• १२ साउन २०८१, शनिबार

एमाले सिद्धार्थनगर प्रतिबद्धतापत्र सार्वजनिक

blog

भैरहवा, बैशाख १० गते । नेकपा सिद्धार्थनगर नगर कमिटीले स्थानीय निर्वाचन २०७९ प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । 

यहीँ बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टी स्थापना दिवसका अवसरमा एमालेले स्थानीय निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै एमालेले स्थानीय तहमा बिगतमा जस्तै सबै दल मिलेर गठबन्धन गरेता पनि एक्लै चुनाव जित्ने अठोट गरेको छ । 

नेकपा एमालेले स्थानीय निकायलाई स्थानीय तह, स्थानीय सरकारका रुपमा अधिकार सम्पन्न बनाउन २०४८ साल देखि स्थानीय स्वायत्त शासन ऐन बनाउन र कार्यान्वयन गर्न तथा स्थानीय तहलाई अधिकार सम्पन्न गराउने गरी संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय रहेको जनाएको छ । 

एमालेले नगरको भौतिक स्तरोन्नती, पर्यटन प्रवद्र्धनको विकास देखि नेपाली कला, भाषा, साहित्य पत्रकारिताको विकास गर्ने गरी २६ बुँदे प्रतिबद्धता पत्र सार्बजनिक गरेको नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो । 

कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोख्रेलले एमालेले बिगतमा गरेका अधिकांश प्रतिबद्धताहरु पुरा गरेको बताउँदै अबको निर्वाचनमा एमालेको जितसँगै सिद्धार्थनगरमा बाँकी रहेका विकास निर्माणका काम र भावी योजनाहरु पुरा गर्ने बताउनुभयो । 

एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य विश्वराज बरालले एमालेले बिगतमा बाचा गरेका प्रतिबद्धता अनुसार नगरले विकासमा फड्को मारेको बताउनुभयो । आगामी निर्वाचनमा एमालेलाई विजयी बनाउन आग्रह गर्दै बरालले नेपालको स्वाभिमानलाई थप बलियो बनाउनका निम्ती एमालेको विजयी अपरिहार्य रहेको बताउनुभयो । 

एमालेका रुपन्देही जिल्लाका उप–सचिव तथा प्रचार बिभाग प्रमुख हितराज पन्थीले नेकपा एमाले जनताको पार्टी भएकाले सदैव जनताको हितका लागि काम गरेको बताउनुभयो । उहाँलेसबै शक्ति मिलेर एमालेलाई हराउन लागे पनि त्यो सफल नहुने बताउनुभयो । 

एमाले रुपन्देही जिल्लाका सचिवालय सदस्य तथा सिद्धार्थनगर इन्चार्ज चोपलाल आचार्यले एमाले एक ढिक्का भएर चुनावमा जान लागेको बताउँदै सम्पूर्ण स्थानमा विजयी भएर जनताको काम गर्ने बताउनुभयो ।