• १३ साउन २०८१, आइतबार

यसरी साकार भयो किसुनजीको सपना

blog

अशोक अधिकारी

काठमाडौँ, वैशाख ११ गते । विक्रम संवत् २०५६ को निर्वाचन प्रचार–प्रसारका बेला काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)ले भन्नुभएको थियो, “मलाई जिताउनूस्, म मेलम्चीको पानी काठमाडौँमा ल्याउँछू ।” 

पूर्वप्रधानमन्त्री भट्टराईको ‘मेलम्चीको पानी काठमाडौँमा ल्याएर वितरण गर्छु । काठमाडौँको सडक पखाल्नेगरी पानी ल्याउँछु’ भन्ने अभिव्यक्ति पनि त्यतिबेला समर्थकका लागि उत्साह र विपक्षीका लागि आलोचना गर्ने विषय बन्यो । तर, ३० वर्षपछि उहाँले बनाएको अवधारणा साकार हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारदेखि काठमाडौँमा वितरण गरिँदै छ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभयो, “काठमाडौँ उपत्यकामा खानेपानीको सङ्कटबारे किसुनजीको दूरगामी दृष्टिकोण र आयोजनाको दीर्घकालीन अवधारणाकै कारण उपत्यकामा मेलम्चीको पानी भित्रिएको हो ।” उहाँका अनुसार पानीको सङ्कट हल गर्नकै लागि तत्कालीन प्रधानमन्त्री भट्टराईले मेलम्चीको पानी ल्याउनुपर्छ भनेर आफ्नो महìवपूर्ण दृष्टिकोण सार्वजनिक गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “किसुनजीले सार्वजनिक मञ्चमा मेलम्चीको पानी ल्याउने भन्दै गर्दा विपक्षीले आलोचना गरे । कतिले सम्भव छैन भनेका थिए । सडक पखाल्नेगरी पानी ल्याउँछु भन्नुभयो । अहिले भट्टराईको सोच सत्यमा परिणत भयो ।” मेलम्चीको पानी ल्याएर काठमाडौँमा बाँड्ने स्वर्णिम युगको परिकल्पना किसुनजीले गर्नुभएको बताउँदै महामन्त्री शर्माले भन्नुभयो, “किसुनजीको त्यो परिकल्पना पूरा भयो । यो सबै नेपालीको सफलता हो ।” 

उहाँले भन्नुभयो, “आयोजना निर्माणक्रममा एक जना इन्जिनियर र श्रमिकको निधन भयो । यस घडीमा सबैलाई सम्झिनुपर्छ । मिहिनेतपूर्वक काम गर्ने कर्मचारीलाई सम्झिनुपर्छ । विदेशी दातालाई सम्झनुपर्छ ।” सबै सरकारको पालामा मेलम्ची खानेपानीको काम अघि बढेको उल्लेख गर्दै महामन्त्री शर्माले सिन्धुपाल्चोकवासीप्रति आभार प्रकट गर्नुभयो । 

लेखक तथा पत्रकार किशोर नेपालले पूर्वप्रधानमन्त्री भट्टराई २००७ सालपछिको एउटा ऐतिहासिक कालखण्डमा प्रधानमन्त्री हुनुभएको र जनतालाई आशा देखाउनेभन्दा पनि व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्ने योजना बनाउनुहुन्थ्यो भन्नुभयो । उहाँले भन्नुभयो, “किसुनजीले काठमाडौँलाई व्यवस्थित बनाउने अवधारणा सोच्नुभयो । त्यही उद्देश्य र आफ्ना कार्ययोजना बताउनेक्रममा मेलम्चीको पानी ल्याएर काठमाडौँमा वितरण गर्ने र सफा पनि बनाउने घोषणा गर्नुभएको थियो ।”

पहिलो पटक निर्वाचनमा पराजित भए पनि पूर्वप्रधानमन्त्री भट्टराईले सत्तामा नरहँदा मेलम्ची अघि बढाउन दबाब दिइरहनुभएको स्मरण गर्दै नेपालले भन्नुभयो, “जसको सरकार बने पनि भट्टराईले मेलम्चीबारे कुरा उठाइरहनुभयो ।” उहाँका अनुसार ०५६ सालमा फेरि प्रधानमन्त्रीको जिम्मेवारीमा आएपछि भट्टराईले प्रधानमन्त्री कार्यालयकै मातहत राखेर मेलम्ची खानेपानी आयोजना अघि बढाउन लाग्नुभएको थियो । उहाँले भन्नुभयो, “किसुनजीले तत्कालीन सचिव दिनेशचन्द्र प्याकुरेलको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना अघि बढाउनुभयो । तर, सरकारबाट हटेपछि फेरि यो आयोजना अलपत्रजस्तै भयो ।”

नेपालले भन्नुभयो, “किसुनजीका नाराहरू महìवपूर्ण थिए । देशका लागि उपयोगी थिए । मेलम्ची पनि किसुनजीको अवधारणा हो । राम्रोसित काम गर्न पाउनुभएको भए हुन्थ्यो । तर, काम गर्न पाउनुभएन । त्यसैले मेलम्ची आउन पनि ढिला भयो ।”

पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेलले मेलम्ची खानेपानी आयोजनासँगै अन्य खानेपानीका काम पनि अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले चुनावी प्रयोजनका लागि मात्रै मेलम्चीलाई उपयोग नगर्न आग्रह गर्दै यसको निरन्तरताका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित निर्माणका कारण भएका मूल र पुराना धारा, कुवा नष्ट भए । अहिले भएका धारालाई संरक्षण गर्नुपर्छ । खहरेको सम्भाव्यता हेर्नुपर्छ ।” अव्यवस्थित सहरीकरण र केन्द्रीकरणका कारण मेलम्ची खानेपानी आयोजनाले मात्रै नपुग्ने बताउँदै उहाँले भन्नुभयो, “मेलम्चीसँगै याङ्ग्री र लार्के नदीलाई पनि जोडेर पानीको आपूर्ति गर्नुपर्छ ।”