• २९ वैशाख २०८१, शनिबार

संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना हुँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १० गते । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी आज  आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ । निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व केन्द्रमा रहने आयोगले जनाएको छ । 

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र १२ गते हुँदैछ । निर्वाचन कार्यलय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन तुरुन्त प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको मुख्य जिम्मेवारी रहने आयोगले जनाएको छ ।

विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्वन्धी बस्तुस्थिति बुझी सुरक्षा प्रतिवेदनसहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सवै विषयहरु प्रवक्तामार्फत सवैसामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने जिम्मेवारी केन्द्रको रहेको आयोगले जनाएको छ  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनाको सङ्कलन एवम् विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्नेछ ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्वन्धी काम केन्द्रले गर्ने आयोगको भनाई छ ।  केन्द्रले निर्वाचनको काम सम्पन्न भएपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।