भैरहवा, बैशाख १० गते । नेकपा सिद्धार्थनगर नगर कमिटीले स्थानीय निर्वाचन २०७९ प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । यहीँ बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टी स्थापना दिवसका अवसरमा एमालेले स्थानीय निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै एमालेले स्थानीय तहमा बिगतमा जस्तै सबै दल मिलेर गठबन्धन गरेता पनि एक्लै चुनाव जित्ने अठोट गरेको छ । नेकपा एमालेले स्थानीय निकायलाई स्थानीय तह, स्थानीय सरकारका रुपमा अधिकार सम्पन्न बनाउन २०४८ साल देखि स्थानीय स्वायत्त शासन ऐन बनाउन र कार्यान्वयन गर्न तथा स्थानीय तहलाई अधिकार सम्पन्न गराउने गरी संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय रहेको जनाएको छ । एमालेले नगरको भौतिक स्तरोन्नती, पर्यटन प्रवद्र्धनको विकास देखि नेपाली कला, भाषा, साहित्य पत्रकारिताको विकास गर्ने गरी २६ बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोख्रेलले एमालेले बिगतमा गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको बताउँदै अबको निर्वाचनमा एमालेको जितसँगै सिद्धार्थनगरमा बाँकी रहेका विकास निर्माणका काम र भावी योजनाहरु पुरा गर्ने बताउनुभयो । एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बरालले एमालेले बिगतमा बाचा गरेका प्रतिबद्धता अनुसार नगरले विकासमा फड्को मारेको बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्दै बरालले नेपालको स्वाभिमानलाई थप बलियो बनाउनका निम्ती एमालेको विजयी अपरिहार्य रहेको बताउनुभयो । एमालेका रुपन्देही जिल्लाका उप–सचिव तथा प्रचार बिभाग प्रमुख हितराज पन्थीले नेकपा एमाले जनताको पार्टी भएकाले सदैव जनताको हितका लागि काम गरेको बताउनुभयो । उहाँलेसबै शक्ति मिलेर एमालेलाई हराउन लागे पनि त्यो सफल नहुने बताउनुभयो । एमाले रुपन्देही जिल्लाका सचिवालय सदस्य तथा सिद्धार्थनगर इन्चार्ज चोपलाल आचार्यले एमाले एक ढिक्का भएर चुनावमा जान लागेको बताउँदै सम्पूर्ण स्थानमा विजयी भएर जनताको काम गर्ने बताउनुभयो ।
निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी आज आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना भएको छ । आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो ।
मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो हुनुभएको छ ।
नारद काेहरतौलिहवा, वैशाख १० गते । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन ईच्छुक रहेको भन्दै कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिनुभएकाे छ ।निर्वाचन आयोगले चुनावमा लड्न बहालवाला जन प्रतिनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनुपर्ने नियम बनाएपछि उहाँले सो राजीनामा दिनुभएकाे हाे । उहाँले प्रमुख किरण सिंहलाई गत वैशाख ८ गते राजीनामा दिनुभएकाे हाे ।प्रमुख सिंहले वैशाख ९ गते देखि लागू हुने गरी राजीनामा स्वीकृत गर्नुभएकाे छ । नेपाली काँग्रेसबाट प्रमुख पदमा टिकट पाएको चर्चा चले पनि अझैँ सम्म आधिकारिक रूप निर्णय सार्वजनिक भएकाे छैन ।काँग्रेसबाट उपप्रमुख पदमा टिकट कसले पाउँछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले उपप्रमुखकाे टिकट पाउने काँग्रेस नेताहरु बताउँछन् । अब कपिलवस्तु नगरपालिकामा काँग्रेस, एमाले र जनता समाजवादी पार्टी, नेपालबीच प्रतिस्पर्धा हुने मतदाताहरु बताउँछन् ।
