• १७ मङ्सिर २०८२, बुधबार

जनकपुर-ढल्केवर सडकखण्डको तीन स्थानमा आकासे पुल निर्माण तीव्र

blog

जनकपुर–ढल्केवर ६ लेन सडकको महिला विकास चोकमा निर्माण भइरहेको आकाशे पुल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, मङ्सिर १७ गते । धनुषाको जनकपुर–ढल्केवर ६ लेन सडक खण्डको तीन स्थानमा आकाशे पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । पैदल यात्रुका लागि सहज, सडक जाम र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सडक डिभिजन कार्यालय मुजेलियाले करिब १० करोड ५० लाख रुपियाँको लागतमा तीन वटा आकाशे पुल निर्माणको कार्य सुरु गरेको हो ।

सडक डिभिजन कार्यालय जनकपुरधामका इन्जिनियर उज्जवले लक्ष्मिनिया बजार, क्षीरेश्वरनाथ नगरपालिकास्थित महिला विकास चोक र सखुवा चोकमा आकाशे पुल निर्माण तीव्र गतिमा भइरहेको बताउनुभयो । पिलरदेखि आवश्यक पूर्वाधार निर्माणको काम एक महिना अघिदेखि भइरहेको बताउँदै उहाँले सडक जाम र पैदल यात्रुले सडक क्रस गर्दा दुर्घटना जोखिम बढ्दै गएपछि यस स्थानमा आकाशे पुलको आवश्यकता देखिएको जानकारी दिनुभयो । 

इन्जिनियर झाले भन्नुभयो, ‘चालू आर्थिक वर्षको असार मसान्तसम्म तीनवटै पुल निर्माण सम्पन्न गर्ने योजना छ । निर्धारित समय सीमाभित्र निर्माण सम्पन्न हुने विश्वास छ ।’ उहाँका अनुसार तीनवटै पुल फरक–फरक लागतमा निर्माण भइरहेका छन् । लक्ष्मिनिया बजारमा तीन करोड ४२ लाख रुपियाँ, महिला विकास चोकमा तीन करोड ३५ लाख रुपियाँ र सखुवा चोकमा तीन करोड ४५ लाख रुपियाँको लागतमा आकाशे पुल बन्ने छ । प्राविधिक डिजाइनअनुसार निर्माणाधीन सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुने छन् ।

उहाँले पुल सञ्चालनमा आएपछि सडक क्रस गर्नुपर्ने पैदल यात्रुका लागि सहज बताउनुभयो । बजार क्षेत्रमा हुने भीडभाड कम हुने र सडक दुर्घटनामा समेत उल्लेख्य कमी आउने अपेक्षा कार्यालयले गरेको छ । जनकपुर–ढल्केवर सडकखण्ड अधिकांश समय अत्यधिक व्यस्त रहने भएकाले आकाशे पुल निर्माणले यहाँको ट्राफिक व्यवस्थापनमा सुधार आउने इन्जिनियर झाको भनाइ छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पूर्वपश्चिम राजमार्ग भएर मधेश प्रदेशको राजधानी जनकपुरधाम प्रवेश गर्ने सो सडकमा आकाशे पुल निर्माण भएपछि सवारी दुर्घटनामा कमी आउने बताउनुभयो । 

स्थानीयवासीले पुल निर्माणले यातायात व्यवस्थापनमा सुधार आउने सहरको सौन्दर्यीकरण समेत बढ्ने धारण धारणा व्यक्त गरेका छन् । उहाँहरुले व्यस्त सडक क्षेत्रमा आकाशे पुलले सुरक्षित आवागमन र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।