• ७ जेठ २०८१, सोमबार

ललितपुर महानगरपालिका

‘स्मार्ट स्ट्रिट लाइट’ जडानले चोरी घट्दो, रात्री व्यवसाय फस्टाउँदै

blog

काठमाडौँ, असोज ७ गते । ललितपुर महानगरपालिकाका मुख्य–मुख्य १२ चोकमा स्मार्ट स्ट्रिट लाइट जडानसँगै चोरी डकैतीमा कमी आएको प्रहरीले जनाएको छ । रात्रि लाइट जडानले रात्रि जीवन र व्यवसायसमेत फस्टाएको स्थानीय व्यपारीहरुको भनाइ छ । 

अध्यकार हुँदा रात्रि जीवन सुनसान बन्ने गरेको थियो भने लाइट जडानले सहज र सुधार भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । ललितपुर महानगरपालिकाभित्रका अधिकांश सडकहरू हिजोआज राति झिलिमिली हुन्छन् । तर ललितपुरसँगै जाेडिएको काठमाडौंं महानगरमा भने सडक बत्ती पर्याप्त नभएकाले राति अन्धकार हुन्छन् ।  

ललितपुर महानगरले उज्यालो अभियान अन्तर्गत ‘स्मार्ट स्ट्रिट’ लाइट जडान गरेपछि महानगरभित्रका सडकहरू साँझमा झलमल्ल भएका हुन । महानगरको चक्रपथ भित्रको कोर एरिया र बाहिरका क्षेत्र सडक बत्तीले उज्यालिन्छन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरले सडक बत्ती जडान गरेपछि स्थानीयले सुरक्षित महसुस गरेको बताउनुभयो । उहाँका अनुसार सडक बत्ती जडानपछि सडकमा हिँडडुल गर्न सुरक्षित भएको छ । महर्जनले भन्नुभयो, “सडक बत्ती जडानपछि स्थानीयले सुरक्षित महसुस गरेका छन् । सडकमा हिँडडुल गर्न पनि सुरक्षित भएको छ ।”

सडक बत्ती जडानपछि गल्लीहरू उज्यालो हुने भएकाले राति अबेरसम्म हिँडडुल गर्ने मानिसलाई ढुक्क भएर हिँड्न सकिने उहाँको भनाइ छ । रातिमा सडक झलमल्ल भएपछि महानगरभित्र हुने चोरी डकैतीमा कमी भएको उहाँको भनाइ छ । सडक बत्तीले सहायताले सिसिटिभी क्यामेराले रातको समयमा पनि पूर्ण रुपमा काम गरेको महर्जनको भनाइ छ ।

महानगरले पहिलो चरणमा कुपण्डोलदेखि मङ्गलबजारसम्मको क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको महर्जनले बताउनुभयो । यस्तै दोस्रो चरणमा लगनखेलदेखि झम्सीखेल हुँदै सात दोबाटोसम्म बत्ती जडान गरिएको छ । 


काठमाडौँ महानगरले महानगरभित्रका मुख्य सडक र सहायक सडकहरूमा स्मार्ट ‘स्ट्रिट लाइट’ जडान गर्ने योजना बनाए पनि अहिलेसम्म जडान गर्न सकेको छैन । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरले स्मार्ट स्ट्रिट लाइट जडान गर्ने योजना दुई वर्षदेखि बने पनि अहिलेसम्म पूरा हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत र काठमाडौँ महानगरको ६० प्रतिशत आर्थिक लगानीमा स्ट्रिट लाइट जडान गर्ने योजना रहे पनि अहिलेसम्म सडक बत्ती बल्न सकेका छैनन् ।

२०७७ साल मङ्सिर २५ गते भएको सम्झौता अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका स्थानमा सडक बत्ती जडान गर्ने बताइएको थियो । १७ करोड लागतमा दुई हजार बिजुली बत्ती जडान गर्ने उल्लेख थियो । तर पछि महानगरले घर बहाल कर, सम्पत्ति कर बत्तीको स्वामित्व निकालेपछि रोकिएको थियो । 

मानन्धरका अनुसार सडक बत्ती जडान गर्ने महानगरले आगामी छ महिनाभित्र स्मार्ट स्ट्रिट लाइट जडानका लागि टेन्डर आह्वान हुनेछ । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको  स्मार्ट स्ट्रिट लाइट जडान प्राथमिकतामै छ । आगामी छ महिनाभित्र ठेक्का लागेर काम सुरु गर्ने योजनामा छौँ ।” लागत कति लाग्छ भन्ने यकिन भने नभएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।