• १५ चैत २०८०, बिहिबार

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

blog

झापा, वैशाख २२ गते । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । 

मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यतासमेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो । उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुनुहुन्थ्यो ।  

पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी हुनुहुन्छ । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिनुभएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ । वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताउनुभयो ।