• १७ जेठ २०८१, बिहिबार

मनसुनको दुई महिना : ७२ को मृत्यु, नौ अर्ब २९ करोड क्षति

blog

काठमाडौं, भदौ ६ गते । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । ११५ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङबाट २१ जनाको ज्यान गएको छ । भारी बर्षाका कारण दुई जनाको ज्यान गएको उहाँले बताउनुभयो । खड्काका अनुसार मनसुनका कारण नौ अर्ब २९ करोड बराबरको क्षति भएको छ । 

चट्याङ्ले सबैभन्दा बढी घाइते भएका छन् । यसबाट ४३ जना घाइते भएको देखिएको छ । पहिरोबाट ४० जना घाइते हुँदा बाढीबाट पाँच जना घाइते भएका छन् । भारी बर्षाका कारण १२ जना घाइते भएका छन् ।

पहिरोबाट सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ । बाढीबाट ११ जनाको ज्यान जाँदा चट्याङ्बाट २१ जनाको ज्यान गएको छ । 

सबैभन्दा बढी बाढीबाट बेपत्ता भएका छन् । बाढीबाट २० जना बेपत्ता हुँदा पहिरोबाट नौ बेपत्ता छन् । नेपालमा मनसुन भित्रिएसँगै पूर्वमा ठुलो पानी परेकाले त्यहाँ धेरै क्षति भएको छ । उहाँले भन्नुभयो, ‘‘यसपालिको मनसुनको दुई महिनाको क्षतिलाई विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति पहिरोबाट भएको छ । बाढी र पहिरोले पूर्वी भागमा क्षति पनि बढी भएको छ ।’’ 

साढे २९ करोड बढी निजी सम्पत्ति क्षति 

मनसुनजन्य गतिविधिका कारण दुई महिना बित्दा २९ करोड बढी निजी सम्पत्तिको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता खड्काका अनुसार अहिलेसम्म बाढी, पहिरो तथा चट्याङ्का कारण २९ करोड ८२ लाख बराबरको क्षति भएको हो । जसअन्तर्गत बाढीबाट २५ करोड १० लाख बराबरको क्षति भएको तथ्याङ्क छ । पहिरोबाट चार करोड ५० लाख बराबरको निजी सम्पत्ति क्षति हुँदा चट्याङबाट २२ लाख ४४ हजारको क्षति भएको उहाँको भनाइ छ ।

सडकमा ४० करोड बढी क्षति 

प्राधिकरणका प्रवक्ता खड्काका अनुसार मनसुन सुरु भएदेखि अहिलेसम्म ४० करोड बढीको क्षति भएको छ । यो तथ्याङ्क देशका मुख्य–मुख्य सडकको हो । बाढीपहिरोले भित्री सडकमा पनि क्षति पुगेको छ । सबै विवरण आइनसकेको खड्काको भनाइ छ । पहिरोसँगै आएको बाढीले बगाएको सडकलाई तत्काल अस्थायी संरचना बनाएर सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मनसुन सुरु भएसँगै देशका मुख्य सडकमा ४० करोडभन्दा बढीको क्षति भएको छ । सहायक राजमार्गमा भएको क्षतिको विवरण आइसकेको छैन ।’’ सो क्षेत्रमा भएको क्षतिको विवरण जोड्ने हो भने सडकमा मात्र ५० करोड रुपियाँ जतिको क्षति भएको देखिन्छ ।

यस्तै, १२ वटा मोटरेबल पुल बगाउँदा १२ करोड जतिको क्षति भएको छ । २२ वटा झोलुङ्गे पुलमा क्षति हुँदा २२ करोडको क्षति भएको उहाँको भनाइ छ  । सङ्घीय आयोजना अन्तर्गतका २८ वटा खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड बराबरको क्षति भएको तथ्याङ्क छ । 

विद्युत आयोजनामा नौ अर्बको क्षति 

प्राधिकरणका प्रवक्ता खड्काका अनुसार पहिरो तथा बाढीका कारण ४६० मेगावाटका ६१ जलविद्युत आयोजनामा नौ अर्बको क्षति भएको छ । निर्माणाधीन ३२७.८३ मेगावाट आयोजनाका १७ आयोजनामा दुई अर्ब ६२ करोडको क्षति भएको छ । यस्तै सञ्चालनमा रहेका १३२.७४ मेगावाटका १३ वटा आयोजनामा पाँच अर्ब ९२ करोड बराबरको क्षति भएको उहाँको भनाइ छ । लघु जलविद्युत् ४९६.५ किलोवाटका २१ वटा आयोजनामा ४५ करोड जतिको क्षति पुगेको छ ।

मनसुन बाहिरिन समय लाग्ने

नेपालमा मनसुन प्रवेश गरेपछि सरदर ११२ दिनसम्म रहन्छ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनले करिब ७० दिन पार गरेको छ । नेपालमा यो मनसुन अझ सरदर ४२ दिन रहने देखिन्छ । मनसुन अझै रहिरहने भएका कारण क्षतिको विवरण पनि अझ बढ्न सक्ने प्राधिकरणका प्रवक्ता खड्काको भनाइ छ । 

अझै तीन दिन देशभर हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको छ । 

यता, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुनको समय अझ रहेका कारण बर्षाको सम्भावना यथावत रहने भएका कारण बाढी तथा पहिरोका घटनाहरु बढ्न सक्नेछन् । त्यसकारण आवश्यक सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ । 

मनसुनी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ रहेकाले अझै तीन दिन देशभर हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।