काठमाडौं, बैशाख १० गते । महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) मध्यान्न ३ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले उम्मेदवारी टुंगो लगाउन आज (शनिबार) ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट बैठक बस्ने भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । पार्टीले महानगर र उपमहानगरपालिकाको उम्मेदवारी टुंगो लगाएसँगै अन्य ७५३ वटै स्थानीय तहमा तत्काल उम्मेदवारीको नाम सार्वजनिक गर्ने तयारी समेत गरेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । प्रमुख दल मध्ये नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मध्यान्न ३ बजेनै बैठक बस्ने भएको छ । यो समितिले उम्मेदवारी टुंगो लगाउने पार्टीले जनाएको छ । अन्यदलले समेत उम्मेदवारीलाई टुंगो लगाउने गरी तयारी सुरु गरेको पाइएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम सार्वजनिक गरी सकेको छ ।
कपिलवस्तुको बाणगंगा कोभिड–१९ पूर्ण खोप युक्त नगरपालिका घोषणा भएको छ । पालिकाका १२ वर्षमाथिका सबै ७२ हजार ८८९ जनाले खोप लगाएपछि पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको हो ।
जाजरकोट, वैशाख १० गते । प्रशासनले हतियार बुझाउन गरेको आग्रह र स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा पछिल्लो समय अवैध रुपमा बेवारिसे अवस्थामा दैनिक रुपमा भरुवा बन्दुक भेटिन थालेका छन् । जिल्लामा हालसम्म चार वटा अवैध हतियार प्रहरीले फेला पारेको छ ।केही दिन पहिले छेडागाड नगरपालिका –२ डेढकुला भन्ने स्थानमा जंगलभित्र रहेको ओढारमा लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा अस्थाई प्रहरी पोष्ट सुयाडा जाजरकोटबाट प्रहरी टोलीले उक्त एक नाल भरुवा बन्दुक फेला पारेको थियो । त्यस्तै, प्रहरी चौकी पैंक जाजरकोटबाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा कुशे गाउँपालिका वडा नं. ८ बिजुलीडाँडास्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको थियो । यसैगरी, नलगाड नगरपालिका – ५ खानटाकुरा कैचु जंगलमा बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक फेला परेको थियो । त्यसैगरी, चैत २७ गते छेडागाड नगरपालिका – ११ कार्की गाँउस्थित शिरुबारी जंगलमा बेवारिसे अवस्थामा दुई नाले भरुवा बन्दुक फेला पारेको थियो ।करिब १५ दिन भित्रमा चार वटा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिएको तथ्यांक प्रहरीसँग छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी प्रशासनमा बुझाउन भने सँगै प्रहरीले पनि कडाईका साथ निगरानी गर्न गस्तीहरु बढाइएको हुँदा यसरी बेवारिसे अवस्थामा बन्दुक फेला परेको बताउनुभयो ।इजाजत प्राप्त हतियार आगामी १२ गतेसम्म बुझाउन जिल्ला प्रशासन कार्यालयले म्याद दिएको र सोही अनुसार बुझाइरहेकाले यसरी बेवारिसे अवस्थामा भेटिने अवैधवाला नै हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको प्रहरी नायव उपरीक्षक निरौलाको भनाइ रहेको छ ।
काठमाडौँ, वैशाख १० गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले युवा युवा पुस्ता आकर्षित हुँदा मात्र देश समृद्धिको बाटोमा अगाडि बढ्नसक्ने कुरामा जाेड दिनुभएकाे छ ।नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटनमा उहाँले नयाँ पुस्तालाई उत्पादनमा जोड्दा मात्र नयाँ नेपाल समृद्धि उन्मुख हुने बताउनुभयाे ।उहाँले आर्थिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्नु युवा उद्धमीको संस्था ७५३ स्थानीय तहमै विस्तार हुनुपर्छ, भन्नुभयो ।उहाँले भन्नुभयो, “आयात निरुत्साहित र निर्यात प्रवद्र्धन गर्न उत्पादन विस्तार गर्नुछ । त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्छ ।” उहाँले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै युवा पुस्तालाई सङ्गठिन गर्न प्ररित गर्नुपर्ने बताउनुभयो ।