• १३ साउन २०८१, आइतबार

निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान

आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १० गते । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी आज आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना भएको छ । आगामी निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो । 

केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सुक्ष्म रुपले अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको आयोगले जनाएको छ । 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले केन्द्रको उदघाटन गर्नुभयो । सो अवसरमा उहाँले स्थानीय तह निर्वाचनको प्रक्रिया आइतबारदेखि शुरु हुन गइरहेकाले केन्द्रलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । निर्वाचनमा मुलुक होमिइसकेकाले अव कसैले शंका गर्ने ठाउँ नरहेको भन्नुहुँदै उहाँले निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभयो ।  

“कहाँ के भइरहेको छ ? सबै गतिविधिको सुक्ष्म ढङ्गले केन्द्रले जानकारी राख्नुपर्छ, समस्या पत्ता लगाएर त्यसको समाधानमा आयोग तत्पर रहनेछ” उहाँले भन्नुभयो, “राजनीतिक दल र उम्मेदवारले आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ, झण्डा तुल, व्यानर प्रदर्शन गरेर होइन जनताको भावनामा उम्मेदवार बस्नुपर्छ ।” तीन इन्टु तीन साइज बाहेकको अन्य झण्डा तुल व्यानर पदर्शन गर्न नपाइने उहाँले प्रष्ट पार्नुभयो । देश निर्वाचनमय भएकाले दलका भेला, -याली, आमसभा हुनु स्वभाविक भएपनि आचारसंहिता उल्लङ्घन गर्ने छुट कसैलाई नरहेको उहाँले बताउनुभयो । 

“आजदेखि सबै सुरक्षा संरचना आयोगमा आइपुगेको छ, निर्वाचन व्यवस्थापनका लागि केन्द्रका संयोजकसहित सदस्यहरु निर्वाचनसँगै बस्नुस्, निर्वाचनसँगै खानुस, निर्वाचनसँगै सुत्नुस्” प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “निर्वाचनको सन्दर्भमा शंका भन्ने कुरा अव संग्रहालयमा लगेर थन्क्याइदिनुस्, निर्वाचन हुन्छ रोकिदैन ।”

केन्द्रका संयोजक तथा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऐन, नियम र आयोगले तोकेको कार्यसञ्चालन कार्यविधिअनुसार नै केन्द्रले सबै जिम्मेवारी पूरा गर्ने बताउनुभयो । आयोग निर्वाचनको अन्तिम तयारीमा रहेको जानकारी दिनुहुँदै उहाँले भोली आइतबारदेखि उम्मेदवारी मनोनयन दर्ता शुरु हुने बताउनुभयो । केन्द्रको मुख्य काम आचारसंहिताको कार्यान्वयन भए नभएको हेर्ने,, सुरक्षा व्यवस्था र निर्वाचनसँग सम्बन्धित अन्य गतविधिबारेमा जानकारी लिएर कार्यान्वयनका लागि पहल गर्ने रहेको उहाँले जानकारी गराउनुभयो । 

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयन वैशाख ११ र १२ गते हुँदैछ । निर्वाचन कार्यलय स्थापना गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने तथा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयद्वारा सञ्चालित निर्वाचन कार्यक्रमसम्बन्धी प्रगति प्रतिवेदन प्राप्त गरी सचिवालयमार्फत आयोगमा पेश गर्ने केन्द्रको जिम्मेवारी रहेको आयोगले जनाएको छ ।

विभिन्न सुरक्षा निकायसँग समन्वय र सम्पर्क गरी निर्वाचनसम्वन्धी बस्तुस्थिति बुझी सुरक्षा प्रतिवेदनसहित आयोगमा पेश गर्ने, निर्वाचन कार्यक्रम सञ्चालनसँग सम्बन्धित सवै विषयहरु प्रवक्तामार्फत सवैसामु पु¥याउन आवश्यक सूचना र विवरण उपलब्ध गराउने जिम्मेवारी पनि केन्द्रको रहेको छ  ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेश गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने, निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना परिघटनाको सङ्कलन एवम् विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोग र सम्बन्धित निकायमा केन्द्रले सुझाव पेश गर्नेछ ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना संकलन, प्रशोधन, विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्वन्धी काम केन्द्रले गर्ने आयोगको भनाई छ ।  केन्द्रले निर्वाचनको काम सम्पन्न भएपछि आयोगसमक्ष अन्तिम प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।