• ७ जेठ २०८१, सोमबार

नेपालमै उत्पादित जनै पर्याप्त, राखी भारतबाट आयात

blog

बिक्रीका लागि पसलमा राखिएको जनै र डोरो । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ १३ गते । जनै पूर्णिमामा खपत हुने जनैको अधिकांश उत्पादन नेपालमै हुनेगरेको छ । जनैपूर्णिमामा शास्त्रीय मान्यताअनुसार वैदिक विधिबाट बनाएको जनैको प्रयोग बढी हुनेगरेको छ । 

पूजा सामग्री व्यापारी सङ्गीता खनालका अनुसार काठमाडौँमा यसपालि धेरै ठाउँमा बुटवलमा उत्पादन भएको जनै आएको छ । उहाँले भन्नुभयो, “यसपालि जनै नेपालको उत्पादन नै पर्याप्त छ । बुटवलमा शास्त्रीय मान्यताअनुसार वैदिक विधिबाट तयार गरिएको हुनाले यहाँबाट नै आउनेगरेको छ ।” 

पहिले काँचो धागोलाई कतुवाले बाटेर जनै घरमै तयार गर्ने गरिन्थ्यो । तर यसपालि भने त्यो परम्परा हटेको छ ।

पहिले काँचो धागोलाई कतुवाले बाटेर जनै घरमै तयार गर्ने गरिन्थ्यो । तर यसपालि भने त्यो परम्परा हटेको छ । जनैका लागि आवश्यक काँचो धागो बाहिरबाट ल्याएर बुटवलमा नै निर्माण गरेको जनै व्यापारका लागि राखिएको उहाँको भनाइ छ । यस्तै डोरो पनि आन्तरिक उत्पादनले नै धान्ने उहाँले बताउनुभयो ।  

आफ्नो पसलबाट मात्र यसवर्ष एकदेखि डेढ लाख रुपियाँ बराबरको जनै तथा डोरोको व्यापार हुने उहाँको विश्वास छ । केही मात्रामा चीनबाट पनि जनै आयात हुनेगरेको भए पनि जनै पूर्णिमामा भने त्यसको प्रयोग खासै नहुने उहाँले बताउनुभयो ।  

यस्तै, अर्का व्यापारी दिलबहादुर खड्का पनि यसपालि जनैको आयात बाहिरी देशबाट नरहेको बताउनुभयो । बुटवलको राधा उद्योगमा उत्पादन भएको जनै मात्र व्यापारका लागि राखिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “यस वर्ष नेपालमा उत्पादन भएको जनै व्यापारका लागि राखेका छौं । चीनमै बनेको जनै पनि आएको थियो । तर, त्यो त्यति राम्रो नहुने भएकाले राखेका छैनौँ ।” बाहिर खुल्ला रूपमा राख्नेहरूले केही मात्रामा चीनबाट आयात भएको जनै राख्नेगरेको उहाँको भनाइ छ । 

जनै यही बन्छ 

वस्तु आयात तथा निर्यातको विश्लेषण व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले गर्दैआएको छ । केन्द्रका सूचना अधिकारी रवीन्द्र दुवाडीका अनुसार बाहिरबाट काँचो धागो ल्याएर नेपालमा जनै उत्पादन हुनेगरेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “बाहिरबाट काँचो धागो आयात हुन्छ । त्यसलाई नेपालमै जनैको रूपमा उत्पादन गरिन्छ । धागो धेरै मात्रामा आयात भएको देखिएकाले त्यो सबै जनैको रूपमा नै प्रयोग भयो भन्न सकिँदैन ।” 

उहाँले भन्नुभयो, “चीन र भारतबाट यति धेरै परिमाणमा जनै आयात भयो भन्नु गलत हुन्छ । काँचो धागोको रूपमा नै आयात हुने भएकाले जनैको रूपमा नै आयात भयो भनेर प्रचार गर्नु हुँदैन ।”

बाहिरबाट काँचो धागो आयात हुन्छ । त्यसलाई नेपालमै जनैको रूपमा उत्पादन गरिन्छ ।

जनै बनाउने धागोबाट भने नेपाल परनिर्भर रहेको उहाँको भनाइ छ । नेपालमा धागोहरु उत्पादन भए पनि आयातको मात्रा भने धेरै रहेको दुवाडीको भनाइ छ । 

राखी भारतबाट आयात

जनै पूर्णिमामा प्रयोग हुने राखी भने सबै भारतबाट नै आयात हुने व्यापारीहरूको भनाइ छ । राखी नेपालमा नबन्ने र भारतबाट नै सबै परिमाणमा आयात हुनेगर्छ ।  

असनमा व्यापार गर्दै आउनुभएका मनीषा प्रजापतिका अनुसार राखी नेपालमा कहीँ उत्पादन नहुने भएकाले बाहिरबाट नै आयात गर्नुपर्छ । उहाँले भन्नुभयो, “राखी, जनै र डोरोजस्तो अरुबेला खपत हुँदैन, त्यसैले नेपालमा उत्पादन नहुने भएकाले भारतबाट नै आयात हुनेगरेको छ ।” 

३७ करोड ७१ लाखको धागो आयात 

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मात्र ३७ करोड ७१ लाख बराबरको धागो आयात भएको छ । तर आयात भएको सबै धागो जनै तथा डोरोका लागि मात्र प्रयोग भने नहुने विभागको भनाइ छ । 

विभागका तथ्याङ्क शाखाका मोहलकुमार पुडासैनीका अनुसार जनै बनाउन मसिनो कटनको धागो आवश्यक पर्छ । तर, आयात भएको धागोको सबै परिमाण हेर्दा अन्य कस्मेटिकका लागि आवश्यक पर्ने धागो पनि आयात भएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मात्र ३७ करोड ७१ लाख बराबरको धागो आयात भएको छ ।

उहाँका अनुसार जनै आयात भएको छैन । यसको फरक खालको एचएस कोड छैन । परिमाण निकाल्नका लागि एचएस कोड आवश्यक पर्छ । 

जनैको महत्त्व

गुरु पुरोहितद्वारा विधिपूर्वक मन्त्रिएको जनै धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पूर्णिमाको दिन विधिपूर्वक वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने नेपालमा प्रचलन छ । त्यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै एवं डोरो धारण गरिन्छ । जनै पूजा, पितृ कार्यमा समेत अत्यावश्यक हुन्छ । डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्त्व हुन्छ । हिन्दु धर्मावलम्बीले जनै पूर्णिमाको अवसरमा धेरैले नयाँ जनै ग्रहण गर्ने गर्छन् । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।