• ७ जेठ २०८१, सोमबार

अमेरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड

वस्तु आयत र निर्यात खुम्चियो

blog

फाइल तस्बिर

काठमाडौं, असोज ७ गते। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवै घटेको छ। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको पहिलो दुई महिनामा दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजारको आयात भएकोमा यस वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजारको आयात भएको छ। गत वर्षको तुलनामा यो आयात  ५.०६ प्रतिशतले कम हो। 

यस्तै निर्यात पनि  ७.७९ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड चार लाख ३७ हजारको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजारको निर्यात भएको छ। 

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा ४.७४ प्रतिशतले घटेको छ। 

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रहेकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा घटेर दुई खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजारमा झरेको छ। 

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र  एक खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ। नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्बको व्यापार घाटा व्यहोरको छ।

त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ। 

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो। नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ।  

साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ। अमेरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड बराबर हो।  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।