• ५ जेठ २०८१, शनिबार

रशिलाद्वारा खेलमा जितेको पैसा अर्को खेलाडीको उपचारमा सहयोग

काठमाडौँ, वैशाख १० गते । ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गर्नुभएको छ । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको हो । उहाँले बुटवलमा जारी दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा उपाधि वापत प्राप्त गरेको रकमबाट आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश महर्जनले जानकारी गराउनुभयो । 

नेपाली सेनाबाट खेल्दै आएका कञ्चनपुरका विवेक चौधरीको मुटुमा समस्या आएपछि अप्रेसन गर्नुपर्ने भएको छ । बुटवलमा सम्पन्न प्रतियोगिताको महिला एकलतर्फ रशिलाले एपिएफकी जेशिका गुरुङलाई १६–२१, २१–१९, २१–१८ ले पराजित गर्दै उपाधि जित्नुभएको हो । उहाँले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।  पुरुष एकल तर्फ बञ्जारा एग्रोका प्रिन्स दाहालले सेनाका प्रफुल महर्जनलाई २१–१०, १८–२१, २१–१२ ले हराउँदै उपाधि जित्नुभयो । उहाँले ५० हजार रुपियाँ पुस्कार पाउनुभयो ।