औद्योगिकीकरण, यान्त्रिकरण र व्यवसायीकरणलाई प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “आर्थिक र सामाजिक विकासमा युवा उद्धमीहरू लाग्नुपर्छ ।” परम्परागत पितृसत्ताका कारण महिला पछि परेको उल्लेख गर्दै महिला उद्यमीहरूले शिक्षा, स्वास्थ्यमा मात्र नभई उद्यमसिलतामा अब्बल हुनुपर्नेमा उहाँको जोड थियो ।राजनीति, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा महिला र पुरुषबीचमा समान अधिकार भएपछि मात्रै सबैले सबैसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको सिर्जना हुने बताउँदै मन्त्री भुसालले महिलाले आफ्नो क्षमता विकास गरेर आर्थिक तथा सामाजिक अधिकार कार्यान्वयमा ध्यान दिनुपर्ने बताउनुभयो ।कृषि उत्पादन विस्तार गर्नका लागि अनुसन्धान एवं प्रवद्र्धनमा लाग्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कृषि प्रधान देशले वर्षेनी रूपियाँ तीन खर्ब बराबरको कृषिजन्य सामग्री आयात हुनु होइन, कृषि उत्पादकत्व विस्तार गर्ने उद्योगलाई सरकारले सहयोग गर्छ ।” कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उदीप श्रेष्ठले युवालाई उद्यमसिलतामा जोड्न लागिपरेको उल्लेख गर्दै आगामी दिनमा देशभरका युवालाई सङ्गठित गरेर उद्यममा लाग्न प्रेरित गर्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सांसदहरुको टोलीले भेटवार्ता गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग नेपाल भ्रमणमा रहेका अमेरिकी पाँच सदस्यीय टोलीले भेटवार्ता गर्नुभएको हो ।
सिद्धार्थनगर, वैशाख १० गते । रुपन्देहीको सिद्धार्थनगरको प्रमुखमा तीनदलले उम्मेदवार टुंगो लगाएका छन् । सिद्धार्थनगरका लागि प्रमुखमा नेपाली काङ्ग्रेसले इश्तियाक अहमद खान, राष्ट्रिय प्रजातन्त्र पार्टीले सागर प्रताप राणा र जनता समाजवादी पार्टीले अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । उहाँहरुको एकल दावी भएकाले उम्मेदवार बन्ने पक्का छ । एमालेले भने अझँै टुंगाउन सकेको छैन ।पार्टीको रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका राणालाई प्रमुख बनाउने घोषणा गरेको हो । राणा २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा उम्मेदवार रहनुभएको थियो भने त्यसअघि उहाँ नगरपालिकाका प्रमुख भएर काम गरिसक्नुभएको छ ।राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले राणासहित जिल्लाका अन्य उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो । बुटवल उपमहानगरपालिकामा मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा, तिलोत्तमा नगरपालिकामा भुवन खनाल, देवदहमा माधव रिमाल र रोहिणी गाउँपालिकामा ताहिर अली पालिका प्रमुखका उम्मेदावार तय गरेको उहाँको भनाइ छ ।यसअघि सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उम्मेदवार खान केही वर्ष अघि राप्रपामा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।यसअघि सिद्धार्थनगरमा एमालेले प्रमुख पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान प्रमुख हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । यस्तै, जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवारमा अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई नगर समितिले सर्वसम्मत सिफारिस गरेको सो पार्टीले जनाएको छ ।जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयर पदका उम्मेदवार हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको समितिका मुखय सचव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पाल्पा, वैशाख १० गते । सत्ता साझेदार दलहरूबीच चुनावी गठबन्धन गरेर अघि बढ्ने सहमति भएको छ । लामो समयदेखि सहमतिको प्रयास भएपछि शनिबार बिहानको छलफलपछि गठबन्धनमा सहमति जुटेको हो । सहमतिअनुसार पाल्पाको १० पालिकामा ६ वटामा कांग्रेसले नेतृत्व लिनेछ । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले २÷२ पालिकामा नेतृत्व लिने सहमति भएको गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोचा, पाल्पाका अध्यक्ष विशाल दर्लामीले जानकारी दिनुभयो ।सहमितअनुसार रामपुर, माथागढी, बगनासकाली, निस्दी, रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसले नेतृत्व पाउनेछ । यस्तै माओवादीले तिनाउ र रिब्दीकोट, एकीकृत समाजवादीले रम्भा र पूर्वखोलामा पालिकाको नेतृत्व गरेर चुनावी गठबन्धन गर्ने सहमति भएको दर्लामीले बताउनुभयो । यस्तै, कांग्रेसले रामपुर, माथागढी, पूर्वखोला, रिब्दीकोट, रम्भा र रिव्दीकोट गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्ष पाउने सहमति भएको छ । माओवादी केन्द्रले तानसेन, निस्दी र रैनादेवीछहरा र समाजवादीले बगनासकालीमा उपाध्यक्ष लिने सहमति भएको नेकपा माओवादी केन्द्र पाल्पाका सहइन्चार्ज अनिलकिशोर घिमिरेले जानकारी दिनुभयो । जिल्लाभरका वडा तथा सदस्यमा समेत सहमति भएको छ । राष्ट्रिय जनमोर्चा र सङ्घीय समाजवादीलाई वडा तहमा भागबण्डा गर्ने सहमति भएको छ । सहमतिपछि नेताहरू पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफलमा सहभागी हुनुभएको छ । जिल्लामा एमालेले भने अधिकांश पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।
नेपालगञ्ज, वैशाख १० गते । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् । केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो । बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले विद्युत अनियमित हुँदा एकातिर गर्मीको बेला स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि अत्याधिक नराम्रो प्रभाव परेको बताउनुभयो । विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य भएको गुनासाहरु दैनिजसो संघको कार्यालयमा आइरहेको बताउनुभयो । यस्तै, सामाजिक अभियन्ता विवेक कुमार श्रेष्ठले दिनदिनै जतिबेला मन लाग्यो त्यति बेला विद्युत कटौती गरिने गर्दा नेपालगञ्जवासी हैरान बनेको बताउनुभयो । उता, विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले नेपालको लाइनबाट विद्युत आपूर्तिमा लोडका कारण समस्या भैरहेकाले विद्युत अनियमित हुने गरेको वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले बताउनुभयो । उहाँले सो आपूर्ति सिस्टमबाट हुने गरेकाले अलिकति लोड बढ्ने वित्तिकै सिस्टमबाटै विद्युत आपूर्ति बन्द हुने गरेको जनाउँदै त्यसका लागि कोहलपुरमा थप उपकरण जडान गरिएकोले समस्या समाधान हुने बताउनुभयो । प्रमुख प्याकुरेलका अनुसार नेपालगञ्जमा भारतीय क्षेत्रबाट १० मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट २० मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको भए पनि राष्ट्रिय प्रसारण लाइनबाट हुने आपूर्तिमा सिस्टमबाटै समस्या भैरहेको छ । गर्मीका बेला हरेक वर्ष नेपालगञ्जको विद्युत आपूर्तिमा यस्तै समस्या हुँदै आए पनि यसको दीर्घकालीन निकासका लागि ठोस काम हुन सकेको छैन ।
