर आएकाले बढाउनुपरेको व्यापारी बताउँछन्।’’थोक तथा खुद्रा व्यापारीको छाता सङ्गठनका प्रमुखसँगको छलफलमा भारतमा धानको मूल्य प्रतिकेजी तीन रुपियाँ बढेकाले नेपालमा पनि चामलको मूल्य बढेको बताएको उहाँको भनाइ छ। बजारमा नियमित अनुगमन भइरहेकाले मूल्य बढेको पाइए कारबाही हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो , “बजारमा नियमित अनुगमन भइरहेको छ। धेरै नै मूल्य वृद्धि भएको पाइए उपभोक्ता संरक्षण ऐन अनुसार नै कारबाही गरिनेछ।” व्यवसायीले भारतबाट धान ल्याएर नेपालको मिलमा कुट्दा ढुवानी बढी लाग्ने र सात प्रतिशत धान नष्ट हुने भएकाले मूल्य केही बढाउनुपरेको व्यवसायीले बताएका छन्। यता खाद्य,किराना व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्र श्रेष्ठले चामलको मूल्य ५० देखि १०० रुपियाँ बढेको साँचो रहेको बताउनुभयो। व्यापारीले भने भारतमा धानको मूल्य बढेकाले ढुवानी भाडा जोडेर चामल बिक्री गरेको बताएका छन्। उहाँले भन्नुभयो, “चामलको मूल्य ५० देखि १०० रुपियाँसम्म बढेको साँचो हो। भारतमा नै धानको मूल्य बढेको र नेपालमा ल्याएर कुटानी पिसानी गर्दासम्म सात प्रतिशत चामल नष्ट हुने भएकाले मूल्य थोरै बढेको हो।” तर, धेरै मात्रामा मूल्यवृद्धि भने नभएको उहाँको भनाइ छ। चामल निर्यात रोकेको भारतले धान निर्यातमा भने रोक लगाएको छैन। ९३ हजार क्विन्टल चामल मौज्दात सरकारसँग अहिले ९३ हजार क्विन्टल चामल मौज्दात छ। खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेका अनुसार चामलको आपूर्ति खलबलिएको बेलामा वितरण गर्नको लागि मौज्दात राखिएको हो। उहाँले भन्नुभयो, “चामलको आपूर्ति खलबलिएको बेलामा वितरण गर्न मौज्दात गरिएको हो। तर खाद्य व्यवस्था कम्पनी लिमिटेडले मात्र सम्पूर्ण माग धान्न सक्दैन।” यस मौज्दातले तत्कालको अवस्था मात्र धान्न सक्ने भएकाले लामो समयसम्म भारतले निर्यातमा प्रतिबन्ध लगाए अरु विकल्प सोच्नुपर्ने उहाँले बताउनुभयो। अब चाँडै चामल आपूर्ति गर्नका लागि टेण्डर खोल्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ। प्रतिबन्ध फुकुवाका लागि वार्ता भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवाका लागि वार्ता भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीका अनुसार निर्यात प्रतिबन्ध फुकुवाका लागि मौखिक कुराहरु भएकाले लामो समय प्रतिबन्ध हुँदैन। उहाँले भन्नुभयो, ‘‘भारत सरकारसँग चामल आयात प्रतिबन्ध फुकुवा गर्नका लागि निरन्तर कुरा भइरहेको छ। अहिले निर्णय नभए पनि प्रतिबन्ध नलम्बिने देखिन्छ।’’ तत्काल नेपालमा चामलको अभाव नभएको र यसअघि नै आयातको प्रक्रियामा रहेको खरिद प्रक्रियामा रहेको चामल आउन बाँकी रहेकाले आवश्यकताभन्दा बढी भण्डारण नगर्न सहसचिव तिवारीले अनुरोध गर्नुभएको छ।
यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो ।
निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसँगत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पुरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै वाधा नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताउनुभयो । नियामनुसार प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी रोक्ने अधिकारी सरकारलाई नभएको उहाँले बताउनुभयो ।
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर घटेपनि काठमाडौं उपत्यकामा भने भाडादर घटेको छैन ।