स्मृति मिश्र धनुषा, वैशाख १० गते । जनकपुरधाम उपमहानगरपालिका मेयरमा मनोज चौधरी र उपमेयरमा रिता मिश्रलाई लेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले उम्मेद्वार बनाउने निर्णय गरेको छ । लोसपाको केन्द्रीय कमिटीको शनिबार बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाकालागि मेयर तथा उपमेयर उम्मेदवार टुंगो लगाएको हो । चौधरी लोसपाको जनकपुरधाम उपमहानगर समिति अध्यक्ष हुन् भने मिश्र जनकपुरधाम उपमहानगरपालिकामा अघिल्लो कार्यकालमा उपमेयर रहनुभएको थियो ।चुनावी प्रयोजनका कारण उहाँले हिजो शुक्रबार राजीनामा दिनुभएको थियो । लोसपा नगर समितिले जनकपुरधामका मेयरका लागि उम्मेदवार बनाइएका चौधरीका अतिरिक्त प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, मनोज चौधरी र अमर पञ्जियांरका नाम सिफारिस गरिएको थियो । उम्मेदवार चयनमा ढिलाइ भइरहँदा लोसपाका स्थानीय नेता जानकीराम साहले चैत ६ गते पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नुभएको छ । उहाँ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ अध्यक्षसमेत हुनुहुन्थ्यो । लोसपाकै अर्का सदस्य र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साहले पनि पार्टी परित्याग गरी तमलोपाको सदस्यता लिनुभएको छ । उहाँहरू लगायत थप केही वडाअध्यक्षहरूले लोसपा परित्याग गरी अन्य राजनीतिक दलम प्रवेश गर्नुभएको छ ।
शेरबहादुर राईओखलढुङ्गा, वैशाख १० गते । ओखलढुङ्गामा चुनावी सुरक्षाका लागि बाह्रसय सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लाको आठ वटै स्थानीय तहमा हुने चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । जिल्लामा चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि १२ सय भन्दा बढी सुरक्षाकर्मी खटाइने निर्णय भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मतदान केन्द्रहरुको अनुगमन गरी संवेदनशील केन्द्रहरुको पहिचान गरेको पनि प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।सुरक्षाकर्मी अपुग भएमा प्रदेशबाट थप सुरक्षा व्यवस्था मिलाउन पहल भईरहेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १० गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी रहँदा मतपत्र छपाई तीब्ररुपमा भइरहेको आयोगको भनाई छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार १ करोड ९४ लाख मतपत्रमध्ये शनिबारसम्म १ करोड ३६ लाख मतपत्र छाप्नेकाम सम्पन्न भएको हो । निर्वाचन सामग्री नियमित रुपमा जिल्लामा पठाउनेक्रम जारी रहेको भएपनि मतपत्र छपाई सम्पन्न भएपछि मात्र पठाउने आयोगले जनाएको छ । आयोगद्वारा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र उम्मेदवार संख्या धेरै भएकाले मतपत्र पनि विभिन्न थरिको हुने बताउनुभयो । अव मतपत्र छपाई गरेर निर्वाचन गर्न झन्झटिलो हुने भएकाले आगामी दिनमा ईलेक्ट्रिक मेशिनको प्रयोगमा जोड दिनुपर्ने उहाँले दलको ध्यानाकर्षण गराउनुभयो । निर्वाचनको पहिलो चरणको करिब सबै तयारी पूरा भइसकेकाले अव दोस्रो चरणको काम शुरु भएको उहाँले जानकारी दिनुभयो । निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन सबैको सहयोग अपरिहार्य रहेको भन्नुहुँदै उहाँले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो । वैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्ता ऐनमा भएको व्यवस्थाअनुसार हुने भएकाले कुनै दलबीच झडप नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । ३० गतेको निर्वाचनका लागि २६ गतेसम्म सबै निर्वाचनसामग्रीसहित टोली सम्बिन्धत ठाउँमा पुगिसक्ने उहाँले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ । त्यस्तै, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सँधै प्रतिवद्ध रहेको जनाएको छ । कानूनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सिर्जना गर्न आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्र लगायत सम्बन्धित सबै सरोकारवालाहरुमा अपिल गरेको छ । नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाअनुरुप आयोगले यसअघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरुलाई १७ बुँदै निर्देशन समेत जारी गरिसकेको छ । निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुनेगरी सहभागिता र प्रतिनिधित्वका लागि आयोगले आग्रह गरेको छ ।यसैबीच उम्मेदवारहरुले आप्mनो उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोके बमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा अपिल गरेको छ । नियमित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तीमा आचारसंहिता विपरीत कार्यहरु भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गर्नुभएको छ । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको हो ।
पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाख १३ गते देखि काठमाडौँमा ‘पीवाईसी बिबिए कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
काठमाडौं, बैशाख १० गते । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको २९ औं स्मृति दिवश विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बैशाख १० गते पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली महिलाको रुपमा सगरमाथाको आरोहण गरेको दिनलाई उहाँको नाममा स्थापित पासाङ ल्हामु फाउण्डेशनले विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । २०५० साल बैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा उहाँको मृत्यु भएपछि आजको दिनलाई स्मृति दिवशकाे रुपमा मनाउने गरिएकाे छ । पासाङ ल्हामु फाउण्डेशनले चावाहिलको चुच्चेपाटी स्थित पार्कमा रहेको सालिकमा पुजा र खदा ओडाएर सम्मान कार्यक्रम गरेको प्रतिष्ठानका उपाध्यक्ष लाक्पाफुटी शेर्पाले जानकारी दिनुभयो । प्रतिष्ठानले शनिबारनै लैनचौर स्थित मल्ल होटलमा सफल महिलाको उदाहारण र सफल हुनुको कारणहरु बारे प्यानल छलफल समेत गरेको छ । छलफलमा महिला माथिको विभेद् र लैङगिक समनतामा भएको असमानतालाई चिर्न नयाँ पिढीँले पनि नयाँ कदम चाल्नु पर्ने आवस्यकता भएको कार्यक्रममा सहभागि साइकल खेलाडी अनिसा गुरुङले बताउनुभयो । कार्यक्रममा प्यानलिष्टको रुपमा होटल व्यवसायी अम्विका श्रेष्ठ, डा.लामो याङछेन शेर्पा र अनिसा गुरुङको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अगुवाइ गर्ने महिला, पर्वतारोही तथा संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै फाउण्डेशनका अध्यक्ष एवं पासाङ ल्हामु शेर्पाकी जेठी छोरी दावा फूटी शेर्पाले आमाले लिएको उदेश्य र सपनालाई पुरा गर्न फाउण्डेशनले दुर्गम हिमाली क्षेत्रमा शिक्षा, स्वास्थ्यमा सहयोग र जीविकोपार्जन सीपहरु प्रदान गर्दै आई रहेको बताउनुभयो । आउने दिनमा सेवाभावले फाउण्डेशनले समाजमा योग्दान दिने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
काठमाडौं, वैशाख १० गते । गायक मिलन श्रेष्ठले 'आमा' बोलको गीत सार्वजनिक गर्नुभएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा गायक मिलनका साथमा अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । निशाल पौडेलको छायाँकन रहेको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको हो । 'मिलन गीता श्रेष्ठ' युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि 'मायालाई चिनो', 'भावनामा', 'तिरिरी तिरिरी', 'तिमी बिना', 'फर्किन चाहान्छु' लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।
पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको हो ।
स्थानिय तहको निर्वाचनमा स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । जिल्लाको सुरक्षा समिति स्याङ्जाले जिल्लाका मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।
काठमाडौं, बैशाख १० गते । कञ्चनजंगा हिमाल आरोहणको आरोहण मार्ग चौथो क्याम्प अर्थात सात हजार पाँच सय मिटरसम्म निर्माण सम्पन्न भएको छ । यहीँ अप्रिल २९ गते देखि चुचुरोसम्म आरोहणको लक्ष्य राखेर शनिबारनै चौथो क्याम्पसम्म मार्ग निर्माण सम्पन्न भई सकेको मार्ग निर्माणको जिम्म पाएको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । आरोहण मार्ग निर्माणलाई तिव्रता दिनका लागि पायोनियर सहित सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका एक दर्जन बढी गाइडहरु खटिएका छन् । मार्ग निर्माणका लागि पायोनियरका माउन्टेन गाइड दानु भोटेले नेतृत्व गरेको शेर्पाले जानकारी दिनुभयो । सगरमाथा, ल्होत्से र मकालु हिमाल भन्दा अगाडीनै कञ्चनजंगा हिमालको आरोहण हुने कम्पनीका प्रमुख शेर्पाले जानकारी दिनुभयो । यता सगरमाथा आरोहण मार्ग दोस्रो क्याम्प भन्दा माथि निर्माण सुरु भएको छ । यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमती लिएको पर्यटन विभागको तथ्याङक छ ।
जानु पाण्डेकपिलवस्तु, वैशाख १० गते । कपिलवस्तुका इँटा उद्योगमा रहेका बाल श्रमिकलाई विद्यालय शैक्षिक सामग्री सहयोग गरिएको छ । इँटा उद्योगमा काम गर्दैआएका १ सय ६८ बालबालिकालाई स्कुल व्याग, स्टेश्नरी सामग्री र खाद्यान्न सहयोग गरिएको छ । नयाँ शैक्षिक सत्रमा इँटा उद्योगमा काम गर्ने बालबालिकालाई भर्ना गर्न र विद्यालयमा अध्ययन गर्दै आएकालाई पढाइमा निरन्तरता दिनका लागि सहयोग गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो ।समितिले कपिलवस्तुको शिवराज, महाराजगन्ज, कृष्णनगर र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा काम गर्ने बालबालिकालाई लक्षित गर्दै कार्यक्रम गर्दैआएको छ । उद्योगबाट संकलन गरेको तथ्यांकअनुसार जोखिममा देखिएका बालबालिकालाई सहयोग गरिएको थियो । बालबालिकालाई झोला, कापी, कलम, कलर, इरेजर सँगै नुन, चामल, तेल दाललगायतका खाद्यान्न सहयोग गरिएको छ । बुद्धभूमि नगरपालिका ६ का वडा अध्यक्ष नन्दलाल यादवले सहयोगपछि बालबालिकाको पढाई निरन्तर हुनुपर्ने बताउनुभयो । सञ्चालनमा रहेका अधिकांश इँटा उद्योगमा बालबालिका काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउनेजस्ता काममा लगाइएका छन् । गत वर्षको तथ्यांकअनुसार ४ पालिकामा गरेको सर्वेक्षणमा ७५० भन्दा धेरै बाल श्रमिक इँटा उद्योगमा कामदारको रुपमा फेला परेको थिए । यो वर्ष बाल श्रमिकको संख्या ५ सयको हाराहारीमा पुगेको बताइएको छ ।