तुलसीपुर, वैशाख १० गते । दाङमा फेरि जनप्रतिनिधिमा दोहोरिनका लागि गाउँपालिका अध्यक्षसहित ६७ जनाले राजीनामा दिएका छन् । शुक्रबारसम्म एक गाउपालिका अध्यक्ष एक उपाध्यक्ष, एक जिल्ला समन्वय समितिका सदस्य, ३२ वडाध्यक्ष, ३२ वडा सदस्यले राजीनामा बुझाएका हुन् ।गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादवले आइतबारदेखि लागू हुनेगरी शुक्रबार पालिकामा राजीनामा बुझाउनुभएको हो । त्यसैगरी राप्ती गाउपालिकाका उपाध्यक्ष जगदम्बा चौधरीले राजीनामा दिनुभएको छ । जिल्लाका दश पालिकाका एक सय वडामध्ये ३२ वडाका वडाध्यक्षले फेरि दोहोरिन राजीनामा दिनुभएको छ । गढवा गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारी, २ का तुलसिराम अधिकारी, ३ का भक्तु चौधरी, ४का गुलाम मोहम्मद, ६का बालचन्द्र हमाल, ७ का राहुल चौधरी, ८ का सद्धाम सिद्दिकीले राजीनामा बुझाउनुभएको छ । त्यस्तै राप्ती गाउँपालिकामा वडा नम्बर ७ का वडाध्यक्ष विद्याशरण चौधरी, ५का अध्यक्ष गोबद्र्धन चौधरी, ६का वेदप्रसाद चौधरीले बुझाउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकामा १० वटा वडाध्यक्ष राजीनामा बुझाउनुभएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार वडा नम्बर २ का अध्यक्ष अध्यक्ष राजु आचार्य, ३ का वीरबहादुर विक, ४ का बालकृष्ण राणा, ५ का वीरेन्द्रकुमार शाह, ९ का घनश्याम ढकाल, १० का कुमार लामिछाने, १५ का लक्ष्मण चौधरी, १६का भुपबहादुर केसी, १७ का थलराज पुरी र १८ का माधव वलीले राजीनामा बुझाउनभुएको हो । १५ जना वडा सदस्यले समेत राजीनामा दिनुभएको छ । त्यस्तै लमहीमा वडा नम्बर १ का अध्यक्ष नुमराज पौडेल, २ का नेपालु चौधरी, ३ का बाबुराम चौधरी, ४ का सुवास न्यौपाने, ६का गणेशमान चौधरी, ७ का मोहन गिरी, ८ का मेघनारायण चौधरी र ९ का भेषबहादुर केसीले राजीनामा दिनुभएको छ । बंगलाचुली गाउँपालिकामा वडा नम्बर ५ का अध्यक्ष यनुराज खत्री र घोराही उपमहानगरपालिकामा वडा नम्बर ४ का दुई र १७ का एक वडा सदस्यले राजीनामा दिनुभएको छ । दंगीशरण गाउँपालिकामा वडा नम्बर २ का अध्यक्ष तुलसीराम देवकोटा, ४ का अध्यक्ष नेबहादुर कंवरले राजीनामा दिनुभएको छ । शान्तिनगर गाउँपालिकामा वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीले राजीनामा दिनुभएको छ । बबई गाउँपालिकामा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेतसहित तीन जना वडा सदस्यले राजीनामा दिनुभएको छ । जिल्लाका अन्य पालिकामा समेत जनप्रतिनिधि दोहोरिने भएपनि राजीनामा भने अझै आएको छैन । यसैबीच, नेकपा एमालेले शुक्रबार जिल्लाका दश वटै पालिकामा पालिकास्तरीय संकल्पपत्र सार्वजनिक गरेको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १० गते । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी आज आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहने आयोगले जनाएको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र १२ गते हुँदैछ । निर्वाचन कार्यलय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य जिम्मेवारी रहने आयोगले जनाएको छ ।विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्वन्धी बस्तुस्थिति बुझी सुरक्षा प्रतिवेदनसहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सवै विषयहरु प्रवक्तामार्फत सवैसामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने जिम्मेवारी केन्द्रको रहेको आयोगले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनाको सङ्कलन एवम् विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्नेछ ।निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्वन्धी काम केन्द्रले गर्ने आयोगको भनाई छ । केन्द्रले निर्वाचनको काम सम्पन्न भएपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।