• १६ भदौ २०८१, आइतबार

सिद्धार्थनगरमा काङ्ग्रेसबाट खान, राप्रपाबाट राणा र जसपाबाट जैसवाल उम्मेदवार पक्का, एमालेको बाँकी

blog

सिद्धार्थनगरका मेयरका उम्मेदवारहरु । तस्विर – कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १० गते । रुपन्देहीको सिद्धार्थनगरको प्रमुखमा तीनदलले उम्मेदवार टुंगो लगाएका छन् । सिद्धार्थनगरका लागि प्रमुखमा नेपाली काङ्ग्रेसले इश्तियाक अहमद खान, राष्ट्रिय प्रजातन्त्र पार्टीले सागर प्रताप राणा र जनता समाजवादी पार्टीले अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । उहाँहरुको एकल दावी भएकाले उम्मेदवार बन्ने पक्का छ । एमालेले भने अझँै टुंगाउन सकेको छैन ।

पार्टीको रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका राणालाई प्रमुख बनाउने घोषणा गरेको हो । राणा २०७४ को निर्वाचनमा पनि नगर प्रमुखमा उम्मेदवार रहनुभएको थियो भने त्यसअघि उहाँ नगरपालिकाका प्रमुख भएर काम गरिसक्नुभएको छ ।

राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले राणासहित जिल्लाका अन्य उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो । बुटवल उपमहानगरपालिकामा मृगेन्द्र शेरचन, सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा, तिलोत्तमा नगरपालिकामा भुवन खनाल, देवदहमा माधव रिमाल र रोहिणी गाउँपालिकामा ताहिर अली पालिका प्रमुखका उम्मेदावार तय गरेको उहाँको भनाइ  छ ।

यसअघि  सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । 

उम्मेदवार खान केही वर्ष अघि राप्रपामा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खाणले बताउनुभयो ।

यसअघि सिद्धार्थनगरमा एमालेले प्रमुख पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान प्रमुख हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ । 

यस्तै, जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवारमा अर्जुनप्रसाद जैसवाललाई सिफारिस गरेको छ । जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई नगर समितिले सर्वसम्मत सिफारिस गरेको सो पार्टीले जनाएको छ ।

जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मेयर पदका उम्मेदवार हुनुहुन्थ्यो ।