• ३१ वैशाख २०८१, सोमबार

कृषिमन्त्रीको पाँच महिना : मल आयातदेखि चैतेधान उत्पादन वृद्धिसम्म

blog

पत्रकार सम्मेलनमा कृषिमन्त्री बेदुराम भुसाल ।

काठमाडौं, भदौ १७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । 

भुसालका अनुसार मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकता रासायनिक मलको आयात रहेको बताउनुभयो । मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पहिलो प्राथमिकता मल आयात नै रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मन्त्रालय सम्हालेपछि कृषिका लागि मुख्य समस्या रासायनिक मल नै हुने गरेकाले मेरो पहिलो प्राथमिकता नै मल आयात भएको हो । अहिले मल पर्याप्त मात्रामा आएको छ ।” 

मन्त्रालयसँग अहिले ५० देखि ६० हजार टन रासायनिक मल मौज्दात रहेकाले यस वर्ष रासायनिक मलको अभाव नहुने उहाँको भनाइ छ । केही स्थानीय तहमा मल वितरण प्रणालीमा कमजोरी भएकाले यसलाई सुधार्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।

यस्तै, पुराना कार्यक्रमका साथै नयाँ कार्यक्रमलाई पनि अगाडि बढाएको उहाँको भनाइ छ । इलाम, सुनसरी, रौतहट सर्लाही, काभ्रे, नुवाकोट, तनहुँ, पर्वत, अर्घाखाँची, कपिलवस्तु, दैलेख, कालिकोट, कैलाली र बैतडी जिल्लाका १६१ पालिकामा पशु स्वास्थ्य आधारभूत प्रयोगशाला स्थापना कार्यक्रम यस वर्ष नयाँ कार्यक्रम रहेको उहाँको भनाइ छ । 

हरित विद्यालय र पोषण शिक्षा कार्यक्रम र बाँझो जमिन उपभोग कार्यक्रम पनि नयाँ कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

मन्त्रालय सम्हालेपछि नयाँ ऐन, नियम निर्देशिका र मापदण्ड पनि निर्माण गरेको मन्त्री भुसालले बताउनुभयो । खाद्य पदार्थमा विषादीको अधिकतम अवशेषसम्बन्धी मापदण्ड पारित गरिएको छ । कुखुराको दानाको गुणस्तर तथा मात्रा तोकिएको आदेश २०८० पारित गरिएको उहाँको भनाइ छ । 

यस्तै, खाद्य सम्प्रभुता नियमावली, २०८० तयारगरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । कृषि क्षेत्र समन्वय निर्देशिका, २०८० निर्माण गरिएको छ । 

नेपालमा उत्पादन तथा उपभोग गरिने फलफूल तरकारीमा विषादीको अधिकतम मात्रा समेट्ने गरी तरकारी छ समूहका १५ उपसमूह, फलफूल चार समूहका १० उपसमूह र चियामा अधिकतम मात्रा कार्यान्वयनमा आएको छ । 

लम्पी स्किनका लागि साढे १३ लाख खोप आयात 

लम्पी स्किन रोगको उपचार तथा नियन्त्रणका लागि १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको उहाँले बताउनुभयो । यस रोगको रोकथामका लागि सम्पूर्ण प्रयासहरू गरिएको उहाँको भनाइ छ । 

अहिलेसम्म नौ लाख १९ हजार ४१६ पशुलाई खोप लगाइएको छ । उपचार पश्चात् निको हुनेक्रम बढदैगएको छ । बिरामी भएका १५ लाख १९ हजार ७७९ पशुमध्ये १३ लाख ९३ हजार ५९५ निको भएको उहाँले प्रगति विवरण प्रस्तुत गर्नुभयो । ७३ हजार ६३६ पशु अहिले पनि बिरामी छन् । ५२ हजार ५४८ पशुको मृत्यु भएको छ । 

यस्तै, आफ्नो पाँच महिने कार्यकालमा कृषि र सिँचाइ मन्त्रालय मिलेर सिँचाइको समस्या समाधान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यस्तै चीन, भारत, अमेरिका, जापान, दक्षिण कोरिया र इजरायल लगायतका राजदूतहरूसँग भेटघाटगरी सहयोगको सम्भावनाबारे छलफल भएको भुसालको भनाइ छ । 

यस्तै छिमेकी मुलुकबाट गिर र साहिवाल नामक उच्च नस्लका गाईका साँढे तथा उच्च नस्लका चौरी र च्याङ्ग्राका ब्रिड ल्याउन पहल भइरहेको उहाँले बताउनुभयो । नेपालमा खपत हुने चामलको १२ लाख ८० हजार टन चामल बाहिरबाट आयात गर्नुपर्ने आँकडा रहेकाले यसको पूर्तिका लागि चैते धान उत्पादित वृद्धि अभियान थालिएको कृषिमन्त्री भुसालले बताउनुभयो । 

खानाको ६७ प्रतिशत हिस्सा ओगट्ने धान अहिले हामीलाई चाहिनेभन्दा १२ लाख ८० हजार टन कम उत्पादन भएको छ । 

चैते धान लगाइएको एक लाख १८ हजार हेक्टरलाई दोब्बर गरेर दुई लाख ४० हजार बनाएर छ–सात लाख टन धान उत्पादन गर्न सकिने र अर्को वर्ष त्यति नै थप धान उत्पादन भए धानमा आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ । 

भारतले बासमती बाहेकका चामल निर्यातमा प्रतिबन्ध गरेको जनाए पनि नेपाललाई चामल बिक्री गर्ने जनाएको भुसालले बताउनुभयो । भारतीय पक्षसँग संवाद भइरहँदा नेपाललाई चामल बिक्री गर्ने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।