• ७ जेठ २०८१, सोमबार

धानबालीलाई मल अभाव नहुने, सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात

blog

काठमाडौं, भदौ १ गते । देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने रोपिएका धानबालीका लागि मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । हाल सरकारसँग ५३ हजार ९७७ टन मल मौज्दात रहेको जनाएको छ । 

सरकारले रासायनिक मलकोे मौज्दात र वितरण प्रक्रियालाई प्रभावकारी बनाएकाले मलको अभाव नहुने मन्त्रालयले जनाएको छ । त्यसैले मलको मौज्दात र वितरण प्रक्रियालाई ध्यान दिइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार सरकारसँग अहिले ५३ हजार ९७७ टन मल मौज्दात छ । 

मिश्रका अनुसार साल्ट ट्रेडिङ् कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडसँग अहिले उक्त परिमाणको मल मौज्दात रहेको हो । उहाँले भन्नुभयो, “साउन सकिन लाग्दा अझै १३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुन बाँकी छ । मलको माग अझै बढ्न सक्ने भएकाले मलको भण्डार र वितरणलाई व्यवस्थित बनाएका छौँ ।”

धानको भण्डारणको रुपमा हेरिने मधेश प्रदेशमा ३२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी नै रहेकाले मलको माग बढी हुने उहाँको भनाइ छ । साल्ट ट्रेडिङ् कर्पोरेसनसँग युरिया १० हजार ९७०, डीएपी १८ हजार २८५ र दुई हजार १७० मेट्रिक टन मल मौज्दात छ भने कृषि सामग्री कम्पनी लिमिटेडसँग युरिया १० हजार ९९४, डिएपी सात हजार २१२ र पोटास चार हजार ३४६ टन मल मौज्दात छ । 

५५ हजार टन मल आउँदै 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रका अनुसार युरिया ३० हजार मेट्रिक टन र डीएपी २५ हजार मेट्रिक टन मल आयात हुँदैछ । उक्त परिमाणको मल कोलकत्ता बन्दरगाहबाट लोड भएर नेपालतर्फ ल्याइँदै छ  । २१ दिनभित्रमा मल नेपाल आइपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलेको जस्तो धानबालीको लागि किसानलाई रासायनिक मलको अभाव हुँदैन । ५५ हजार मेट्रिक टन मल कोलकत्ताबाट आयात हुँदैछ ।” 

तीन लाख २४ हजार टन मल टेण्डर

कृषकलाई पर्याप्त मल आपूर्ति गर्नका लागि तीन लाख २४ हजार टन रासायनिक मल खरिदका लागि टेण्डर भइसकेको छ । 

मन्त्रालयका सहसचिव मिश्रका अनुसार धान पसाउने समयमा युरिको माग बढी हुने र पछि गहुँ लगाउने समयमा पनि मलको आवश्यकता पर्ने भएकाले टेण्डर भएको उहाँको भनाइ छ । विशेषगरी धान रोप्ने समयमा युरिया मलको माग हुने र धान पसाउने समयमा डीएपी मलको माग हुने उहाँको भनाइ छ । 

तीन लाख ८२ हजार टन मल बिक्री 

साल्ट टेड्रिङ् र कृषि सामग्री कम्पनी लिमिटेडले यो वर्षको साउन मसान्तसम्म तीन लाख ८२ हजार मेक्ट्रिक टन मल बिक्री गरेका छन् । गत आर्थिक वर्ष २०७९÷८० को मौज्दात मलसहित साउन मसान्तसम्म युरिया, डीएपी र पोटास गरी उक्त परिणामको मल बिक्री भएको जनाएको छ । 

केही स्थानीय तहमा मल बिक्रीमा समस्या देखिएकाले त्यसलाई समाधान गर्ने प्रयाास भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मल बिक्री गर्नका लागि स्थानीय तहलाई जिम्मा दिइएको छ । केही स्थानीय तहले बिक्री नगरी भण्डारण गरेको गुनासो मन्त्रालयसम्म आएको छ । यसलाई समाधान गर्ने प्रक्रियामा छौँ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।