काठमाडौं, वैशाख १० गते । अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिनुभएको छ । शुक्रबार उहाँले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा विवाह गर्नुभएको हो ।विवाहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी हुनुहुन्थ्यो । वर्षाले विवाहबारे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे हो । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए ।
चित्र, संगीत तथा वास्तुकलाका ज्ञाता हरिप्रसाद वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित हुनुभयो । वैद्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले लाइफ टाइम एचिभमेण्टबाट सम्मान गर्नुभएको हो ।
बेलिना थापालमजुङ, बैशाख १० गते । लमजुङका क्रियाशील राजनीतिक दलहरुबीच बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन पत्र दर्ता कार्य आलोपालो गर्ने सहमति भएको छ ।बैशाख ११ गते आइतबार र १२ गते सोमबार मनोनयन दर्ताको समय रहेको र एकै समयमा सबै राजनीतिक दलहरु आउँदा भिडभाड हुने भएकाले आलोपालो गर्ने निर्णय भएको छ । शनिबार जिल्ला समन्वय समिति लमजुङको सभाहलमा राजनीतिक दलहरुबीच छलफल गरी मनोनयन पत्र दर्ता गर्दा सबै राजनीतिक दलले एकै समयमा नगरी समय व्यवस्थापन गरी मनोनयन पत्र दाखिला गर्ने निर्णय भएको हो ।मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधीश शिवप्रसाद खनालका अनुसार एकै समयमा दर्ताको काम गर्दा समस्या हुन सक्ने भएकाले आलोपालो गर्ने सहमति गरिएको हो । उम्मेदवारको नाम दर्ता गर्दा सहज, सरल र छिटो बनाउन सहजीकरणका लागि राजनीतिक दलसँग छलफल गरेको उहाँले बताउनुभयो ।छलफलबाट राजनीतिक दलले निर्वाचन आचारसंहिता २०७८ लाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । सबै राजनीतिक दलको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत खनालका अनुसार जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ७ पालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम थालिएको छ । लमजुङमा १७ वटा राजनीतिक दल क्रियाशील रहेका छन् । एउटा पालिकामा प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी एउटा पार्टीबाट ५७ जना उमेदवारले नाम दर्ता गराउनुपर्ने छ । लमजुङमा चार नगरपालिका र चार गाउँपालिका छन् ।मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालको अध्यक्षतामा भएको छलफलमा नेकपा एमाले लमजुङका उपाध्यक्ष यशोदा रिमाल, नेपाली कांग्रेसका उपसभापति आनन्द घिमिरे, नेकपा माओबादी केन्द्र जिल्ला कमिटी सदस्य देबबहादुर गहतराज, जनसमाजवादी पार्टी नेपालका सूर्यबहादुर बुढापृथि, जनता समाजबादी पार्टीका उपाध्यक्ष नरेन्द्रबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका हरिनिधी तिवारी, राप्रपाका उपसचिव बालचन्द्र श्रेष्ठ, मंगोल नेशनल जिल्ला सभाका अध्यक्ष विकास गुरुङ, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्र, मस्र्याङदी गाउँपालिकाका निर्वाचन अधिकृत उदयराज काफ्ले, शसस्त्र प्रहरी नायव उपरीक्षक नवराज थापा, प्रमुख अनुसन्धान अधिकृत कुमार बुढाथोकीलगायतको उपस्थिति थियो ।
जानु पाण्डेकपिलवस्तु वैशाख १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा पाठेघर खस्ने रोगको निःशुल्क शिविर सञ्चालन गरिएको छ । गाउँपालिका १ मा रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौलीमा शनिबार स्वास्थ्य शिविर सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा ग्रामीण क्षेत्र र विपन्न परिवारको महिलालाई लक्षित गर्दै उपचार सिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोेपालवहादुर थापाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा सिविर सञ्चालन गरिएको छ ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीका अनुसार पाठेघर खस्ने रोगका समस्या भएका महिलाको पहिचान गरी उपचारको व्यवस्था मिलाएको बताउनुभयो । महिला स्वास्थ्य स्वयम्सेविकासँग टोल टोलमा पुगेर पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरी उपचारको प्रवन्ध मिलाइएको छ । उपचारका लागि शिवराज अस्पताल र विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मी खटेका थिए ।